प्रधानमन्त्रीको प्रयासबारे माडी बेखबर

                                मेयर ठाकुर ढकाल

प्रधानमन्त्रीले मूर्ति बनाएर पठाइसकेको अवस्थामा यहाँ अयोध्याधाम बन्ने चर्चा बढ्दै गएको छ । केही पनि नहुने अवस्थाभन्दा त्यही मूर्ति भए पनि यहाँ ल्याएर एउटाखाले सुरुआती गरौँ, जसले प्रचार पनि हुन्छ भनेर यसको सुरुआत भएको हो । माडीमा अयोध्याधाम बन्दै छ, राममन्दिर बन्दै छ भन्ने अहिलेसम्म आधिकारिक जानकारी माडी नगरपालिकालाई छैन । नेपाल सरकार अयोध्यापुरीको विकासका लागि सक्रिय भइदिनुपर्यो भन्ने हाम्रो अनुरोध हो । मन्त्रिपरिषद्ले यसबारे निर्णय गरिदिनुपर्यो भनेर हामीले बारम्बार आग्रह गर्दै आएका हौँ । लिखित अनुरोध नै पठाएका छौँ ।

अयोध्याधाम र राममन्दिर निर्माणको विषयमा प्रधानमन्त्री र उहाँको सचिवालयसँग स्थानीय सरकारको समन्वय भएको भए धेरै राम्रो हुन्थ्यो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘प्रधानमन्त्रीको निर्देशनमा ८ वैशाखमा मूर्ति लिएर आउँदै छु’ भनेर त जानकारी गराउनुभएको थियो । तर, त्यसमा कता–कता के–के बिग्रिएजस्तो लाग्छ ।

माडीमा राममन्दिरसहितको अयोध्याधाम बनाउनु छ भने स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक र सामाजिक व्यक्ति सबैले अपनत्व लिएर अगाडि बढ्नुपर्छ । केही साथीहरू ‘मैले गरेको हुँ भन्न पाए हुन्थ्यो’ भने सोचका साथ अघि बढ्नुभएको छ । पछिल्लो समय केन्द्रको नेकपा विघटनको असर तल्लो तहमा पनि परेको छ । जसका कारण एउटाले अर्कोलाई निषेध गर्ने हिसाबले लागेको छ । अयोध्याधामको विषयमा पनि केही साथी त्यही ढंगले प्रस्तुत हुनुभएको छ । तर, बुझ्नुपर्ने कुरा के हो भने सबैको एकताबाट मात्र यो काम पूरा हुने हो ।

रामले नजन्मिँदै यहाँको लालपुर्जा पाउने, तर चेपाङहरूले ३० वर्ष भोगचलन गरेको जग्गाको पनि लालपुर्जा नपाउने निर्णय हुनुहुँदैन । भगवान् रामचन्द्रलाई लाजपुर्जासहित राख्ने, तर यहाँका जिउँदा रामबहादुरहरू वर्षौंदेखि लाजपुर्जाविहीन हुनुपर्ने संस्कार हाम्रो होइन । चेपाङको घर बनाउँदा निकुञ्ज ऐन बाधक हुने, तर राममन्दिर बनाउँदा त्यही ऐन साथी बन्ने कुराको म विपक्षमा नै हो ।

विपक्षी दलबाट निर्वाचित भएकाले मेयर ठाकुरप्रसाद ढकालले राममन्दिर निर्माण गर्नेतर्फ चासो देखाएन भन्ने आरोपसमेत लगाइएको छ । तर, म म दुराशययुक्त भाषा बोल्ने पक्षमा छैन । यति धेरै हल्लीखल्ली भइसकेपछि माडीमा अयोध्याधाम बन्नुपर्छ । तर, त्यो माडी नगरपालिकाको मात्रै पहलमा सम्भव हुने विषय होइन । हाम्रो वार्षिक बजेटभन्दा निकै ठूलो लगानी आवश्यक पर्छ । यो ठाउँमा धाम बनाउने पहलकदमी, व्यवस्थापनमा हामी जोडिन्छौँ, जोडिएका छौँ । तर, बजेट अर्बौं आवश्यक छ ।

त्यसका लागि सरकार नै जोड्निुपर्छ । रामधाम बन्ने जमिन र यहाँका सुकुम्बासी रहेको ठाउँ मध्यवर्ती क्षेत्रभित्र पर्छ । रामधामसँगै कुसुमखोला, प्याउली, बाँदरझुला लगायतका ठाउँमा वर्षौंदेखि बसेका सुकुम्बासी चितवन राष्ट्रिय निकुञ्जबाट समस्यामा परेका छन् । त्यो समस्याको गाँठो एउटै निर्णयबाट फुकाइयोस् भने हाम्रो कुरा हो ।

नगरपालिकाको पहिलो प्राथमिकता अयोध्याधाम निर्माण हो कि चेपाङ र सुकुम्बासीहरूको उचित व्यवस्थापन रु भन्ने प्रश्न अहं रूपमा खडा भएको छ । केही साथीहरूले यहाँका विपन्न र सुकुम्बासीभन्दा राममन्दिरलाई महत्व दिएको देखिन्छ । तर, नगरपालिका दुईवटै काम सँगसँगै अगाडि बढाउनुपर्छ, जोडेर लैजानुपर्छ भन्ने मान्यता राख्छ । केही साथीहरू प्रधानमन्त्री कार्यालयमा प्रस्तुत गर्नका लागि अयोध्याधामको मात्र सिफारिस दिन भन्दै नगरपालिकामा आउनुभयो । दबाब पनि दिनुभयो ।

