मत-विमत

एमालेभित्र अन्तर संघर्ष कि, विभाजनको तयारी ?

ललितकुमार यादव २०७८ वैशाख १० गते १२:५२ मा प्रकाशित

                          ललितकुमार यादव

कम्युनिस्ट आन्दोलन आफैँमा एउटा अन्तर्राष्ट्रिय प्रवाह हो । कम्युनिस्टहरू माक्र्सवाद–लेलिनवाद–माओवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा ग्रहण गर्छन् । कम्युनिस्टहरूको अन्तिम लक्ष्य साम्यवाद नै हो । सन् १९१७ मा अक्टुबर समाजवादी क्रान्तिले संसारभरि ठूलो प्रभाव पार्यो । विश्वभरि कैयौँ देशमा कम्युनिस्ट पार्टीहरू गठन हुन थाले । कम्युनिस्ट आन्दोलनहरू तीव्र रूपमा उठ्न थाले । विश्वभर कम्युनिस्ट पार्टी गठन गर्ने र संगठित हुने लहर नै चले ।

सन् १९९० मा कम्युनिस्ट सत्तासँगै सोभियत संघ पतन भयो । सोभियत संघको विघटनसँगै कम्युनिस्ट आन्दोलन क्षतविक्षत भयो । सत्तामा पुगेपछि कम्युनिस्टहरू निरंकुश अधिनायकवादीमा परिणत हुने गरेको विश्वभर देखियो । विश्वभरिका सबैजसो कम्युनिस्ट पार्टीहरूले सत्ताको दुरुपयोग गरेको पाइएको छ । कम्युनिस्ट पार्टीहरू अन्तरसंघर्ष व्यवस्थापन गर्न नसकेकै कारण विभाजन हुनेसम्म पुग्छ ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ पाँच जना संस्थापक रहेको नेपाल कम्युनिस्ट पार्टी २००६ साल वैशाख १० मा स्थापना भयो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । स्थापनादेखि नै नेकपामा सुरुआत भएको विवादले ०१९ सालमा पहिलो औपचारिक विभाजनको रूप लियो ।

अहिलेसम्म वर्तमान सरकारसमेत गरी पाँच वटा सरकारको नेतृत्व एमालेले गरेको छ, तर जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारको अनुभूति गराउने कार्य कुनै सरकारले गर्न सकेनन् । बिर्सिनै नसकिने गरि लोकप्रिय पनि हुन सकेन । माओवादी केन्द्रले समेत नेतृत्व गरेको सरकारको समेत गणना गर्ने हो भने अहिलेसम्म आठ वटा सरकारको नेतृत्व कम्युनिस्टहरूले गरेका छन् ।

पञ्चायत विरुद्धको आन्दोलनमा दर्जनौँ कम्युनिस्ट पार्टीहरूसँग सहकार्य नगर्ने चेतावनी जनआन्दोलन ०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले दिए । दर्जनौँ टुक्रामा विभाजित कम्युनिस्टहरूले गणेशमान सिंहको आग्रहअनुसार ०४६ सालको जनआन्दोलनअघि संयुक्त वाम मोर्चा बनाए । आन्दोलन सफल भयो र नेपाली कम्युनिस्टहरूले एकताको महसुस गरे ।

मदन भण्डारीले नेतृत्व गरेको माले र मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीबीच ०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सफल भई नेकपा (एमाले) को गठन भयो । पछि नेकपा (अमात्य) पनि नेकपा (एमाले) मा एकीकृत भयो । त्यसै गरी नेकपा (माओवादी), नेकपा (चौम), नेकपा (मसाल), नेकपा (वर्मा), नेकपा (मानन्धर) र नेपाल मजदुर किसान लगायतका पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका थिए । आजको एमाले विभिन्न ४५ वटा कम्युनिस्ट घटक मिलेर बनेको हो ।

नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशन (२०४९ माघ १४–२०) ले पार्टीको कार्यक्रम र क्रान्तिको सिद्धान्त (मार्गदर्शक सिद्धान्त) को रूपमा जनताको बहुदलीय जनवाद (जबज) लाई पारित गर्यो । जबजको प्रतिपादक जननेता मदन भण्डारी हुन् । जबज माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपाल परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो । यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । नेकपा (एमाले) ले ०४८ सालमा तत्कालीन प्रतिनिधिसभाका एकतिहाइ सिटमा विजय प्राप्त गर्यो ।

जननेता मदन भण्डारीप्रति लक्षित गरी न्युजविकले लेखेको थियो, ‘नेपाल, जहाँ कार्ल माक्र्स जीवित छन् ।’ नेकपा (एमाले) ०५१ सालमा भएको मध्यावधि चुनावमा ठूलो पार्टी बनेको थियो । यद्यपि बहुमत प्राप्त गर्न सकेको थिएन । नेपालको इतिहासमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी भए । नौ महिने अल्पमतको एमालेको मनमोहन नेतृत्वको त्यो सरकारले ल्याएको कार्यक्रम अहिले पनि लोकप्रिय छ र चर्चा पनि हुने गरेको छ । छोटो समयमै सरकार अत्याधिक लोकप्रिय भयो ।

सरकारले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र वृद्ध भत्ता दिने कार्यक्रमको ब्याज एमालेका नेताहरू अहिलेसम्म खाइरहेका छन् । त्यसपश्चात अहिलेसम्म वर्तमान सरकारसमेत गरी पाँच वटा सरकारको नेतृत्व एमालेले गरेको छ, तर जनतालाई कम्युनिस्ट नेतृत्वको सरकारको अनुभूति गराउने कार्य कुनै सरकारले गर्न सकेनन् । बिर्सिनै नसकिने गरी लोकप्रिय पनि हुन सकेन ।

माओवादी केन्द्रलेसमेत नेतृत्व गरेको सरकारको समेत गणना गर्ने हो भने अहिलेसम्म आठ वटा सरकारको नेतृत्व कम्युनिस्टहरूले गरेका छन् । नेकपा (एमाले) नेपालको लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण शक्ति र मूल प्रवाहको रूपमा स्थापित पार्टी हो । ०४६ साल र ०६२÷६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो ।

०५४ सालमा एमाले विभाजन भयो । पछि ०६१ सालमा एकता भयो । तर, सिपी मैनाली लगायतका केही नेताहरू एमालेमा फर्केनन् । ०७५ साल जेठ ३ गते सबैभन्दा ठूलो दल नेकपा (एमाले) र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठन भयो । नेकपा दक्षिण एसियाको सबैभन्दा ठूलो र एसियाको तेस्रो ठूलो कम्युनिस्ट पार्टीको रूपमा स्थापित भएको थियो । सुरुदेखि नै विवादमा परेको एकता विभाजनको बिन्दुसम्म पुग्न तीन वर्ष पनि लागेन । सर्वोच्च अदालतको ०७७ साल फागुन २३ गतेको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः ब्युँतियो ।

प्रायःजसो कम्युनिस्ट पार्टीहरू व्यक्तिगत इगो, पद र अवसरको लागि फुटने र जुटने गर्छन् । ओलीले बहुमत प्राप्त गर्न चुनावी गठबन्धन गरे । सरकारलाई बलियो बनाउन पार्टी एकीकरण गरे । ओलीले थाहै नपाई माधव, प्रचण्ड र खनाल एकआपसमा नजिकिए । आफूहरू कमजोर हुन थालेको महसुस गरेकाले यिनीहरूलाई एक हुन सहज पनि भयो । ओली पार्टी र सरकार दुवैमा हाबी हुँदै गएका थिए ।

एकलौटी रूपमा ओली अगाडि अगाडि बढ्दै गए । प्रचण्डको साथ लिएर नेपाल र खनाललाई भित्तामै पुर्याउन पनि ओलीले नखोजेका होइनन् । प्रचण्डलाई पनि पार्टीको कार्यकारी अध्यक्ष चाहिएको थियो । यिनै कारणले नेकपामा विवाद बढदै गयो । विवाद बढ्दै जाँदा नेकपामा ओली इतरको समूह बलियो भयो र ओलीले पार्टीको विवाद मिलाउनुभन्दा संसद् विघटन गर्ने कदम उठाए । त्यसपछि बाँकी के थियो र को भन्दा को कम को खेल सुरु भयो ।

एमालेमा नवौँ महाधिवेशनदेखि नै विवाद सुरु भइसकेको थियो । सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको अभ्यास गर्न थालेकोले एमालेमा व्यक्तिगत इगो बढदै गएको थियो । महाधिवेशनमा ओली र नेपाल समूहमा बाँडिएको एमाले महाधिवेशन पश्चात पनि एक हुन सकेन । ओलीले जितको घमण्ड त्याग्न सकेनन् भने नेपालले हार स्वीकार्न सकेनन् । त्यस पश्चात कुन कमिटी कसको पक्षको भन्ने हिसाबकिताब सुरु भयो । दुवै समूहले आआफ्ना दावी पेस गर्न थाले । पार्टी एकीकरणपश्चात नयाँ कोणबाट विवाद सुरु भयो । विवादले उग्र रूप लिएको बेला एकता भंग भयो । अहिले नेकपाको सोही विवाद एमालेमा सरेको छ ।

पुरानो पार्टी ब्युँतिएपछि अहिलेसम्म ओली र नेपालबीच पार्टीलाइ कसरी लाने, अब अगाडि कसरी बढ्ने विषयमा खासै संवाद भएको छैन । ओली माओवादीबाट आएका नव एमालेहरूको व्यवस्थापन गर्न र सरकार जोगाउन जसपालाई फकाउनमै व्यस्त छन् । नेपाल–खनाल ओलीलाई देखाइदिनकै लागि समानान्तर पार्टी चलाउने, भेला गर्ने र फ्लोर क्रस गराएर भए पनि सरकार गिराउन व्यस्त छन् । संवाद गर्न कसैलाइ फुर्सद छैन ।

एउटा समूह कारवाही हुने बुझेरै फ्लोर क्रस गर्न गराउनसम्म तयार छ, भने अर्को समूह पनि कारवाही गरेरै भए पनि तह लगाउने तयारी छ । दुवैले पार्टी एकताको सुगा रटान भने छाडेका छैनन् । एमालेलाई एक ढिक्का बनाउनका लागि चाल्नुपर्ने कदम उचाल्न दुवै पक्ष तयार छैनन् । यात्रा पूरा गर्न सुरु गर्नै पर्छ । यात्रा सुरु नगरी गन्तव्यमा पुगिँदैन । यहाँ पनि कसैले सही कदम उठाएन भने एमालेमा चलिरहेको अन्तरसंघर्ष विभाजनसम्म नपुग्ला भन्न नसकिने आधार छैन । कतिपयले एमाले फुटिसकेको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको भन्न थालेका छन् ।

एमालेसँग बलियो संगठन छ जुन व्यवस्थित छ र ठूलो कार्यकर्तापंक्ति छ यस्तो पार्टी संकटमा पर्दासमेत नेता कार्यकर्ताहरूले नेतृत्वलाई एक हुन दबाव दिन नसक्नु भनेको एमालेमा अहिलेसम्म आन्तरिक लोकतन्त्रको नाटक मात्र मञ्चन भइरहेको भन्दा फरक नपर्ला । एमाले पनि सामूहिक नेतृत्वबाट नभएर केही नेताको भरमा चलिरहेको पार्टी रहेको प्रष्ट हुन्छ । जहाँ सिद्धान्त, पद्दति, विधान र आन्तरिक लोकतन्त्रको न त कुनै मूल्य नै छ, न त कुनै मान्यता नै छ ।

एमालेभित्र चलिरहेको अन्तरसंघर्षबाट निम्तिन सक्ने विभाजनबाट जोगाउन एमालेको विधानले पनि सक्छ । एमालेको विधानअनुसार कुनै पनि कार्यकारी कमिटीमा निर्वाचित हुन ७० वर्षको उमेर हद लाग्छ । यस्तोमा ७० वर्ष पुगिसकेका (झलनाथ र वामदेव) र पुग्न लागेका (माधव र ओली) नेताहरूले सक्रिय राजनीतिबाट निस्क्रिय हुनुपर्ने दबाब नेता कार्यकर्ताले दिनुपर्छ । यो दबाबले काम गरेमा व्यक्तिगत इगो केही हदसम्म समाप्त हुन्छ र अन्तरसंघर्ष पनि रोकिन्छ ।

पार्टीको ०७५ साल जेठ २ गतेका कमिटीहरू जस्ताको तस्तै ब्युताउने, संकटमा ओलीलाई साथ दिएका माओवादी केन्द्रका नेताहरूको व्यवस्थापन गर्ने, अनि विधानअनुसार महाधिवेशनमा जाने । कार्यकर्ता कहिले पनि फुटको पक्षमा थिएनन् र अहिले पनि छैन । फुटेर जानेहरूले नेता कार्यकर्ताको भरपुरसाथ पाउने छैनन् । यसमा शंका नै छैन । एमाले नेता कार्यकर्ताले पार्टी जोगाउन ओलीलाई कारबाही होइन संवाद गर्न र खनाल–नेपाललाई अन्तरसंघर्ष होइन अन्तरसंवाद गर्न दबाव दिन सक्नुपर्छ । नेता कार्यकर्ताको हस्तक्षेप आवश्यक छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय