स्थानीय तहमा छैनन् क्वारेन्टिन

देशमा कोरोना भाइरसको दोस्रो लहर व्यापक रूपमा फैलिइरहेको अवस्थामा आफ्नो घर खर्च चलाउन भारत गएका जुम्लाका स्थानीय घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतमै यो महामारीको भयावह अवस्था छ तर त्यहाँबाट फर्किनेहरूलाई नेपाल छिरेपछि निगरानी एवं स्वास्थ्य जाँचको कुनै पनि व्यवस्था छैन । जुम्लाबाट कति नागरिक रोजगारीका लागि भारत जान्छन् भन्ने यकिन तथ्यांक छैन तर यहाँका करिब ६० प्रतिशत नागरिक भारत जाने गरेको अनौपचारिक तथ्यांक रहेको स्थानीय जानकारहरू बताउँछन् । तीमध्ये पनि यतिखेर अधिकांश स्वदेश फर्किने गरेका छन् । भारतमा अहिले कोरोना भाइरसको महामारी निकै बढेकाले जुम्लीहरू पनि घर फर्किन थालेका हुन् ।

उनीहरू त्यहाँबाट सिधै घर आउने गरेका छन्, बाटोमा कुनै स्वास्थ्य जाँच या रोकावट छैन । ती स्थानीयलाई राख्न यहाँका स्थानीय तहले क्वारेन्टिनको व्यवस्था र कोरोना जाँचमा कुनै पहलसमेत गरेका छैनन् । जुम्लाका आठ वटै स्थानीय तहमा क्वारेन्टिन या आइसोलेसन केही छैनन् । यसका कारण यहाँका स्थानीयमा त्रास फैलिएको छ । भारतबाट आउने आफ्नै दाजुभाइबाटै महामारी सर्नसक्ने भन्दै स्थानीय नागरिक डराएका छन् । यहाँको स्थानीय प्रशासनले पनि यसमा कुनै पहल गरेको छैन । गत साल निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन कक्षहरूको जतन नहुँदा भताभुंग अवस्थामा छन् । यहाँको स्थानीय प्रशासन र स्थानीय तहले महामारी सुरु भएको अघिल्लो वर्ष क्वारेन्टिन निर्माण गरेका थिए । कोरोना संक्रमणलाई नियन्त्रण र रोकथामका लागि निर्माण गरिएको पुरानो संरचना सबै लथालिंग हुँदा पनि हेर्ने कोही नभएको जुम्लावासीको गुनासो छ । उनीहरूले कि पुरानो संरचनालाई जोगाएर राख्नुपथ्र्याे नत्र अहिले बनाउनुपर्छ भनेर आवाज उठाएका छन् ।

अहिले कोरोना भाइरसको दोस्रो लहर आएकाले देशका धेरै क्षेत्रमा महामारी फैलिएको छ । कतिपय जिल्लाहरूमा निषेधाज्ञा लागू भएका समाचारहरू पनि आएका छन् । तैपनि जुम्ला जिल्लामा भने आजको मितिसम्म पनि यसबारेमा केही सोचिएको छैन । स्थानीय तहका प्रमुखसँग यस विषयमा जिज्ञासा राख्दा बजेट अभाव भएको भन्दै पन्छने गरेका छन् । पहिले जिल्लाका आठ वटै स्थानीय तहले पाँच शय्याका अस्थायी कोभिड अस्पताल बनाएका थिए । अहिले ती अस्पतालमा नै आइसोलेसन सञ्चालन गरेका छन् । तर सो अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव रहेको बताइएको छ । कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याए पनि कार्यालय सहयोगी र स्टाफ नर्सको भरमा रहेका छन् ।

यी अस्पतालहरूमा पनि आवश्यक मेडिकल अधिकृत वा चिकित्सकको अभाव छ । यहाँका स्थानीय तहले पटकपटक चिकित्सकको विज्ञापन आह्वान गरे पनि कसैको आवेदन नपरेको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । जुम्लामा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । भारतबाट घर फर्किएकाहरू सिधै समुदायका व्यक्तिसँग घुलमिल हुने गरेका छन् । जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् । उपचारका लागि आउने धेरै व्यक्तिले मास्कसमेत नलगाएको स्थानीय बताउँछन् ।

सहर बजार, ग्रामीण बस्तीका विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था वा अन्य सार्वजनिक कुनै पनि ठाउँमा जाँदा सेवाग्राहीहरू तथा अन्य कर्मचारीहरू समेतले मास्कको प्रयोग नगरेको पाइन्छ । पहिला भारतबाट आएकाहरूलाई विभिन्न विद्यालयका क्वारेन्टिन र आइसोलेसन कक्षहरू बनाएर राख्ने गरेका स्थानीय तहहरूले यसपालि भने चासो दिएका छैनन् । जुम्लामा पनि कोरोनाको दोस्रो लहरको भाइरस बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय जुम्ला स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलंगाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापाले बताए । उनले भने, ‘डिएसपीको नेतृत्वमा निस्किएको टोलीले सदरमुकाम खलंगाको विभिन्न ठाउँ तथा सडकमा निस्किएर माइकिङ गरेको छौँ । नेपालगञ्ज, सुर्खेत लगायतका जिल्लामा कोरोना संक्रमण उच्च रहेकाले समयमै जुम्लावासीलाई सचेत गरेका छौँ । कोरोना कसैलाई सोधेर नलाग्ने भन्दै कोराना लागेर उपचार खोज्ने या सतर्कता अपनाउने भन्दा पनि लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपूर्ण हुनेछ भनी हामीहरूले नागरिकलाई सचेत गराएका छौँ ।’