तर, म ‘अयोध्याधामका लागि मात्र सिफारिस माग्ने हो भने निर्णय नै गर्दिनँ, हस्ताक्षर नै गर्दिनँ’ भनेर बसेको छु । अयोध्याधाम माडीमा बन्नुपर्छ । त्यसका लागि निरन्तर लागिरहन्छु, लडिरहन्छु । सँगसँगै यहाँका नागरिकले राष्ट्रिय निकुञ्ज बन्नुभन्दा पहिलादेखि नै भोगचलन गर्दै आएको जमिन निर्वाध उपभोग गर्न पनि पाउनुपर्छ । निकुञ्जले भोगचलन नगर भन्नेबित्तिकै रोक्नुपर्छ भन्ने हुँदैन । हामी सरकारको एउटै निर्णयबाट यी दुवै समस्या हल होस् भन्ने चाहन्छौँ ।

माडीको बाँदरझुलामा किसानले निकुञ्जकै कारण अहिले पनि ट्रयाक्टर लगाएर आफ्नो खेत जोत्न पाएका छैनन् । रामले नजन्मिँदै यहाँको लालपुर्जा पाउने, तर चेपाङहरूले ३० वर्ष भोगचलन गरेको जग्गाको पनि लालपुर्जा नपाउने निर्णय हुनुहुँदैन । भगवान् रामचन्द्रलाई लाजपुर्जासहित राख्ने, तर यहाँका जिउँदा रामबहादुरहरू वर्षौंदेखि लाजपुर्जाविहीन हुनुपर्ने संस्कार हाम्रो होइन । चेपाङको घर बनाउँदा निकुञ्ज ऐन बाधक हुने, तर राममन्दिर बनाउँदा त्यही ऐन साथी बन्ने कुराको म विपक्षमा नै हो । राममन्दिरका लागि जमिनको निर्णय हुँदा चेपाङको घर बनाउने निर्णय पनि हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

गत वर्षको साउन ३ गते राज्यले नै घरमा आगो लगाइदिएपछि पालमुनि पुगेका चेपाङहरूको घर बनाउन सकिएको छैन । उनीहरूलाई पालमुनि नै राखेर रामको मन्दिर बनाउँ भन्यो भने ती समुदायले हामीलाई के भन्छन् रु हामीले ती निमुखा गरिबका लागि बोल्नुपर्छ । प्रधानमन्त्री गरिब जनताको पक्षमा हुनुहुँदो रहेनछ भन्ने सन्देश जाने काम गर्नुहुँदैन ।

कुसुमखोलामा बसिरहेका तथा विस्थापित भएका विपन्नका लागि माडी नगरपालिकाले प्रदेश सरकार र र दाताको सहयोगमा पहिलो चरणमा ९० घर निर्माण थालेको थियो । तर, वडा–९ को राईटोल र वडा–७ को परोईखोला किनारामा घर बनाउने योजनामा निकुञ्जले अवरोध ग¥यो । राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । अझ परोईखोला किनारमा ५० घर बनाउन खोज्दा पोल नै गाड्न दिएन ।

राममन्दिर र अयोध्याधाम बनाउने निर्णय गरौँ, सँगै यहाँका सुकुम्बासी र चेपाङको समस्या समाधानको निर्णय पनि गरौँ । तब मात्र यहाँका जनताले प्रधानमन्त्रीलाई हाइहाइ गर्छन् । बाँदरझुला क्षेत्रमा सडक, खानेपानी, बिजुली, भवन निर्माण, कृषि कार्यलगायतमा आधुनिक औजार–उपकरणको प्रयोगमा लगाइएको बन्देज हटाएर त्यहाँका जनताको हितका लागि खाद्य, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पूर्वाधार विकास कार्यक्रम निर्वाध सञ्चालन गर्ने व्यवस्था हुन्छ भन्नेमा विश्वस्त छु । जनताको मनोभावना बुझ्ने प्रधानमन्त्री हुनुहुन्छ, यी सबै कुराहरू उहाँले प्याकेजमा निर्णय गर्नुहुनेछ ।

केही मान्छेले मन्दिर निर्माण र मूर्ति स्थापना प्रधानमन्त्रीको राजनीतिक अस्त्र मात्रै भएको आशंका गरेका छन् । मूर्ति राखिसकेपछि अन्य काम अगाडि बढ्दैनन् भन्ने उनीहरूको दाबी छ । तर यो दाबी अली हतार भयो जस्तो मलाई लाग्छ । प्रधानमन्त्रीले माडीमा अयोध्याधाम बनाउनकै लागि पहल गर्नुभएको हो ।

धार्मिक, सांस्कृतिक र राष्ट्रिय हिसाबले यहाँको विकास होस् भनेर नै उहाँ लाग्नुभएको हो भन्ने मैले बुझेको छु । त्यहीअनुसार अयोध्याधाम र चेपाङबस्ती व्यवस्थापनको निर्णय गराएर उनले प्रधानमन्त्री जनताप्रति कति उत्तरदायी रहेछन् भन्ने सन्देश दिनुहुनेछ भन्ने मैले सोचेको छु । यो विषयमा केही पनि निर्णय नगरी प्रधानमन्त्री अगाडि बढ्नुभयो भने त्यही वेला भनौँला । यद्यपि, यसअघि पनि धेरैपटक चेपाङको आवासको विषयमा आश्वासन प्राप्त भएका हुन् ।

प्रतिक्रिया