चार्टर्ड र उद्धार उडान नरोकिने

सरकारले आन्तरिक तथा बाह्य व्यवसायीक हवाई उडान बन्द गर्ने निणर्य गरेपनि चार्टर्ड तथा उद्धार उडान भने नरोकिने भएको छ । मन्त्रिपरिषद्को गत आइतबारको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान आगामी वैशाख मसान्तसम्मकालागि स्थगन गर्ने निर्णय गरेपनि यस अवधिमा चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने बताएका हुन । यस्तो उद्धार उडान भर्न भने सरकारसँग उड्नु अघि स्वीकृति लिनुपर्छ ।

बढ्दो कोरोना भाइरसको संक्रमण नियन्त्रणको उपाए स्वरुप सरकारले सोमबार राति देखि नै लागु हुनेगरि आन्तरिक उडान स्थगन गरेको हो । यसैगरि, अन्तर्राष्ट्रिय उडान पनि आगामी बिहीबार रातिदेखि स्थगित गर्ने निर्णय सरकारले गरीसकेको छ । सबै अन्तर्राष्ट्रिय उडान बन्द भएपनि छिमेकी मुलुक भारत र नेपालबीच भने सातामा दुई वटा हवाई उडान हुने छ । अहिलेलाई दुई देशबीच सातामा दुई वटा उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको प्राधिकरणले जनाएको छ ।

अहिले भएको व्यवस्था अनुसार भारत र नेपालबीच एयर बबल प्रणाली अनुसार सातामा बढीमा दुई वटा उडान हुनेछन् । यस्तो उडानबाट भारतदेखि नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान राखिएको छ । यसका लागि मन्त्रिपरिषद्ले कोरोना कहरबीच सञ्चालन गर्ने हवाई उडानसम्बन्धी पाँचबुँदे निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल–भारतबीच कायम एयर बबल सुविधा अन्तर्गतका दुईतर्फी उडान साताको दुई वटामा सीमित गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

जसकालागि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले यस्तो उडान प्रयोग गरेका हवाई यात्रुले होटल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा संक्रामक रोग ऐन–२०२० बमोजिम सम्बन्धीत निकायका अधिकारी समक्ष कारवाहीको लागि लेखिपठाउने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको थियो ।

यसैगरि, कुनैपनि उडानमा पिसिआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित वायुसेवा कम्पनीले नै बेहोर्ने व्यवस्था गरिएको छ । त्यसैगरि, आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आवत–जावत गर्ने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारत र नेपालमा देखिएको नयाँ भेरियन्ट सहित कडा खालको कोरोना महामारीको जोखिम नियन्त्रणकालागि सरकारले गत १६ वैशाख देखि काठमाडौँ उपत्यका सहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा तथा लकडाउन लागु गरेको हो ।

प्रतिक्रिया