प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन भन्दै सार्वजनिक रूपमा सबैलाई सचेत गराएको छ । साथै २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर अघि बढ्न आग्रह गरिएको डिएसपी थापाले बताए ।समय मै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट निस्किएको टोलीले हरेक दिन यस्तै माइकिङ गर्दै पूरै बजार परिक्रमा गर्ने गर्दछ । साथै सो टोलीले स्वास्थ्यका मापदण्ड पालना नगर्ने स्थानीयलाई कडा कारबाही गरिने चेतावानी जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको छ ।

सदरमुकाम खलंगा बजारमा सञ्चालनमा रहेका पसलमा अनिवार्य रूपमा सामाजिक दुरी कायम गरेर मात्र बेचबिखन गर्न भनिएको छ । प्रहरीले कोरोना भाइरसको लक्षण देखिने बित्तिकै नजीकैको स्वास्थ्य संस्था, आइसोलेसन शय्या तथा क्वारेन्टिनमा सम्पर्क राख्न पनि सुझाव दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्र गतिमा बढेको छ । कोभिड–१९ को विश्वव्यापी संकटको असर कर्णालीमा पनि दैनिक बढ्न थालेको छ । समुदायस्तरसम्म संक्रमण फैलिनाका साथै कोरोनाकै कारण मृत्यु पनि हुन थालेपछि नागरिकमा त्रास फैलिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न सुर्खेतमा एक साता अघिदेखि सरकारी तथा निजी विद्यालयहरू बन्द भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक क्षेत्र र काम कारवाहीको तालिका सार्वजनिक गर्दै यही १४ देखि २१ वैशाखसम्म निषेधाज्ञा जारी गरेको छ । कर्णालीका अन्य जिल्ला प्रशासन कार्यालयले पनि विभिन्न कार्यक्रम, हिँडडुल तथा आवतजावतमा भिड हुन नदिन कडाइ गरेका छन् ।
कोरोना संक्रमण अत्यधिक प्रभावित भएको भारतबाट ज्यालादारी काम गरेर फर्केका कर्णालीका नागरिकबाट संक्रमण बढ्ने सम्भावना अत्यधिक रहेकाले गम्भीरताका साथ बुझेर कर्णाली प्रदेश सरकारले प्रवेश नाकामा कडाइ गरेको छ । यद्यपि, संक्रमण दर भने घटेको छैन । एक सातादेखिको अवस्थालाई नियाल्दा कर्णालीमा दैनिक ६० देखि ७५ प्रतिशतको दरले कोरोनाका संक्रमित बढेको देखिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले बताए । ‘यो एक÷दुई दिनमा केही मात्रामा घटे पनि ६० प्रतिशतभन्दा तल संक्रमण दर जान सकेको छैन,’ उनले भने संक्रमितहरूले अस्पताल भरिभराउ हुन थालेको छ ।

यो आपतकालीन अवस्थामा जनशक्ति अभाव हुँदा काम गर्न पनि समस्या भएको छ ।’ उनका अनुसार कर्णालीमा बुधबार एकैदिन ३ सय ११ कोरोना संक्रमण थपिए । जिल्लामा आइसियु ३५ र भेन्टिलेटर पनि आवश्यकताअनुसार तयारी अवस्थामा रहेको र उपकरण सञ्चालन गर्ने जनशक्ति भए सय वटा आइसियु पनि सञ्चालन गर्न सकिने बताए । केही दिनमै अस्पतालको नवनिर्मित भवनमा सर्ने र आफ्नै प्लान्ट सञ्चालन गरी काममा सहजता ल्याउने उनले बताए । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १ सय ४३ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये २ सय १५ जना सुर्खेतका मात्र छन् । निर्देशनालयका अनुसार संक्रमितमा दैलेखका ३२, सल्यानका २९, कालीकोटका १०, रुकुम पश्चिमका नौ, जुम्लाका १३, जाजरकोटका सात, डोल्पाका एक र अन्य प्रदेशका तीन जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ नाघेको छ ।

कर्णालीमा सक्रिय संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६ सय १६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । हालसम्म कर्णालीमा पिसिआरबाट ९९ हजार २ सय ९८ र एन्टिजेन विधिबाट ६ हजार ४ सय ६० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पाँच जना डिस्चार्ज हुँदा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ५ सय ३८ रहेको छ । प्रदेशभरि गरेर पछिल्लो २४ घण्टामा २ सय ३० कोरोनाका बिरामी आइसोलेसनमा छन् । निर्देशक खड्काका अनुसार प्रदेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितहरूको अवस्था अझ बढी गम्भीर छ ।

प्रतिक्रिया