ललितपुरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं । ललितपुर सिटी एफसीले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गर्दा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नुुर्लान नोभ्रुजोभको गोल मद्दतमा ललितपुर सिटी एफसीले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । नुर्लानले खेलको पाँचौ मिनेटमा गोल नै ललितपुरको जितमा निर्णायक बन्यो । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको बाइसाइकल किकलाई कप्तान अन्जन विष्टले हेडमार्फत मिलाइदिएको पासमा नुर्लान नोभ्रुजोभले गोल गर्दै १–० को अग्रता दिलाएका हुन् ।

१५औं मिनेटमा अभिषेक रिजालको क्रस पासलाई लक्ष्मण रुचालले भेट्टाउन नसक्दा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । ३०औं मिनेटमा नुर्लानको क्रस पासमा कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो । ३२औं मिनेटमा भिलिम पोसिन्कोभिच, विमल राना र अन्जन विष्टको समन्वयमा बनेको मुभमा भिलिम पोसिन्कोभिचको प्रहार पहिलो बारटबाट थोरै बाहिरिदा ललितपुरले अग्रता बढाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विमल रानाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेको प्रहार बारमा लागेर फर्कदा ललितपुर अग्रता दोब्बर पार्नबाट चुक्यो ।

कमल श्रेष्ठको क्रसलाई विलियन र लक्ष्मण रुचालले क्लियर गर्न नसकेको बललाई विमल रानाको भली प्रहार गरेका थिए । ७१औं मिनेटमा कप्तान अन्जन विष्टको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । खेलको अन्त्यतिर बुटवल लुम्विनीले ललितपुरलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । अन्तरिम प्रशिक्षक राजु तामाङले आफ्नो पहिलो प्रशिक्षणमा नै ललितपुरलाई जिताउन सफल भए । लगातारको खराव नतिजासँगै ललिचपुरले आफ्ना मुख्य प्रशिक्षक प्रदिप हुमागाईंलाई पोखरासँगको खेलपछि बर्खास्त गरेको थियो । उनको स्थानमा सहायक प्रशिक्षक राजु तामाङले ललितपुरको टचलाइन सम्हालेका छन् ।

जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावना जीवितै राखेको छ । ललितपुरसँगको हारसँगै बुटवल लुम्विनीको शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । लुम्विनीको ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।
धनगढी एफसीले एनएसएलको प्ले अफमा स्थान पक्का गरिसकेको छ । शीर्षस्थानमा रहेको धनगढीको ५ खेलबाट १० अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । पोखरा छैटौ स्थानमा रहेको छ । चितवन २ अंक जोडेर पुछारमा छ ।

ललितपुरका मिक्चेन तामाङ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । ललितपुरकै मार्की खेलाडी तथ कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया