खोजखबर

गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण

सौर्य अनलाइन २०७८ वैशाख २२ गते १८:१५ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छन् । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताइन् ।

प्रदेशमा देखिएका समस्या समाधानका लागि नियम कानून अनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग औँल्याइन् ।

पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो ।

सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । संघीय सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गरेकी पौडेल मंगलबार पोखरा आएकी हुन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय