स्वास्थ्य प्रणाली चिकित्सा प्रणाली मात्रै होइन

                                     डा. बामदेव सुवेदी

लामो राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वका बाबजुद हाम्रो स्वास्थ्य स्थितिमा प्रगति भएको छ । औषत आयु बढेको छ, मृत्युदर घडेको छ, गरिबी घटेको छ र जीवनस्तरमा सुधार आएको छ । उदाहरणका लागि सन् १९९१ र २०१६ बीचको अवधिमा पाँच वर्ष मुनिका बच्चाहरूको मृत्युदर (प्रतिहजार जीवित जन्ममा) १ सय ९७ बाट ३९ मा झरेको छ ।

मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) ८ सय ५० बाट २ सय ५४ मा झरेको छ । औषत आयु ५४ वर्ष (महिलाको ५३ वर्ष र पुरुषको ५५ वर्ष) थियो तर ०६८ मा आइपुग्दा नै ६७ वर्षमा (महिलाको ६८ वर्ष र पुरुषको ६६ वर्ष) मा बढेको छ । संसारभरी नै महिलाको औषत आयु पुरुषको भन्दा बढी हुने गरेकोमा नेपालमा चाहीँ ठीक उल्टो अवस्था थियो । त्यसमा सुधार भएको छ । त्यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या ४२ प्रतिशतबाट १८ प्रतिशतमा घटेको छ । सन् १९९० देखि २०२० मा आइपुग्दा सम्ममा मानव विकास सूचकांक पनि शून्य दशमलव ३८७ बाट शूख्य दशमलव ६०२ मा पुगेको छ ।

स्वास्थ्य सूचांकमा उल्लेखनीय प्रगति देखिए पनि दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा हाम्रो स्थान औषतभन्दा कम देखिन्छ । मानव विकास सूचकांकमा हाम्रो अवस्था अफगानिस्तान र पाकिस्तानभन्दा मात्र राम्रो स्थितिमा छ । हामी श्रीलंका, माल्दिभ्स, भुटान, भारत र बंगलादेशभन्दा पछाडि छौँ । अनि हामी विश्वको औषत मानव विकास सूचकांक (शून्य दशमलव ७३७) भन्दा त निकै पछाडि अर्थात् १ सय ८९ देशमध्ये १४२औँ स्थानमा छौँ । यसैबीच ह्याप्पिनेस इन्डेक्समा हामीले फड्को मारेको कुरा आयो । यसमा पनि हामी १ सय ४९ देशमध्ये ८७औँ स्थानमा छौँ । यो भनेको हामी औषतभन्दा पछाडि नै छौँ अर्थात् हामीभन्दा खुसी देश धेरै छन् भन्ने हो ।

स्वास्थ्य प्रणालीलाई चिकित्सा प्रणालीको साँघुरो घेरामा मात्र बुझ्न थालिएको छ । मान्छेको स्वास्थ्यमा चिकित्सा क्षेत्रको ठूलो महत्व छ तर चिकित्सा सेवाबाट मात्र मान्छेको स्वास्थ्य सुनिश्चित गर्न सकिँदैन । त्यसैले स्वास्थ्यमा बहुक्षेत्रको संलग्नता आवश्यक छ । खेती प्रणाली स्वस्थ हुन सकेन भने त्यसको असर मानव स्वास्थ्यमा पर्छ ।

एक त हामी विश्वको औषतभन्दा निकै पछाडि छौँ, त्यसमाथि भएको प्रगति पनि सवै बर्ग, समुदाय र क्षेत्रमा समान छैन । बरु स्वास्थ्यसूचकहरूले असमानता बढेको देखाउँछन् । गरिब, दलित, सिमान्तकृत समुदाय र दुर्गम क्षेत्रका बासिन्दा स्वास्थ्य सूचकमा निकै पछाडि रहेका छन् । उदाहरणका लागि पाँच वर्ष मुनिका ब्राम्हण–क्षेत्री बच्चाहरूको मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३१ जना छ भने दलित बच्चाहरूको ५१ जना, सबैभन्दा धनी समूहमा २२ जना छ भने सबैभन्दा गरिब समूहमा त्यसको ठीक दोब्बर छ, बाग्मती प्रदेशमा २३ छ भने कर्णाली प्रदेशमा ५१ जना । औषत आयु, साक्षरता, र गरिबीको अवस्था पनि त्यस्तै छ ।

उदाहरणका लागि ४२ प्रतिशत दलित गरिब छन् भने गैरदलित २४ प्रतिशत । यसले विभिन्न सामाजिक आर्थिक समूहबीच विभेद र असमानता रहेको देखाउँछ । अधिकांश अस्पताल काठमाडौं र ठूला सहरहरूमा नै केन्द्रित छन् । स्वास्थ्य सेवा सहरमुखी नै छ । दुर्गम स्थानमा स्वास्थ्य सेवा पुग्न सकेको छैन । अहिले पनि त्यसमा खासै सुधार आएको छैन । स्वास्थ्यमा निजी क्षेत्रको सहभागिता निकै बढेको छ तर निजी स्वास्थ्य संस्थाहरू सेवा गर्न भन्दा नाफा कमाउन उद्यत देखिन्छन् ।

सहरका ठूला र महँगा अस्पतालको सेवा लिन जायजेथा बेच्नुपर्ने अवस्था छ । संविधानले स्वास्थ्यलाई मौलिक अधिकार मानेर निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरे पनि जनसंख्याको ठूलो हिस्सा यो अधिकार उपभोग गर्नबाट वञ्चित छ । हाम्रो खेती प्रणालीमा रासायनिक मल र विषादीको प्रभुत्व बढेको छ । हाम्रो खानपान विषाक्त बन्दैछ ।

हाम्रो आकाश धुलो र धुवाँले ढाकिएको छ । हामीले फेर्ने सास सुरक्षित छैन । हामीले पिउने पानी स्वच्छ छैन । जल, थल र आकास सबै प्रदूषित बनेको छ । अवस्था निकै जटिल छ । हाम्रो स्वास्थ्य सेवा बढी उपचारमुखी छ । रोकथाम भन्दा उपचारले प्राथमिकता पाउँछ । वायुमण्डलको प्रदूषण रोक्ने विषयले प्राथमिकता पाउँदैन । खाद्यान्न तथा फलपूmलमा विषादी रोक्ने क्रियाकलापहरू प्राथमिकतामा पर्दैनन्, बरु रोग लागेपछि उपचार सेवाको व्यवस्था गर्न स्वास्थ्य बिमा प्राथमिकतामा पर्दछ ।

बिरामी परिहालेकालाई बचाउनु आवश्यक छ तर त्योभन्दा बढी आवश्यक छ मान्छे बिरामी पर्ने कारण र निवारणको । स्वास्थ्य प्रणालीलाई चिकित्सा प्रणालीको साँघुरो घेरामा मात्र बुझ्न थालिएको छ । मान्छेको स्वास्थ्यमा चिकित्सा क्षेत्रको ठूलो महत्व छ तर चिकित्सा सेवाबाट मात्र मान्छेको स्वास्थ्य सुनिश्चित गर्न सकिँदैन । त्यसैले स्वास्थ्यमा बहुक्षेत्रको संलग्नता आवश्यक छ । खेती प्रणाली स्वस्थ हुन सकेन भने त्यसको असर मानव स्वास्थ्यमा पर्छ । पर्यावरणीय प्रणाली उथलपुथल हुँदा मान्छेको स्वास्थ्यमा असर पर्दछ ।

वायुमण्डल प्रदूषित हुँदा हामी स्वस्थ हुन सक्दैनौँ । त्यसैले स्वास्थ्यमा विभिन्न पक्षहरूको साझेदारी र सहकार्य आवश्यक छ । हामीकहाँ त्यति वास्ता नगरिएको क्षेत्र परम्परागत चिकित्साको क्षेत्र हो । भन्न त परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीकै अभिन्न अंग भनेर भनिन्छ तर व्यवहारमा परम्परागत पद्धति सधैँ उपेक्षित रहेको हुन्छ । संविधानमा पनि परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेका आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने भनिएको छ ।

यस्ता परम्परागत चिकित्सा पद्धतिहरू हाम्रो मौलिक चिकित्सा पद्धति हुन् । योग तथा शारीरिक व्यायाम हाम्रो मौलिक परम्परा हो । आधुनिक चिकित्सा पद्धतिले ठीक पार्न नसकेका कतिपय स्वास्थ्य समस्या परम्परागत चिकित्सा पद्धतिबाट सम्भव भएको छ । परम्परागत चिकित्सा विशेषतः स्वस्थ जीवनशैली अँगाल्न तथा मान्छेको स्वास्थ्य प्रवर्धन गर्न मद्दत गर्ने चिकित्सा विधा हुन् । तर, आजभोलि परम्परागत चिकित्सा पद्धतिको जोड पनि उपचारतर्फ ढल्कँदै गएको देखिन्छ ।

