खतरनाक बन्दै कोरोना

सरकारी अधिकारीहरू र जनस्वास्थ्यविद्हरूले नेपालमा अहिले देखिएको कोरोना भाइरस संक्रमणको अवस्था गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेको भन्दै थप सावधान हुन नागरिकहरूलाई आह्वान गरेका छन् । उनीहरूको अनुसार यसपालि कोरोना भाइरस संक्रमण र त्यसबाट हुन सक्ने जोखिम पोहोरको तुलनामा निकै उच्च छ ।

कोरोना भाइरसको नयाँ प्रकार फैलिन थालेको तथा संक्रमणको जोखिमलाई गम्भीर रूपमा नलिने प्रवृत्ति पनि त्यसका लागि जिम्मेवार देखिएको उनीहरूको भनाइ छ । जोखिम कम गर्न अधिकारीहरूले जनस्वास्थ्यका लागि तोकिएका मापदण्डहरू पालन गर्न आग्रह गरिरहेका छन् । कतिपय जनस्वास्थ्यविदल्े मपदण्ड पालन गराउन र जोखिम न्यूनीकरणका लागि सरकारी निकायहरूको भूमिका कमजोर भएको बताएका छन् ।

स्वास्थ्य अधिकारीहरू र जनस्वास्थ्यविद्ले यसपालिको कोरोना महामारीको अवस्थालाई पोहोरको तुलनामा निकै खतरनाक देख्नुका मुख्य कारण यस्तो छ । गत वर्ष नेपालमा केही व्यक्तिमा संक्रमण देखा पर्नेबित्तिकै कडा प्रतिबन्धहरूसहित लकडाउन लगाइएको थियो । तर, यसपालि दैनिक १,००० जनाभन्दा बढीमा संक्रमण पुष्टि हुँदा र दैनिक ८१० जनाको निधन हुँदा पनि सरकारले कडा प्रतिबन्ध नलगाएकाले भाइरस फैलिने दर बढिरहेको जनस्वास्थ्यविद्ले बताएका छन् ।

यसपालि ढिलो गरी सरकारले यसै साताबाट केही प्रतिबन्धात्मक व्यवस्था लागु गरेको छ । तर, विज्ञहरू त्यसले भाइरस फैलिने दरलाई रोक्न खासै सहयोग नपुग्ने बताउँछन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डले भने, ‘गत वर्ष दुई जनामा मात्र संक्रमण देखिएको बेलामा लकडाउन भएको थियो । त्यस बेला मानिसहरू घरमै बसेका थिए त्यसले जोखिम कम गराएको थियो । बालबालिकाहरू विद्यालय गएका थिएनन् ।

यसपालि धेरैपछि आएर मात्र निश्चित स्थानमा विद्यालय बन्द गरियो । अन्य धेरै क्षेत्रमा पोहोरका जस्ता प्रतिबन्ध छैनन् । यसले जोखिम निकै बढाएको छ ।’ तर, सरकारी अधिकारीहरूले नेपालमा पुनः लकडाउन लगाउनुपर्ने अवस्था आउन नदिनका लागि अन्य उपायहरू मात्र अपनाइएको बताए ।
यस पटकको कोरोना भाइरस संक्रमण पोहोरको तुलनामा थप खतरनाक अवस्थामा देखिनुको अर्को कारण तोकिएका स्वास्थ्य मापदण्डहरू पालन नहुनु र नगराइनु रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रमण रोग विशेषज्ञ डा। अनुप बास्तोलाले गएको पुस–माघमा न्यून तहमा पुगेको संक्रमण चैतदेखि ह्वात्तै बढेको देखिएको बताए । उनले भने, ‘हामीले पछिल्लो समय सम्पूर्ण मापदण्डलाई बेवास्ता ग¥यौँ । पुस–माघमा त हामी यति बाहिर निस्कियौँ, यति हेलचेक्र्याइँ र लापरबाही गर्यौँ कि त्यसको फलस्वरूप बाहिरबाट आएको भाइरस पनि फैलिन पुग्यो ।’

