अमेरिकामा लामाको एकल साँझ

काठमाडौं । गीतकार बुद्धवीर लामाको दशौं एकल साँझ अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ वैशाख बिहान ६ बजे) आयोजना हुने कार्यक्रमका लागि लामा अमेरिका पुगिसकेका छन् ।

सो कार्यक्रममा अमेरिका निवासी टिका लामिछाने, निर्मल गुरुङ, अर्जुन गुरुङ, यम राई, पुष्प गजमेर, वीरेन्द्र गुरुङ लगायतका नेपाली भाषी कलाकारले बुद्धवीरका चर्चित गीत गाउने जनाइएको छ । यसअघि काठमाडौंमा आठ र झापामा एकपटक एकल साँझ गरिसकेका बुद्धवीरको अमेरिकामा पहिलो पटक साँझ हुन लागेको हो ।

उक्त कार्यक्रमलाई सामाजिक सञ्जालमार्फत लाइभ गरिने जनाइएको छ । बुद्धवीर पूर्वम्याराथन धावक हुन् । उनले अमेरिकाको एकल साँझबाट उठेको रकमबाट जन्मथलो इलामस्थित बौद्धधाममा म्याराथन दौड आयोजना गर्ने बताए । करिब चार दशकदेखि गीतलेखनमा क्रियाशील बुद्धवीरका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायतका दर्जनौं गीत चर्चित छन् ।

बुद्धवीरको एकल साँझ सम्पन्न गर्नका लागि अर्जुन गुरुङ र रत्न गुरुङको संयोजकत्वमा रन राई, डिबी गुरुङ, ओपी गुरुङ, टिबी गुरुङ, पुष्प गुरुङ, दीपा गुरुङ, विश्व गुरुङ, भुपाल गुरुङ, वीरेन राई, मुक्तिराज गुरुङ र निर्मला सापकोटा गुरुङ सदस्य रहेको आयोजक समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया