कोरोना संक्रमण : एकै दिनमा ५५ जनाको मृत्यु

काठमाडौं । कोभिड–१९ को संक्रमित हुनेको संख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको संख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । मंगलबार देशभर सात हजार ६६० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ संक्रमित देखिएका थिए ।

आज १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा सङ्क्रमण देखिएको हो । मंगलबार देखिएका संक्रमितसँगै कूल संक्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै मंगलबार एक हजार ७७५ संक्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ । यस्तै मंगलबार मात्र संक्रमणबाट निधन हुनेको संख्या ५५ पुगेको छ । निधन हुनको यो संख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ संक्रमणबाट निधन भइसकेका छन् । २० जिल्लामा ५०० बढी संक्रमित यसैगरी ५०० भन्दा बढी संक्रमित हुने जिल्ला २० पुगेका छन् ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् । आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९ यस्तै संक्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् । भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।

थप पाँच जिल्लामा निषेधाज्ञा
कोभिड–१९ संक्रमण फैलिन नदिन मुलुकका थप पाँच जिल्लामा निषेधको आदेश जारी भएको छ । सोमबारसम्म ४१ जिल्लामा जारी भएको आदेश मंगलबार पाँच जिल्ला थपिएसँगै ४६ जिल्ला पुगेको छ । थपिएका जिल्लाहरूमा महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व र रोल्पा रहेका छन् । ती जिल्लामध्ये रोल्पामा बुधबार बिहान ६ बजेदेखि र महोत्तरीमा साँझ ६ बजेदेखि आदेश लागू हुनेछ । अन्य तीन जिल्लामा मंगलबार राति १२ बजेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ । यसअघि नै आदेश जारी भएको दैलेखमा पनि मंगलबार रातिदेखि नै कार्यान्वयनमा जाँदै छ । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ संक्रमण रोकथामको प्रयास भइरहेको छ ।

दैनिकरूपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेको छ । शनिबार २९ जिल्लामा निशेषधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकोमा सोमबार ४१ जिल्लामा आदेश जारी भएको थियो । प्राप्त विवरणअनुसार यसअघि जारी भएका बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञ कार्यान्वयनमा छ । त्यसमध्ये रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालिकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा छ ।

काठमाडौं छाड्नेलाई १० दिन क्वारेन्टिनको नियम 
उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

प्रतिक्रिया