जनस्वास्थ्यविद् पाण्डेले भने मापदण्ड पालन नगर्नेमा सरकार र नागरिक दुवै उस्तै देखिएको बताए । उनका अनुसार सरकारमा रहेकाहरूले नै पनि मापदण्ड पालन गरेको देखिएन भने मापदण्ड पालन नगर्ने नागरिकलाई दण्डित गर्न पनि सरकारले वास्ता गरेन । पाण्डेले भने, ‘नेपाल संसारमा एउटा यस्तो देश हो जहाँ जनस्वास्थ्य मापदण्डको अनुगमन सरकारले गर्दैन । अहिले हामीले मास्क नलगाइकन गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालयमा गए पनि कसैले केही गर्दैन । जनस्वास्थ्यका मापदण्डको पालनाबारे विश्वका हरेक देशले अनुगमन गरेका छन् नेपालले मात्रै गरेको छैन । त्यसले जोखिम बढेको छ ।’

नेपालमा अहिले विश्वका विभिन्न स्थानमा देखा परेका बढी संक्रामक मानिएका भाइरसका प्रकार भित्रिएकाले पनि जोखिम धेरै भएको अधिकारीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूका अनुसार हालसम्म नेपालमा बढी संक्रामक मानिएकामध्ये ब्रजिल र दक्षिण अफ्रिकामा देखा परेका नयाँ भाइरस भित्रिएको पुष्टि भएको छैन । तर यूकेमा फैलिएको तथा भारतको ‘डबल म्यूटन्ट’ भेरिअन्टहरू भित्रिसकेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार नेपालमा बढी संक्रामक ठानिएका भाइरस फैलिँदै गएमा हाल स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेकोभन्दा बढी मात्रामा संक्रमण हुनेछ । मन्त्रालयले आगामी असार मसान्तसम्म नेपालमा संक्रमितको संख्याा छ लाख पुग्न सक्ने प्रक्षेपण गरेको छ । तर नयाँ खालको भाइरस फैलिँदै गएमा त्यो संखया डेढगुना हुन सक्ने पौडेलले बताए ।

‘पुरानो भाइरसबाट सर्ने दर २ दशमलव ४ छ भने नयाँ प्रकारको चार हुन सक्छ,’ उनले भने । नयाँ भाइरसको फैलिँदो दर अहिलेको संक्रमणका लागि निकै चुनौतीको विषय भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ । हाल अस्पतालहरूमा भर्ना भएका बिरामीहरू हेर्दा पोहोरको तुलनामा युवाहरूको संख्या बढी रहेको चिकित्सकहरूदे बताए । उनीहरूका अनुसार यसले यसपालि सबै उमेर समूहका मानिसलाई सिकिस्त पार्ने अवस्था आउन सक्छ ।

डा. बास्तोलाका अनुसार यसपालि बिरामी पर्ने युवाहरूमा पनि गम्भीर समस्या देखा परेका छन् । त्यस्तै एकाघरमा पोहोर एक जनामा भए पनि अर्को सदस्यमा संक्रमण हुने दर कम देखिएको थियो । तर यसपालि चाहिँ त्यस्तो नदेखिएको उनले बताए । यसपालिको कोरोना भाइरस संक्रमणको अवस्था खतरनाक हुनुको अर्को कारण धेरैमा कोरोना भाइरस केही रहेनछ भन्ने भावना विकास हुनु पनि रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।

जनस्वास्थ्यविद् डा. पाण्डेका अनुसार अहिले कन्ट्याक्ट ट्रेसिङ हुनै नसक्ने अवस्था सिर्जना हुनुमा सरकारको कमजोरी देखिन्छ । त्यस्तै सीमाहरू बन्द नगरिएको र नागरिकहरूले पनि निर्बाध रूपमा आवतजावत गरिरहेकाले यसपालि पोहोरको तुलनामा थप जोखिम बढेको छ । त्यसो हुनुमा धेरैले कोरोना भाइरसको गत वर्षकै जस्तो अवस्था होला भनेर सोच्नु मुख्य कारक भएको भनाइ छ । – बीबीसी

प्रतिक्रिया