खाद्य सुरक्षाको आधार

                     लक्ष्मीकान्त पौडेल

जग्गामा कोदालो चलाएर पेट भर्नुलाई नै निपूर्ण कृषि मान्नु, हाम्रो गलत बुझाइ हो । वनजंगलमा कुहिएका पतिंगर, माटो र ढुंगाको पोषण चुसेर, सूर्यको किरण अनि पवनको स्वच्छताबाट अन्न फल्दछ । यस्को तात्पर्य कृषि वास्तवमै विस्तृत छ, विशाल छ । जसको आधार बलियो हुन, पर्यावरणको मजबुति जरुरत पर्दछ । सफा पर्यावरण र पोसिलो आहारको जमघट मानवीय स्वास्थ्यको चौकिदार बन्दछन् अनि स्वस्थ, निरोगी मानव शरीरको खम्बा, सशक्त र सीमा सुरक्षाको जिम्मेवारी वहन गरेको जंगे पिल्लर बन्दछ ।

ढुंगेयुगका किस्साहरूदेखि लिएर आधुनिक युगका पराक्रमी योजण्डाहरूको चर्चापरिचर्चा मेरा यी कृषक कर्णहरू, वेद, उपनिवेद, पुराण, बाइबल, कुरानका महाकथाहरू श्रवण गरेर पवित्र हुँदाझैँ दिनहुँ पवित्रताको महापदक नै हासिल गरिसके । आज अहिले चल्दै गरेको कालखण्डमा पनि त्यही पदकको मुद्रा बनाएर कर्णलाई सुसज्जित गराइराखेको छु ।

मलाई लाग्छ, तपाईंहरू पनि मेरो अवतारमा देशका कुनै न कुनै खोप्चा, कुना कन्तरामा अथवा विकसितको नामले लाली चढाउँदै गरेका सहरहरूमा, कोदालो नचाउँदै, खेतबारी मल्याउँदै, वर्षायामको झरी भन्दा पनि मिल्ने झरी शरीरका रहेका अंगप्रत्यंगबाट वर्षाउँदै हुनुहुन्छ होला, अनि सिँचाइ गर्ने जिम्मेवारी बोकेको त्यो सुकेको नहरलाई हेर्दै पसिनाले भिजाएको त्यो खेतीलाई समाल्दै हुनुहुन्छ होला । मध्यान्हको प्रचण्ड गर्मीमा सुकिसकेको आँत र पेटलाई भोलि फुल्ने, फल्ने अन्नबालीहरू, तरकारीबालीहरूको काल्पनिक स्वादले भिजाउँदै अनि अघाउँदै, मेरो अवतारमा गर्व गर्दै हुनुहुन्छ होइन ।

कर्णालीमा बस्नेले कर्णालीमै आफूलाई पुग्ने तरकारी अन्नबाली उत्पादन गर्नुपर्छ, हिमालमा बस्नेले त्यहाँ अनुकूल हुने अन्नबालीहरू अनि पहाडमा बस्नेले पनि । पहिले आफू धेरै नभए पनि थोरै मात्रामा कृषिलाई टेवा पुर्याउँछु भनेर लाग्नुपर्छ र सरकारले आवश्यक सहयोग हौसला प्रदान गर्नु पर्दछ ।

जात कृषक, भाषा कृषि र धर्मको महान ग्रन्थ माटो, तपाईं हाम्रो एउटै पहिचान, एउटै नारा । धर्मको महाग्रन्थ माटोको पूजापाठ गर्दै, बिउवीजन छर्दै, दुनियाँ निरोगी, स्वच्छ र स्वतःस्फूर्त बनाउन आफ्नो काँधका छालाहरूको धड्कन भड्काई दिएर परिश्रमका नंग्राहरूले चिथोरेको को सहन सक्छ ? तपाईं र मपाईं बाहेक । म अहिलेको वैज्ञानिक युगलाई अल्छी युग भन्दछु, लम्पसार युग भन्दछु ।

म मात्र होइन मेरा सबै आवतारहरू स्वरमा स्वर मिलाएर भन्दछन ‘हे लम्पसारवादीहरू, तिम्रो खेतीमा बाँझोपनले अड्डा खडा गरिसक्यो, अब त्यहाँबाट कुनै सन्तान जन्मिने छैनन् । कदम कदाचित जन्मिएका भए पनि हुर्कने, बाँच्ने अनि तिम्रो हरेक क्षणको अपरिहार्य लठ्ठी बन्न पाउने छैनन् । त्यसैले तिम्रो यो आधुनिक युगमा बनाएर प्रयोगमा नआएका, खिइसकेका, कृषि आधुनिकीकरण यन्त्रहरूमा, दिगो कृषि विकास परियोजनाहरूमा, खाद्यान्न सुरक्षाका रणनीतिहरूमा, कहिल्यै खिया नलाग्ने, कहिल्यै नबिग्रने, स्वच्छ, भरपर्दो, इन्जिन जडान गर अनि अर्गानिक खेती सुरु गर, नत्र भोकमरीको चपेटामा चट्नी बन्नु सिवाय केही विकल्प बाँच्ने छैन ।

