एनएसएल : धनगढीएफसीद्वारा पोखरा थन्डर्स पराजित

काठमाडौं । सब्सिच्युट दर्शन गुरुङको गोलमा धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा लिगमा पोखरा थन्डर्सलाई पराजित गरेको छ । ३७औं मिनेटमा ओलावाले ओलाडिपो आफिजको स्थानमा मैदान छिरेका दर्शनले ६८औं मिनेटमा गोल गर्दै धनगढीलाई १–० को जित दिलाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको २२औं मिनेटमा अशोक खवासको फ्रिकिक पेनाल्टी बक्समा क्लियर हुन नसक्दा हुलमुलमा ओलावाले ओलाडिपो आफिजको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै बचाउँदा धनगढी एफसी अग्रता लिनबाट चुक्यो ।

२६औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार धनगढीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाउदा रिवाउन्डमा रवि पासवानको प्रहार बाहिरियो ।

मुख्य फरवार्ड ओलावाले ओलाडिपो आफिजले चोट बोकेपछि धनगढीले उनको स्थानमा ३७औं मिनेटमा दर्शन गुरुङलाई मैदान पठाएको थियो । ४०औं मिनेटमा मौसा अब्बाको फ्रिकिकमा अजित भण्डरीले प्रहार गर्न नसकेको बललाई नवयुग श्रेष्ठले भेट्टाएपनि प्रहार गर्न ढिला गर्दा उनले दुई अवसर पाएपनि उनको दुई प्रहारलाई डिफेन्डर र गोलरक्षक किरणले बचाउँदा पोखरा अग्रता लिनबाट चुक्यो ।

६८औं मिनेटमा सब्सिच्युट दर्शन गुरुङले सुन्दर गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाए । डिफेन्सले क्लियर गर्न नसकेको बललाई दर्शनले नियन्त्रणमा लिदै गरेको प्रहार पोजिसनमा नरहेका गोलरक्षक दीप कार्कीले ठम्याउन सकेन । त्यसअघि ६७औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई गोलरक्षक दीप कार्कीले बचाएका थिए ।

७४औं मिनेटमा कप्तान अनिल गुरुङको प्रहारलाई दिनेश राजवंशीलाई डिफ्लेक्ट हुदै बाहिरिदा पोखरा बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रमेश दंगालको ब्याक हेडरलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाउँदा पोखरा बराबरीबाट बञ्चित बन्यो ।

जितपछि धनगढी ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लदै शीर्ष चारमा पर्ने सम्भावनालाई बलियो बनाएको छ । पराजित पोखराको भने शीर्ष चारमा पर्ने सम्भावना न्युन बनेको छ । पोखराको ५ खेलबाट ५ अंक छ । समान ७ अंक रहँदा विराटनगर सिटी एफसी दोस्रो तथा काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । समान ५ अंक रहेपनि बुटवल लुम्विनी चौथो तथा पोखरा पाँचौ स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ ।

लिगमा बुधबार दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो २ः३० बजे ललितपुर सिटी एफसी र बुटवल लुम्विनी तथा दोस्रो खेलमा साँझ ५ः३० बने काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुदैछ ।

लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया