बजार हस्तक्षेप जरुरी

देशमा उत्पन्न असहज परिस्थितिको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्न पल्केका काला व्यापारीहरू फेरी सलबलाउन थालेका छन् । बजारमा एकातिर अत्यावश्यकीय बस्तुहरूको अभाव सिर्जना भएको छ भने अर्कातिर बस्तुको मूल्य अत्यधिक बढेको छ । खासगरी कतिपय डिपोमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्दै पर्दा पछाडिबाट बिक्री गर्न थालिएको छ भने खानेतेल तथा दलहन गेडागुडीको मूल्य करिबकरिब दोब्बर वृद्धि भएको छ । एक साताअघि निषेधाज्ञाको सूचना पाउनासाथ करिब ६ लाखले राजधानी काठमाडौं उपत्यका छाडेको विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको थियो । ६ लाख जनसंख्याले राजधानी काठमाडौं उपत्यका छाड्दै गर्दा अत्यावश्यकीय बस्तुको अभाव होइन कि छेलोखेलो हुनुपर्ने थियो । खानापकाउने ग्यासको आपूर्ति अझ सहज रूपमा हुनुपर्ने थियो । तर, ठीक उल्टो भयो । एकातिर संकटको मौका छोपेर कालाव्यापारीहरू बढी नाफा कमाउनपट्टि लागे भने अर्कातिर झन् संकट उत्पन्न हुन्छ कि भन्दै उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चय गर्न थाले । नाकाबन्दीका बेलामा थुपोरिएका सबै ग्यास सिलिन्डर भर्नपट्टि कतिपय उपभोक्ता लागेका कारण पनि ग्यासको आपूर्ति गर्न कठिन भएको डिपोहरूको प्रतिक्रियालाई अन्यथा लिन मिल्दैन । त्यस्तो देखिएको पनि छ । यो उपभोक्ताको आफ्नै कमजोरी पनि हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको दावी गरेको छ । बजारमा दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुनलगायत खाद्यान्न पर्याप्त मात्रामा स्टक रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले अनुरोध गरेको छ । अनावश्यक भण्डारण गर्न पल्केका उपभोक्ताहरूलाई विभागको यो अनुरोधले काम गर्ला तर व्यापारीहरूले बजार मूल्य वृद्धि गरिसकेको यो अवस्थामा विज्ञप्ति जारी गरेर मात्रै सरकारी निकायको दायित्व पूरा हुँदैन । पहिलो कुरा त बजार अनुगमनलाई तीव्र बनाउनुपर्छ । बढी मूल्यमा सामान बेच्नेहरूको पसलमा छापामारी बन्द गराइदिनुपर्छ । दोस्रो कुरा खाद्य संस्थान, नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङजस्ता संस्थामार्फत अत्यावश्यकीय उपभोग्य बस्तुहरूको आपूर्तिको काम थालिहाल्नुपर्छ । यी संस्थामार्फत गाडीको माध्यमबाट टोलटोलमा घुम्ती पसल आरम्भ गर्नुपर्छ ।

अघिल्लो पटकको लकडाउन तथा निषेधाज्ञाका बेला कालाव्यापारीहरू समयमै साइजमा आएजस्तै यसपटक पनि साइजमा आउलान् भन्ने अनुमान सरकारले गरेको हुनसक्छ, तर विगतको परिस्थिति र अहिलेको परिस्थितिमा भिन्नता देखिएको छ । किनकी विगतमा सरकारमाथि पनि भरोसा भएका कारण सर्वसाधारण आश्वस्त थिए । टोलटोलमा सर्वसाधारण जनता एक जुट भएर विपन्न वर्गका लागि खाना खाने मेस बनाएका थिए । निःशुल्क खाने व्यवस्थाका लागि सहयोग गर्ने प्रतिस्पर्धा नै चलेको थियो । तर, अहिले परिस्थिति भिन्न छ । सरकारप्रति भरोसा टुटेको अवस्था छ । सबै डर त्रासमा छन् । कोरोनाको संक्रमण धेरैजसो घरमा प्रवेश गरिसकेको छ । यसैगरी विगतमा छिमेकी मित्रराष्ट्र भारतले कोरोना संकटलाई आफ्नो काबुभित्रै राखेको थियो । भारतबाट उपभोग्य बस्तु आउन कुनै समस्या थिएन । तर, यसपटक भारतको समस्या अहिले नै नियन्त्रण बाहिर पुगिसकेको छ । मृतकको शव व्यवस्थापन गर्नसमेत धौ धौ हुने अवस्थामा भारत पुगिसकेका कारण कुनै पनि बेला नेपालमा भारत तर्फबाट हुने आपूर्ति ठप्प बन्न सक्छ । यसको पूर्वानुमान गरेरै कतिपय उपभोक्ताहरूले महिनौँ दिनलाई पुग्ने गरी सामान भण्डारण गर्न थालेका हुन् । यो विषम परिस्थितिमा सरकार भारततर्फको आयतमा ढुक्क भएर बस्नु हुन्न । चीनबाट समेत उपभोग्य बस्तु आयात गर्ने तयारीमा सरकार अहिलेदेखि नै लाग्नुपर्छ । भन्नासाथ चीन तथा चीनको बाटो हुँदै सामान आयत नहुन सक्छ । त्यसैले अहिलेदेखि नै प्रक्रिया सुरु गरी हाल्नुपर्छ । चीनबाट सामान आउन थाल्यो भन्ने सन्देश प्रवाह भयो मात्रै भने पनि कृत्रिम अभाव धेरै हदसम्म नियन्त्रण हुन्छ । अनावश्यक सामान भण्डारण गर्ने प्रवृत्ति पनि धेरै हदसम्म निराकरण हुन्छ ।

प्रतिक्रिया