भावी सन्ततिको भोकलाई भोकमोरीमा परिणत गर्ने यी रासायनिक मलहरू, रासायनिक औषधिहरूको भोजन ग्रहण गरेर पाउरोटी झैँ भुक्क फुलेका तिम्रा गालाहरू, माटोको अपच अनि माटोमा बाँच्ने स–साना जीवहरूको मरणसँगै चाउरिन्छन् । तिम्रो बुढेसकालसँगै खिइँदै, कमजोर हुँदै जान्छन् । अब त यो ह्वात्त खन्याउने र ह्वात्त फल्याउने बानीमा पूर्णविराम लगाउँ, अनि प्रांगारिक खेतीको थालनी गर । त्यसैमा फल्छ तिम्रो सन्तानको भोकको अमृत, दिगो कृषिको स्वर्ण पदक अनि खाद्य सुरक्षाको भरपुर मातहत ।

तिमीले पटकपटक रासायनिक समुद्र मन्थन गरिरहनु पर्दैन । बस लम्पसारवाद र अल्छीपनालाई आत्मनिर्भरता र दृणदाले मारीदेऊ, जाँगर आफैँ उत्पन्न हुन्छ, बरु तिम्रो पक्षमा मुद्दा जिताउन म नै वकिल बनौँला, म नै प्रधानन्यायाधीश बनौँला तर तिमीले यी दुई तत्वहरू लम्पसारवाद र अल्छीपनालाई मार्नै पर्छ । त्यसपछि तिमी गाउँगाउँ, गल्लीगल्ली, सहरबजार, देशका कुना कन्तरा, खोप्चा खोप्ची, हिमाल पहाड र तराई हरेक ठाउँमा दिगो कृषि, खाद्य सुरक्षा र हाम्रो अभिभारातीन रणनीति उजागर गर्नेतर्फ लाग, म अनि मेरा सबै कृषक अवतार तिम्रो लठ्ठी बन्ने छौँ ।’

कृषि विकासका मार्गहरू, गुणस्तरीय बीजवीजनको उत्पादन, शुद्धता, सिँचाइको अपरिहार्यता, सिँचाइका उपयुक्त भरपर्दा मेथडहरू जस्तै ड्रप इरिगेसन, अन्नबाली हेरविचारका आधारहरू, माटो संरक्षणका उपायहरू, किसान राहतका कार्यक्रमहरू, बाली बिमाका प्रयोजनहरू, अदि थुप्रै दिगो कृषि विकास हितका परियोजनाहरू कार्यान्वयन गर्दै रासायनिक मल, किटनासक औषधिको प्रयोगमाथि प्रांगारिक जनचेतनाका अहम् आधारहरू खडा गर्न सक्ने हो भने कृषि, ह्या बाट अहोमा पुग्दछ , निर्भरताबाट आत्मनिर्भरता, आजबाट दिगो, रोगीबाट निरोगी, कुपोषणबाट पोषण, भोकमरीबाट भोकहरी, बाँझोबाट मलिलो अनि खाद्य असुरक्षाबाट खाद्य सुरक्षामा अवतरण गर्दछ ।

च्याउ झैँ उम्रिरहेका यी अनगिन्ती रोगहरू, सिमेन्ट जम्दा झैँ जमेका माटोका कणहरू, अन्धकारिँदै गइरहेको त्यो नस्लो आकास, बढ्दै गएको त्यो ग्लोबल वार्मिङको चेतावनी अनि निरसिलो माटो, उर्वराशक्तिको ह्रास, रासायनिक मलको ज्यादा प्रयोग, परंपरागत खेती प्रविधिमा आत्मसन्तुष्टि, लगनशीलता, आधुनिक प्रविधिको अज्ञानता अनि निष्प्राण बन्दै गएको भान्साको अमृत, यहीँ युगको विकास हो, यहीँ युगको आधुनिकताको उपज हो, कृषिमा रासायनिकीकरणको वरदान हो अनि खाद्य संकटको संकेत पनि ।