हाम्रो अर्को बलियो पक्ष भनेको हाम्रो लोक स्वास्थ्य परम्परा नै हो । हामी कहाँ चिकित्सा विधामा औपचारिक शिक्षा नलिएका तर बाउबाजेका पालादेखि परम्परागत स्वास्थ्योपचारमा संलग्न भएर अनुभवले खारिएका परम्परागत उपचारक तथा लोक स्वास्थ्यकर्मीहरूको ठूलो संख्या रहेको छ । उनीहरूले एक किसिमले सामुदायिक स्वास्थ्य स्वयंसेवकका रूपमा गाउँघरमा सेवा पु¥याइरहेका छन् । स्वास्थ्य समस्या पर्दा यस्ता लोक स्वास्थ्यकर्मीहरूको सेवा र सहयोग लिने प्रचलन छ ।

गाउँघरमा जान्नेमान्छे, धामीझाँक्री, गुरुवा, लामा, आम्ची, वैद्यका रूपमा चिनिने यस्ता लोक स्वास्थ्यकर्मीहरूले स्थानीयरूपमा पाइने जडिबुटीहरूको प्रयोग गर्दछन् । उपचारका क्रममा कतिपयले जडिबुटीका अलावा मन्त्रहरूको प्रयोग गरेर झारफुक पनि गर्दछन् । हुनत झारफुके उपचारको खासै उपादेयता देखिँदैन अनि अन्धविश्वासको उदाहरणको रूपमा लिइन्छ तर केही अध्ययनहरूले मनोसामाजिक स्वास्थ्यमा यस्ता उपचार विधिको पनि महत्व हुनसक्ने देखाएका छन् ।

जे होस लोक स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने जडिबुटी तथा उनीहरूको उपचारका विधि र प्रविधिका बारेमा थप अध्ययन अनुसन्धानको खाँचो चाहीँ देखिन्छ । कोरोना महामारी फैलने बेला जडिबुटीको महत्व अझ बढेको छ । खासगरी निर्विकल्प भएको बेला हाम्रो सहारा जडिबुटी र परम्परागत उपचारकहरू हुने गरेका छन् । महामारीको सुरुआतमा लोक स्वास्थ्यकर्मीहरूले सुझाए अनुसार विभिन्न प्रकारका जडिबुटीहरूको प्रयोग गरको देखियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि गुर्जो, असुरो, तुलसी, बेसारजस्ता जडिबुटीहरूले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्ने सूचना प्रकाशित गर्यो ।

लोक स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने जडिबुटीहरू परम्परागत रूपमै प्रयोग हुँदै आएका जडिबुटी हुन् । तर सही सूचनाको अभावमा जथाभावी जडिबुटी प्रयोग गर्दा फाइदाभन्दा नोक्सान हुने सम्भावना पनि देखियो । गुर्जो बढी खाएर बिगार गरेको समाचार पनि आए । यहाँ लोक स्वास्थ्यकर्मीहरू हाम्रो स्वास्थ्य प्रणालीमा जोड्न नसकिएको कुरा निकै खट्कियो । यदी उनीहरू स्वास्थ्य प्रणालीसँग जोडिएका हुन्थे भने आयुर्वेद विभागलाई समुदायसँग अझ बलियोसँग जोड्न मद्दत पुग्ने थियो ।

यसले समयमै सही सूचना प्रवाह गर्न मनि मद्दत पुग्ने थियोे अनि विभाग र लोक स्वास्थ्यकर्मीबीच ज्ञान साटासाट गर्ने मौका पनि दिने थियो । जडिबुटीमाथि नेपालीहरूको अगाध आस्था र विश्वास छ । बालकृष्ण समको इच्छा कविताले पनि यो आस्था र विश्वास कति गाढा थियो भन्ने देखाउँछ । नेपालको गौरव गर्नलायक परम्पराको कुरा गर्दा जडिबुटीले ठाउँ पाउने गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले विदेशी पत्रकारलाई अन्तर्वार्ता दिँदा पनि नेपालको बलियो पक्षको रूपमा हिमाली जडिबुटीहरूलाई स्मरण गर्न पुग्नुभएको थियो । नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्ने उहाँको दावीका पछाडि लोक स्वास्थ्य परम्परा नै रहेको थियो । उहाँले सुझाएका नुनपानीले गार्गाल गर्ने, जडिबुटीको चिया खाने, तातोपानीको वाफ लिने कुरा घरेलु उपचारकै विधि हुन् । हाम्रो आफ्नै पारिवारिक स्वास्थ्य परम्परा पनि छ । सुत्केरीलाई ज्वानोको झोल, बच्चालाई लिटो तथा वृद्धवृद्धालाई सातु खुवाउने प्रचलन छ ।

कस्तो स्वास्थ्य समस्या पर्दा के खाने, कुन सिजनमा के खाने भन्ने आफ्नै बुझाइ छ । यस्ता कुराहरूले पनि स्वास्थ्य प्रवर्धन गर्न ठूलो मद्दत गरेका हुन्छन् । स्वास्थ्यको कुरा गर्दा परिवारको स्वास्थ्य परम्परा तथा घरेलु उपचारलाई त्यति महत्व दिइँदैन । तर, धेरैजसो सानातिना विमारी त घरेलु उपचारबाटै ठीक हुन्छन् ।

वास्तवमा परिवारका सदस्यलाई स्वास्थ राख्न र बिरामी परिहालेमा आवश्यक उपचारको खोजी गर्न तथा अस्पतालबाट फर्केपछि पनि बिरामीको हेरचाह र स्याहारसुसार गर्न परिवारकै महत्वपूर्ण भूमिका रहन्छ । घर बलियो भएपछि जग बलियो हुन्छ भने जस्तो परिवारको स्वास्थ्यसम्बन्धी ज्ञान, सीप र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनसके त्यसले समुदायको समग्र स्वास्थ्य स्थितिमा ठूलै योगदान पु¥याउन सक्ने देखिन्छ । स्वास्थ्यलाई केवल स्वास्थ्य बिमामा सीमित गर्ने कुरा संवैधानको मर्म विपरीत छ ।

राज्यको प्रयास संविधानले निर्दिष्ट गरेअनुसार गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नेतर्फ लक्षित हुनु पर्दछ । एकातर्फ हामीले स्वास्थ्य सेवाको गुणस्तरमा ध्यान दिनु आवश्यक छ अर्कोतर्फ पहुँचको सुनिश्चिततामा । गुणस्तरको कुरा गर्दा परम्परागत चिकित्सा पद्धतिको गुणस्तर अभिवृद्धिका लागि पनि त्यत्तिकै जोड दिनु आवश्यक छ । पहुँचको कुरा गर्दा दलित, गरिब र पिछडिएका वर्ग, समुदाय र क्षेत्रको पहुँचको सवालले महत्व पाउनु पर्दछ ।

आजको विश्वले स्वस्थ जीवनका लागि परम्परागत चिकित्साको ठूलो सम्भावना देखेको छ । हामीभने हाम्रा मौलिक चिकित्सा पद्धति र लोक स्वास्थ्य परम्पराहरूको महत्व बुझ्न सकेका छैनौँ । लोक स्वास्थ्य परम्पराले गरिब समुदायको स्वास्थ्य सुरक्षाको रूपमा काम गर्ने भएकोले पनि यसको जगेर्ना गर्नु आवश्यक छ । लोक स्वास्थ्य परम्पराको जगेर्ना गर्नुको आसय अन्धविश्वास र अवैज्ञानिक कुरालाई प्रश्रय दिनु किमार्थ होइन ।

आज जडिबुटी साक्षरता डरलाग्दोसँग घटेर गएको छ । युवापिँढीलाई कुन जडिबुटीको के महत्व छ भन्ने जानकारी छैन । अनि लोक स्वास्थ्यकर्मीहरू राज्यको नीतिका कारण निरुत्साहित बन्दै गएका छन् । यही अवस्था कायम रहने हो भने लोक स्वास्थ्य परम्पराको रैथाने ज्ञान अझै ओइलाएर जाने छ । लोक तथा रैथाने ज्ञानको थप क्षय हुनबाट रोक्न आवश्यक नीतिगत सुधार गरी लोक स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य प्रणालीसँग जोड्न र जडिबुटी साक्षरता अभिवृद्धिका लागि विद्यालय तहदेखि नै पठनपाठनको व्यवस्था मिलाउनु आवश्यक छ ।

प्रतिक्रिया