नारी शक्ति परिचालनको आवश्यकता

                केबी बस्नेत

आजसम्म पनि पुरुष दिवस मनाउने परम्परा कतै छैन । तर, नारीको सम्मान गर्ने पर्व नारी दिवस संसारभर मनाइन्छ । पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रूपमा स्वीकार गरिएको छ । जुन सबैका लागि प्रिय छ । पूजा बन्दना र आरधानामा सर्वप्रथम ‘त्वमेव माता’ भनी सम्बोधन गरिन्छ भने अन्य औपचारिक सम्बोेधनमा पहिला महिला भनिन्छ ।

बालबच्चाको खानपानको व्यवस्था गर्ने, भान्छाको कुशल व्यवस्थापन गर्ने, पतिको स्यहार सुसार गर्ने र छोराछोरीलाई पहिलो वात्सल्यता दिएर मात्र आफू अघाउने देवी स्वरुपिणी नारी हो । पूर्वीय दर्शन हिन्दू परम्पराले देखाएको सम्मान शायद अन्य संस्कृति तथा धर्म दर्शनले देखाएको नहोला । घरकी लक्ष्मी, घनकी प्रतीक, वचन तथा वानी बेहोराको भण्डार मानिने एक नारीले धेरै सन्तान एवं शिष्यलाई अनुशासित र मर्यादित हुन सिकाउँछिन् । साधारणतया १० पुरुष शिक्षित हुँदा जति प्रतिफल प्राप्त गर्न सकिन्छ एक महिला शिक्षित हुँदा त्यति नै प्रतिफल प्राप्त गर्न सकिने अनुमान छ ।

पृथ्वीमा रहेका सम्पूर्ण नारी तथा तीर्थक्षेत्रलाई देवी संरक्षकको रूपमा हेरिन्छ । शिवकी शक्ति उमा र ब्रम्हाको शक्ति सरस्वती नारी नै हुन् । दुर्गा, शुभद्रा, शाम्भवी, रोहिणी, जया र विजया सबै नारी हुन् जसले आफ्नो धेरै शक्ति प्रदर्शन गरेका छन् । नारीलाई किल्ल तथा सिमानाको रक्षक तथा दुर्गा अर्थात् दुर्गाको रूपमा अंगीकार गरिन्छ । नारीमा भय, त्रास, सन्त्रास र दुर्भीक्ष रोक्ने शक्ति हुनुका साथै वायुको गति रोक्ने सामथ्र्य पनि हुन्छ ।

वर्तमान समयमा यहाँका नारीहरूको अस्मिता लुट्न थालिएको छ । यति मात्र होइन, उनीहरू तेजाब प्रहारबाट पीडित भएका छन् । यस्तो विकृति न्यून गर्ने एकतर्फ उनीहरू आफैँ सतर्र्क भई शक्ति प्रदर्शन गर्न सक्नु परेको छ भने अर्कोतर्फ पुरुषहरूले उनीहरूको सम्मान गर्नुपर्छ । यस्तो गर्न सके मात्र मानव जातिले चाहेको जीवन्त जीवन सञ्चालनदेखि सम्पूर्ण जगत् सञ्चालनमा टेवा पुग्नेछ ।

वासना पूर्तिको लागि हरण गर्ने रावणको विनाश गर्न नारी सीता, कंसको काल बनेर विन्ध्यवासिनीको रूपमा उत्पति भएकी हुन् । महिसासुर, चण्ड, मुण्ड, रक्तवीजदेखि तमाम असत्यको विनाश गर्ने नारी नै हुन् । कोही नारीहरूमा पुतना तथा होलिकाको आश देखिए पनि समग्रमा भन्नुपर्दा उनीहरू घरका शोभा हुन्, कुटुम्बहरूको प्रियजन हुन् र गृहस्थ धर्मका आधारशीला हुन् । उनीहरू आवश्यक परेको अवस्थामा रणचण्डीको रूप पनि लिन्छन् ।