जुन वरदान आफ्नै निर्माताहरूमाथि भयावह बन्दैछ, मृत्यु बन्दै छ । उचित तरिकाको प्रयोगले अनुचित परिणाममा भकारी कहिले भरिन्छ ? भन्ने मानसिकता, बुद्धि जबसम्म उत्पन्न हुन्न तबसम्म दीर्घकालीन समाधानको मार्ग तय हुँदैन । तत्परता, लगनशीलता, जागरुकता, र परिश्रमी आशाहरूको मिहिनेतले नै तन्दुरुस्तीका अनेकौँ हतियार बोकेका अन्नबालीहरू पोसिलो अहारका स्वरुपमा भित्रिन्छन् अनि हट्टाकट्टा बलवान हातहरू सहाराको भूमिका बेखुबीले निर्वाह गर्दछन् । जसको फलस्वरूप मेरो अवतरणले सार्थकता प्राप्त गर्दछ अनि खाद्य सुरक्षाको झमेला केही हदमा कम हुन्छ ।

घरको कुर्सीमा मेरुदण्ड कुज्याएर, खाद्यान्न संकट र त्यसबाट जन्मिने समस्याको बारेमा विभिन्न सामाजिक मिडियाहरूमा विश्लेषण गर्दै दिनचर्या बिताउनेहरू, कहिलेकाहीँ खाद्य सुरक्षाको निम्ति मैले के गरेँ ? बुँदागत रूपमा आफूले गरेका कार्यहरू कापीको पानामा टिप्नुस् सायद अधिकांशको कलम चल्दैन होला ? अनि कसरी हुन्छ खाद्य सुरक्षा, कसरी तोडिन्छ भोकमोरीबाट निम्तने विभिन्न रोगहरूको शक्ति ।

कर्णालीमा बस्नेले कर्णालीमै आफूलाई पुग्ने तरकारी अन्नबाली उत्पादन गर्नुपर्छ, हिमालमा बस्नेले त्यहाँ अनुकूल हुने अन्नबालीहरू अनि पहाडमा बस्नेले पनि । पहिले आफू धेरै नभए पनि थोरै मात्रामा कृषिलाई टेवा पुर्याउँछु भनेर लाग्नुपर्छ र सरकारले आवश्यक सहयोग हौसला प्रदान गर्नु पर्दछ । खाद्य उत्पादन, खाद्य आयात निर्यातदेखि हरेक कुराहरूमा टेवा पुर्याएर हरेक नेपालीको, हरेक किसानको, बुढेसकालको लठ्ठी बन्नु पर्दछ अनि बल्ल खाद्य संकटबाट निम्तने समस्याहरू केही हदसम्म कम हुन्छन् ।

वास्तवमा खाद्य सुरक्षा भनेको खाद्यान्नले मानवलाई गर्ने सुरक्षा हो, मानवलाई उसको शारीरिक आवश्यकता अनुसार पोषण तत्वको पहुँच, भोकमरीको एन्टिबायोटिक हो अनि खाद्यसंकटबाट निम्तने रोगहरूको वैद्य हो । दिगो कृषि अनि अर्गानिक आधुनिक खेतीको विस्तार, उत्पादित खाद्यान्नमा सर्वसाधारणको पहुँच, आयात, निर्यात, बजारीकरणको व्यवस्था, अनि घरघर दिगो कृषिको परियिजनाको विस्तार नै खाद्य सुरक्षाका मूल उपायहरू हुन् जसबाट पोसिलो आहार, स्वस्थ मानव सिद्धान्तको विकास हुन्छ । अनि भावी पेट सुरक्षित हुन्छ ।

जात कृषक, भाषा कृषि र धर्मको महान ग्रन्थ, जननी माटो, अपन्याएर दिगो कृषि विकासकाका कदमहरू, तपाईं, म, हामी सबै मिलेर चाल्ने हो भने, खाद्य संकटका काला मडारिएका बादलहरू सदासदाका लागि हटेर जान्छन् । स्वस्थ देश, निरोगी जनताको मूल मन्त्र ऊर्जाको स्रोत बन्दछ । जसले घर, परिवार, समाज, राष्ट्र र सिंगो विश्व ब्रह्माण्डलाई नै स्वस्फूर्त बनाउँछ । त्यसैले अर्काको मुख ताक्नुभन्दा पनि आफ्नै पौरखमा विश्वास गर्नु, रासायनिकीकरणलाई प्रांगारिक हतियारले मुझ्र्याउनु, नै आजको मूल आवश्यकता हो, मूल सिद्धान्त हो, दिगो कृषिको आधार हो, खाद्यान्न संकटको निराकरण हो, खाद्यान्न सुरक्षाको आधार हो ।

प्रतिक्रिया