कोरोना प्रभाव : होटलका बुकिङ धमाधम रद्द

काभ्रेपलाञ्चोक । कोरोना संक्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थालेको क्षेत्रीय होटल संघ (हान) ले जनाएको छ ।

धुलिखेलका होटल सञ्चालकबाट बुकिङ गरिएका कार्यक्रम सबै रद्द गर्न थालिएको गुनासो आइरहेको संघका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । ‘मेरो होटलमा समेत एक दर्जन कार्यक्रम रद्द भइसके, अरु रद्द गर्ने क्रममा छन्’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक दुई सयको हाराहारीमा उहाँको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा वैशाख लागेपछि दैनिक ५० जनासम्म पनि आउन मुस्किल रहेको उनले बताए ।

गत वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित हुने देखिन्छ । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार श्यया क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको संघले जनाएको छ । करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

वैशाख अन्तिम सातासम्मका होटलका बुकिङ रद्द भइरहेको धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले बताए । उनको ५० श्ययाको क्षमता रहेको होटलमा सरकारको स्वास्थ्य मापदण्ड अनुसार हाल २५ लाई मात्र सेवा दिन थालिएको छ । ‘दुई हप्ता अघिदेखि नै होटल बुकिङ हुन छाड्यो, बुकिङ भएका पनि धमाधम रद्द हुन थालेका छन्’, प्याकुलेलले भने ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौमा विशेष तीन प्याकेजको समेत घोषणा गरेका थिए । ‘स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनः थल्याइदिने भयो’, श्रेष्ठले गुनासो गरे ।

संघले ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ विशेष प्याकेज सञ्चालन गर्दै आएको थियो । साथै हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो ।

पर्यटकीयस्थल धुलिखेल संघीय राजधानी काठमाडौंबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् ।

प्रतिक्रिया