आफ्नै मैदानमा सेभियाको हार

पेरिस । उपाधि होडमा रहेको सेभिया घरेलु मैदानमा एथलेटिको बिल्वाओसँग स्तब्ध बनेको छ । अन्तिम समयमा इनाकी विलियम्सले गोल गरेपछि सेभिया बिल्वाओसँग १–० ले स्तब्ध बनेको हो । रामोन सान्चेज पिजुवान स्टेडियम सेभियामा सोमबार राति भएको खेलमा घरेलु टोली सेभियाले ७४ प्रतिशत बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर ८९औं मिनेटमा इनाकी विलियम्सले ओहान सान्सेटको पासमा गोल गर्दै बिल्वाओलाई महत्वपुर्ण ३ अंक दिलाए ।

हारपछि सेभियाको ला लिगा जित्ने सम्भावना जीवितै रहेपनि अबको यात्रा थप कमजोर बनेको छ । चौथो स्थानमा रहेको सेभिया शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ६ अंकले पछि पर्दा दोस्रो र तेस्रो स्थानको रियल म्याड्रिड र बार्सिलोनासँग ४ अंकले पछि परेको छ । सेभियालाई हराएको बिल्वाओ ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ । ला लिगामा अब चार राउन्डको खेल बाँकी छ । यस्तो अवस्थामा सेभिया च्याम्पियन बन्न बाँकी सबै खेल आफ्नो पक्षमा पार्नुपर्दा शीर्ष टोलीहरुले अंक गुमाउनुपर्ने हुन्छ । सेभियाले अब रियल म्याड्रिड, भ्यालेन्सिया, भिल्लारियल र एलाभेससाग खेल्न बाँकी छ ।

प्रतिक्रिया