एनएसएलमा काठमाडौंले लुम्बिनीलाई हरायो

काठमाडौं । काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्विनीलाई पराजित गरेको छ । स्टेफन विनोङ समिरको गोल मद्दतमा काठमाडौंले बुटवल लुम्विनीलाई १–० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समिरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउदा अग्रता लिन चुकेको काठमाडौंले पाँचौ मिनेटमा अग्रता लिएको हो । पाँचौ मिनेटमा तेज तामाङले सेन्टर लाइनबाट दिएको लामो पासमा स्टेफन विनोङ समिरले गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोललाइनबाट मान बहादुर परियारले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्विनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउदै बराबरी टारे । १३औं मिनेटमा मेसौके ओलुमोउको प्रहारलाई विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिन सफल भए । १८औं मिनेटमा कर्नराट आएको बलमा छिरिङ गुरुङको प्रहार डिफेन्डरले ब्लक गरे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुदिल राईको पासमा आशिष राईको पेनाल्टी बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्कदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो । ५३औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासलाई बुटवल लुम्विनीका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ६४औं मिनेटमा आशिष लामाको प्रहार पोस्टबाट थोरै बाहिरिदा बुटवल लुम्विनी बराबरीबाट चुक्यो । काठमाडौं रेजर्सका सुदिल राई इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मार्की खेलाडी तथा गोलरक्षक विकेश कुथु प्लेय अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

जितपछि काठमाडौं चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको धनगढी एफसी र विराटनगर सिटी एफसीसँग समान ७ अंक भएपनि काठमाडौं गोलअन्तरमा पछि परेको हो । पराजित बुटवल लुम्विनी ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा झरेको छ । पोखरा थन्डर्स ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

ललितपुर ३ अंक जोडेर छैटौ तथा चितवन २ अंक जोडेर पुछारमा छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना न्युन छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । लिगमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया