खोजखबर

जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन

सौर्य अनलाइन २०७८ वैशाख १० गते १२:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्यको एक सिटका लागि ६ जेठमा उपनिर्वाचन हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्रका तर्फबाट विजयी भएको सिटमा उपनिर्वाचन हुन लागेको हो । उनि एमालेमा प्रवेश गरेपछि माओवादीले थापाको पद खारेज गरेको थियो ।निर्वाचन आयोगले सरकारको सिफारिसमा जेठ ६ गतेका लागि चुनावको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले वाग्मती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभा सिटमा निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचनमा बागमति प्रदेश भित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् ।

‘२०७८ साल जेठ ६ गते बिहीबारका दिन वाग्मती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय रामबहादुर थापा मगरको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८-०१-०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,’ आयोगले जानकारी दिएको छ ।

आयोगले राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि वैशाख १० गतेदेखि १४ गतेसम्म आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना पनि जारी गरेको छ । राष्ट्रिय सभा उपनिर्वाचनका लागि आयोगले बिहीबारदेखि नै तयारी थालेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

गोला तान्दा थापा ६ वर्षका लागि राष्ट्रियसभा सदस्य चुनिए पनि उनको पद रिक्त भएकाले अब हुने निर्वाचन करीव ३ वर्षको लागिमात्र हुनेछ । राष्ट्रियसभामा मतदान गर्ने प्रत्येक एक प्रदेशसभा सदस्यको मतभार ४८ मानिन्छ भने स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षको मतभार १८ गनिन्छ । यस हिसाबले प्रदेशसभा सदस्यको मत धेरै मानिन्छ ।

वागमती प्रदेशका स्थानीय तह र प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेले थापालाई नै उम्मेदवार बनाउने सम्भावना छ । उनी संसद सदस्य यसबीचमा निर्वाचित हुन सकेनन् भने ६ महिनापछि मन्त्री पदबाट स्वतः मुक्त हुन्छन् । एमालेको एकल बहुमत रहे पनि एमाले एकजुट छैन । त्यसको असर राष्ट्रियसभाको उपनिर्वाचनमा पर्ने निश्चित छ ।

यसबीचमा एमाले औपचारिक रुपमा विभाजन भयो भने अलग परिस्थिति आउला । विभाजन नभए पनि माधव नेपाल पक्षले थापाको पक्षमा मत दिने सम्भावना छैन । त्यो अवस्थामा माधव नेपाल पक्षले आफ्नै उम्मेदवार उठाएर माओवादी केन्द्रको समर्थन लिने वा माओवादी केन्द्रको उम्मेदवारलाई मत दिने सम्भावना रहेको बताइएको छ ।

माधव नेपाल पक्षसहित अन्य दल मिल्दा एमालेका उम्मेदवारले चुनाव जित्न कठिन हुनेछ । वागमती प्रदेशसभाका ११० सदस्यमध्ये एमालेका ५७, कांग्रेसका २२, माओवादीका २३ सदस्य छन् । त्यस्तै विवेकशील साझाका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका २ र जनता समाजवादी पार्टी (बाबुराम) पक्षका एक सांसद छन् । एमालेका ५७ जना मध्ये कम्तिमा २२ जना सांसद माधव नेपाल पक्षका छन् ।

स्थानीय तहमा एमालेले एक्लै बहुमत स्थान जितेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एमालेका १३३ मतदाता छन् । तीमध्ये धेरैजसो संस्थापन पक्षमै रहेका छन् भने केही अझैसम्म दुवै पक्षमा खुलेका छैनन् । स्थानीय तहका प्रमुख उपप्रमुख कांग्रेसका ६६ जना छन् भने माओवादी केन्द्रका २७ जना छन् । मजदूर किसान पार्टीका २ जना मतदाता छन् भने जसपा (बाबुराम) पक्षका १ जना मतदाता छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय