स्थानीय पाठ्यक्रम निर्माण गर्दै रोङ गाउँपालिका

इलाम । इलामको रोङ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आधारभूत तह ९कक्षा १–८० मा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । त्यसका लागि गाउँपालिकाले पाठ्यक्रम निर्माणको काम थालेको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा पाठ्यक्रम निर्माणको काम थालेको हो ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष समशेर राईले बताए । उनका अनुसार पाठ्यक्रममा वनजंगल, जडिबुटी, कृषि, जातिगत र भाषिक विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानसमेतलाई समेटिनेछ ।

यसवर्ष आधारभूत तहको पाठ्यक्रम निर्माण गरेर तीन वटा कक्षाको पाठ्यपुस्तकसमेत निर्माण गरि लागू गर्ने गाउँपालिका अध्यक्ष राईले बताए । ‘अहिले पाठ्यक्रम निर्माणको काम सुरु भइसकेको छ । चाँडै सकेर यसै वर्ष कक्षा १, ४ र ६ को पाठ्यपुस्तक समेत निर्माण गरेर लागू गर्नेछौं’ अध्यक्ष राईले भने, ‘बजेट र समय अभावका कारण सबै कक्षाको पाठ्यपुस्तक निर्माण गर्न नसकिने भयो । अन्य कक्षाको समेत पाठ्यपुस्तक आगामी वर्षमा निर्माण गरेर लागू गरिनेछ ।’

अन्य स्थानीय तहका लागि पनि सन्दर्भ स्रोत बन्नसक्ने गरि स्थानीय पाठ्यक्रम निर्माण गरिने अध्यक्ष राईले बताए । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणका लागि पाठ्यक्रम विज्ञ हरिचन्द्र लावतीलाई विज्ञको रूपमा काम गर्नेछन् । यसैबीच शनिबार पाठ्यक्रम विज्ञ र सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

स्थानीय पाठ्यक्रम निर्माण समिति रोङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले स्थानीय विशेषतालाई समावेश गरी पाठ्यक्रम निर्माण गर्न विज्ञलाई सुझाव दिए । सरोकारवालाहरूले नैतिक शिक्षा, व्यावसायिक सीप, कृषि, पर्यटन, वन, वातावरण, योग, खेलकुद, स्थानीय भाषा, धर्म, संस्कृतिको प्रवद्र्धन, स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना, स्थानीय सामाजिक, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचानसमेतलाई आदिलाई पाठ्यक्रममा समेट्न सुझाव दिएका थिए ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण समिति रोङ गाउँपालिका, विभिन्न प्रधानाध्यापक एवम् शिक्षक र अभिभावक, राजनीति दलका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, युवा, महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति, पर्यटन व्यवसायी, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

सरोकारवालाको सुझावका आधारमा विषयलाई प्राथमिकता दिएर पाठ्यक्रम निर्माण गरिने पाठ्यक्रम विज्ञ लावतीले बताए । विज्ञले सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्दै पाठ्यक्रमको मस्यौदा लेखनको काम गर्नेछन् । पाठ्यक्रम विज्ञले तयार पारेको पाठ्यक्रमको ड्राफ्टलाई पुनः सरोकारवाला माझ सार्वजनिक गरेर थप सुझावका आधारमा अनुमोदन प्रक्रियामा लगिनेछ ।

स्थानीय पाठ्यक्रम तयार पारी सोही आधारमा कक्षा १, ४ र ६ को पाठ्यपुस्तकसमेत निर्माण गरी गाउँपालिकामा बुझाइनेछ । विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भइरहेको स्थानीय पाठ्यक्रमले रोङ गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । रोङ गाउँपालिकामा यसअघि लेप्चा भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरी लागूसमेत भइसकेको छ ।

प्रतिक्रिया