परापूर्व कालमा नारीहरू धेरै शक्तिशाली भएकाले प्रतिष्ठित व्यक्तिहरू पनि उनीहरूको आराधना गर्थे । उदाहरणका लागि श्रद्धेय गुरु शंकराचार्य त्रिपुरादेवीको उपासक थिए भने धर्मराज युधिष्ठिर र स्वामी विवेकानन्द देवीको उपासक थिए । सर्वेश्वर श्रीकृष्ण हराएको बेला उनको प्राप्तिका लागि उनका पिता वासुदेवले देवीको उपासना गरी आफ्ना इच्छा पूर्ति गरेका थिए । जगत् संचालक नारायणकी प्रियको नाम नारायणी हो जसले सबैलाई माया गर्छिन् ।

सृष्टिकर्ता ब्रम्हाजी, पालनकर्ता श्री विष्णु र संहारकर्ता श्री शिव देवीका उपासक थिए र देवीबाट शक्ति पाएर नै उनीहरूले आफ्ना कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए । द्रौपदी, यशोदा, देवकी र कुन्ती पनि नारी हुन् जसले पौराणिक कालमा अनुपम कार्यहरू गरेका थिए । ब्राम्ही, बंगलामुखी, त्रिपुरादेवी, कुमारी, माहेश्वरी आदिनामले प्रख्यात नारीहरू भगवती र रुपमती मात्र होइनन् मायावती पनि हुन् । जुन घर तथा समूहमा नारीको सम्मान हुँदैन र जुन मन्दिरमा देवीको प्रसाद हुँदैन त्यहाँ शुभ कार्य हुन सक्दैन ।

आज केही देशका नारीहरूले राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य ठूला पदहरू सम्हालेका छन् । वास्तवमा आज नारीहरू आफैँ योग्य हुनाले उनीहरूलाई अवसरहरूको आवश्यकता छ । हिजोआज सूचना, सञ्चार, उद्योग, सेना र प्रहरी कार्यालयहरूमा पनि नारीहरूको सहभागिता बढेको छ । यसबाट उनीहरूको योग्यता एवं सामथ्र्य कम छैन भन्ने कुराको पुष्टि हुन्छ ।

वर्तमान समयमा यहाँका नारीहरूको अस्मिता लुट्न थालिएको छ । यति मात्र होइन, उनीहरू तेजाब प्रहारबाट पीडित भएका छन् । यस्तो विकृति न्यून गर्ने एकतर्फ उनीहरू आफैँ सतर्र्क भई शक्ति प्रदर्शन गर्न सक्नुपरेको छ भने अर्कोतर्फ पुरुषहरूले उनीहरूको सम्मान गर्नुपर्छ । यस्तो गर्न सके मात्र मानव जातिले चाहेको जीवन्त जीवन सञ्चालनदेखि सम्पूर्ण जगत् सञ्चालनमा टेवा पुग्नेछ । नारीहरू तेजाबबाट मात्र आक्रमित नभई विभिन्न मर्यादाहीन मानिसबाट सताइएका छन् ।

हिजोआज बलात्कारका घटनाहरू दिनानुदिन बढ्दो क्रममा छन् । लकडाउनको समयमा महिलाहरू विरुद्ध घरेलु हिंसाका मुद्दाहरूको आँकलन निकै उच्च थियो । कोरोनाका कारण सिर्जिएका तनाब, निराशाहरूको फल पनि महिलाहरूले भोग्नुपर्यो । पुरुषले मात्र नभएर महिलाहरूले पनि एकअर्कालाई तल झार्नबाट पछि हट्दैनन् । समाजमा हाम्रै सम्मुख महिलाहरू विरुद्ध विभिन्न हिंसा भइरहेको हुन्छ तापनि हामी त्यसलाई बेवास्ता गरेर हिड्छौँ ।

यदि हामीले त्यसो नगरी प्रताडित महिलाहरूलाई आवाज उठाउन मद्दत गर्र्यौं भने पछि हुने विकराल समस्याबाट बच्न सक्नेछौँ । समाजमा क्लारा जेटकिनदेखि एमा वाटसन, मिसेल ओबामा जस्ता विभिन्न महिला अधिकारकर्मीहरूको उदयले महिला अधिकारको सुनिश्चितता स्थापना गरेको छ । भेदभावलाइ पर सारेर दुवै महिला पुरुससँगै अघि बढ्यौँ भने सुन्दर भविष्यको आकार कोर्न सफल हुनेछौँ ।

प्रतिक्रिया