मोरक्कोमा एक महिलाले ९ जना शिशुलाई जन्माइन्

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक ९ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले ९ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक ९ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो ।

मोरक्कोको क्लिनिकका अनुसार सबै ९ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ । जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छ । २५ वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् ।

मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् । जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ । ३० हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन् ।

धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए । गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ । सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया