खोप कुनै रामवाण होइन

                                         डा. सन्तोष दुलाल

पृथ्वीको सतहमा वा सतहमुनि आफ्नै शैलीमा बसिरहेका भाइरस क्रमशः बाहिर आइरहेका छन् । विकासमा नाममा हामीले पृथ्वी उत्खनन् गरिरहेका छौँ, उद्योगको नाममा कार्बन उत्सर्जन गरिरहेका छौँ, त्यसले जलवायु परिवर्तन भइरहेको छ । त्यसैले भाइरस बाहिर आएका छन् । खासमा भाइरस मान्छे खोज्दै आएका होइनन्, मान्छेले नै खोजेर भाइरसलाई बाहिर ल्याएको हो ।

एक व्यक्तिबाट सुरु भएको कोरोना संक्रमणले हालसम्म विश्वका करोडौँ मानिसलाई संक्रमित बनाइसकेको छ । तर, अझै संक्रमण रोकिने अवस्था देखिएको छैन । भाइरस संक्रमणका विभिन्न चरण छन् । एकजनाबाट संक्रमण बढ्दै गएर लाखौँ संक्रमण गराइसकेपछि जनस्वास्थ्यका अनेकन नियन्त्रणका प्रयत्नले संक्रमण कम हुँदै जान्छ । पानीको छालजस्तै माथि उठेर तल झर्ने यसले संक्रमणको बक्ररेखा तयार पार्छ । त्यो अवधिलाई भाइरसको पहिलो चरण, फस्ट वेभ अर्थात् पहिलो लहर भनिन्छ ।

तर, यथास्थितिको बिन्दुमा केस पुगेपछि पुनः संक्रमण बढ्दै गएर चरम बिन्दुमा पुग्ने अवस्थालाई संक्रमणको दोस्रो लहर भनिन्छ । अहिले नेपाललगायत विश्वका धेरै देश पहिलो लहर सकिएर पुनः दोस्रो लहरमा प्रवेश गरेका छन् । भाइरसको संक्रमणले कुनै अवधिमा धेरै व्यक्तिलाई प्रभावित बनाउँछ । त्यो अवधिमा आमनागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, संक्रमित व्यक्ति पनि आइसोलेसनमा बस्ने हुँदा भाइरस फैलिन पाउँदैन र क्रमशः यो घट्दै जान्छ । तर, पूर्ण रूपमा संक्रमण नियन्त्रणमा आएको भने हुँदैन ।

यस अवधिमा मानिसको आवतजावत र स्वास्थ्य मापदण्डको ख्याल नगर्दा केही व्यक्तिमा भएको संक्रमण पुनः अरूमा फैलन थाल्छ र चरम बिन्दुमा पुग्छ । त्यसलाई दोस्रो छाल मानिन्छ । चीनमा पहिलो छाल वा फस्ट वेभ आएपछि त्यहाँ दोस्रो वेभ आएको छैन । उसले कडाइसाथ स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संक्रमण न्यूनीकरण गर्दै लगेको छ र पूर्ण रूपमा संक्रमणलाई नियन्त्रणमा राखेको छ । ताइवानले पनि चीनकै रूपमा कोरोना नियन्त्रण गर्दै लगेको छ । तर, भारतमा ६ महिनाअघि गत सेप्टेम्बरमा केस चरम बिन्दुमा पुगेको थियो ।

उक्त समय दैनिक एक लाखभन्दा कम नागरिक संक्रमित थिए । त्यसयता घटेको संक्रमण केस लामो समय स्थिर बिन्दुमा अडिन सकेन र पुनः संक्रमण आक्रामक रूपमा उक्लिँदै चरम बिन्दुतिर पुग्न लागेको छ । पछिल्लो समय सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा भारत पहिलो स्थानमा उक्लिएको छ र भारत हाल कोरोनाको हटस्पट भएको छ । दैनिक परीक्षणमा कोरोना संक्रमण दर १५ प्रतिशतमा पुगेको छ ।

नेपालमा कोरोना संक्रमण गत कात्तिकमा पहिलो छालको चरम बिन्दुमा थियो । एकैदिन साढे पाँच हजार संक्रमित पुगेका थिए, जुन दैनिक परीक्षणमा कोरोना संक्रमण दर ३० प्रतिशतमा पुगेको थियो । तर, त्यो अवस्था लामो समय रहन सकेन, क्रमशः घट्दै गएर पुनः चैतदेखि संक्रमण बढ्दै गएको छ । चैतअघि संक्रमण दर दुई प्रतिशतमा थियो भने अहिले बढ्दै गएर १४ प्रतिशतभन्दा माथि पुगिसकेको छ । यसले पनि नेपालमा कोरोनाको दोस्रो छाल क्रमिक रूपमा बढ्दै गएको स्पष्ट हुन्छ ।

विश्वभर महाव्याधिको रूप लिएको कोरोना कुन अवस्थामा पुग्छ र यसले कति मानिसलाई मृत्युको मुखमा पु¥याउँछ, अहिले नै पूर्वानुमान गर्न सकिँदैन । डेढ वर्षको अवधिमा विभिन्न प्रकारका छाल आइसकेका छन्, किनभने अझै पनि कोरोना पूर्ण नियन्त्रणमा आइसकेको छैन । कतिपय वैज्ञानिकले कोरोना सधैँभर रहिरहन्छ भनिरहेका छन् । कोरोनालाई पूर्ण रूपमा निर्मूल पार्न सकिएन भने वा पूर्ण रूपमा संक्रमणलाई नियन्त्रणमा नलिएसम्म यस्ता छाल नियमित आउने–जाने भइरहन सक्छ ।

कोरोना भाइरस सन् १९६० मै प्रकृतिमा देखिएको हो । यसका विभिन्न स्वरूप पछिल्लो समय मानिसमा देखिन थालेका छन् । सन् २००३ मा सार्स कोरोना भाइरस देखियो । त्यस्तै, सन् २०१२ मा मर्स कोरोना भाइरस देखियो भने सन् २०१९ मा आएर सार्स कोरोना भाइरस–२ भनेर चीनको वुहान सहरमा देखियो । चीनको वुहानमा देखिएको कोरोना भाइरस–२ को स्वरूप ‘एल’ भन्ने भेरियन्ट (प्रजाति) थिए ।

ती प्रजाति बिस्तारै–बिस्तारै ‘एस’, ‘भी’ र ‘जी’ भन्ने भेरियन्टको स्वरूपमा देखिए । तर, त्यो ‘जी’ भेरियन्टमा पनि आनुवंशिक उत्परिवर्तन भएर अहिले युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । भाइरसका विभिन्न खाले आनुवंशिक उत्परिवर्तन विश्वभर देखिएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको आनुवंशिक स्वरूप अर्थात् होल जिनोम सिक्वेन्सिङ गर्ने हो भने नेपालमा पनि कोरोना भाइरसका नयाँ स्वरूप देखा पर्न सक्छन् । भाइरसहरू बाँच्नका लागि प्रत्येक समय वा पल परिवर्तित भइरहेका छन् । नेपालमा कोरोनाको भेरियन्ट पत्ता लगाउनका लागि आवश्यक पर्ने प्रविधि भित्रिसकेको छैन । अहिले आरटी पिसिआर प्रविधिमार्फत कोरोना जाँच गरिन्छ । हालसालै जिनोम सिक्वेन्सिङ गरी नयाँ परिवर्तित स्वरूप पत्ता लगाउने उपकरण पनि आइसकेको छ । तर, त्यस्ता उपकरण दिनहुँ परीक्षणमा नभई अध्ययन अनुसन्धानमा मात्रै केही उपयोगमा आएको छ ।

नेपालमा युके भेरियन्ट छुट्याउन सक्ने अवस्था पनि छैन । स्पाइक प्रोटिनमा भएको म्युटेसनलाई एस जिनको आरटी पिसिआर गरेर हेरिन्छ । आरटी पिसिआर परीक्षणमा एस जिन नेगेटिभ आएको खण्डमा त्यसलाई युके भेरियन्ट भएको अनुमान गर्न सकिन्छ । तर, युके भेरियन्ट होहोइन भनेर दाबी गर्नका लागि विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रयोगशाला हङकङ पठाइन्छ र होल जिनोम सिक्वेन्सिङबाट मात्र युके भेरियन्ट वा अरू भेरियन्टहरू निक्र्योल गर्न सकिन्छ ।

भाइरसले आफ्नो स्वरूप परिवर्तन किन गर्छ ? यसरी परिवर्तन हुँदै जाँदा मानव जगत् र विज्ञानले यसको सामना कसरी गर्ला ? भन्ने प्रश्न ज्यादै महत्वपूर्ण छ । सूक्ष्म जीवाणु अर्थात् ब्याक्टेरिया, भाइरसहरू प्रकृतिमा लाखौँ वर्षदेखि छन् । जब पृथ्वी सेलाउँदै आयो, सूक्ष्म जीवाणुहरूले पनि आफूलाई त्यहीअनुकूल बनाउँदै लगे । यिनीहरू आफू बाँच्ने क्रममा आफ्नै स्वरूप परिवर्तन गर्दै जान्छन् । प्रकृतिमा बाँच्नकै लागि स्वरूप परिवर्तन गरिरहन्छन् । एउटा सूक्ष्म जीवाणुले अर्को सूक्ष्म जीवाणुलाई मार्ने अवस्था पनि हुन्छ ।

प्रकृतिमा बाँच्न र अरूले नमारून् भन्नका लागि तिनले आफ्नो स्वरूप परिवर्तन गर्छन् । कोरोना भाइरस सुरुमा जंगली जनावर बाँदर र चमेरोमा थियो । मानिस र जनावरबीचको प्रतिस्पर्धा भयो भने ती भाइरस प्रकृतिबाट मानिससम्म ‘स्पिल ओभर’ वा पोखिएर आइपुग्छन् । मानिसमा आइपुग्दा उनीहरू बाँच्न सक्ने भएर आउँछन् र मानिसलाई संक्रमण गराउँछन् । मानिसलाई संक्रमण गराइसकेको अवस्थामा ती भाइरसलाई मार्न कि खोप आवश्यक पर्छ, कि त भाइरस आफैँ कमजोर भएर प्रकृतिमा बाँच्न नसकेर सीमित हुन्छन् ।

सार्स कोरोना भाइरस–२ ले आफ्नो स्वरूप परिवर्तन गरेर बाँच्न खोजेको छ । यो मानव जीवनबाट हराउन खोजेको छैन । त्यसैले अहिले विज्ञानले कस्तो अवस्थामा हराउँछ भन्न सक्ने अवस्था छैन । विज्ञान र चिकित्साशास्त्रका लागि निकै ठूलो चुनौतीको विषय हो, यो । अझ पछिल्लो समय आनुवंशिक उत्परिवर्तित सार्स कोरोना भाइरस–२ का विभिन्न म्युटेन्टहरू खोपको प्रभावकारिताबाट बाँच्न सफल भई संक्रमण गराउन उन्मुख छन्, जुन विश्व र विज्ञानका लागि ठूलो चुनौती बनेको छ ।

पृथ्वीको सतहमा वा सतहमुनि आफ्नै शैलीमा बसिरहेका भाइरस क्रमशः बाहिर आइरहेका छन् । विकासमा नाममा हामीले पृथ्वी उत्खनन गरिरहेका छौँ, उद्योगको नाममा कार्बन उत्सर्जन गरिरहेका छौँ, त्यसले जलवायु परिवर्तन भइरहेको छ । त्यसैले भाइरस बाहिर आएका छन् । उनीहरू पनि बाँच्नकै लागि संघर्ष गरिरहेका छन् । त्यसको मूल्य मानव सभ्यताले तिर्नुपरेको छ । खासमा भाइरस मान्छे खोज्दै आएका होइनन्, मान्छेले नै खोजेर भाइरसलाई बाहिर ल्याएको हो ।

कोरोनाजस्तै प्राणघातक भाइरस करोडौँ छन् । यी भाइरस जंगली जनावर, समुद्रमा पाइने जनावरमा बाँचिरहेका छन् । लाखौँ वर्षदेखि पृथ्वीमा यस्ता भाइरसको विकास भएको हो । करिब एक लाख वर्षदेखि मानिस यहाँ बाँचिरहेका छन् । तर, पछिल्लो समयमा प्रकृति र जंगली जनावरसँग हामीले द्वन्द्व निम्त्यायौँ । प्रकृति मास्ने, जंगली जनावर मारेर खानेजस्ता काम बढ्दै गए । यसैको फलस्वरूप जनावरमा भएको भाइरस मानिसमा सरेको हो । आनुवंशिक परिवर्तनशील भएर भाइरस मानिसमा सरेको हुन्छ ।

यसरी मानिसमा सरेको भाइरस एकजनामा मात्रै सीमित भएर बस्दैन । उदाहरणका लागि एक सय वर्षअघिको स्पेनिस फ्लु काफी छ । अहिले देखिएको कोरोना भाइरस पनि त्यसको अर्को उदाहरण हो । यी दुवै भाइरस जंगली जनावरबाट मानिससम्म आइपुगेका हुन् । हामीले प्रकृति र जनावरलाई संरक्षण गर्दै मानिससँगको दुरी कायम गर्न सकेको खण्डमा मात्रै भाइरसको संक्रमणलाई कम गर्न सक्छौँ । विश्वका धेरै कम्पनीले कोरोना भाइरसलाई नियन्त्रण गर्न खोप बनाएर बजारमा ल्याएका छन् ।

कतिपय खोप आनुवंशिक आधारमा तयार भएका छन् । एमआरएनएको आधारमा तयार पारेको खोप मोडेर्ना र फाइजर हो । भारतको सिरमले बनाएको कोभिसिल्डमा सार्स कोरोना भाइरस–२ को जेनेटिक मेटेरियल राखिएको छ । त्यस्तै, चीनले बनाएको खोपमा कोरोना भाइरसलाई रसायनले निष्क्रिय पारेर बनाएको छ । यी प्रविधिका खोप विश्वभर प्रयोगमा आएका छन् र यिनै अहिलेसम्मका प्रभावशाली खोप हुन् । विभिन्न प्रकारका खोप विश्वबजारमा आपत्कालीन प्रयोगमा आएका छन् ।

यसको प्रभावकारिता हेर्दा अझै पनि ठूलो जमातमा खोप लगाएपछि संक्रमण हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । मोडेर्ना र फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि पाइएको छ । कोभिसिल्डको पहिलो डोज आठदेखि १२ हप्ताको बीचमा लगाएको खण्डमा यसको प्रभावकारिता ८० प्रतिशतको नजिक पुग्ने अध्ययनले देखाएका छन् । चीनले बनाएको सिनोफामको खोपको प्रभावकारिता ५० देखि ८० प्रतिशत रहेको पाइएको छ ।

खोप लगाउने व्यक्तिको स्वास्थ्यको अवस्थाले पनि प्रभावकारिता मापन गर्न सकिन्छ । त्यस्तै, कसरी खोप लगाइयो, लगाएको डोज पूरै शरीरमा प्रवेश ग¥यो कि गरेन र कति समयसम्म यसले काम गर्छ भन्नेमा यसको प्रभावकारिता जाँच गर्न सकिन्छ । हाल प्रयोगमा आएका खोपले कति समयसम्म मानिसलाई बचाउन सक्छ भन्ने निचोड निकाल्न भने सकिएको छैन । खोपको आफ्नो मापदण्ड हुन्छ । अहिले कोरोनाको खोप अधिकांश दुई डोज लगाउनुपर्ने छन् । हालै अमेरिकामा उत्पादन भएको जोनसोन एन जोनसोनको खोप भने एक डोज मात्रै लगाए पुग्ने बताइएको छ ।

खोपले कोरोना नियन्त्रण गर्ने विषय आफैँमा विवादास्पद छ । सबै खोपका आ–आफ्नै प्रभावकारिता छन् । कुनै खोपले ५० प्रतिशत सुरक्षित बनाउँछ भने कुनैले ८० प्रतिशत बनाउँछ । कतिपय मानिस खोप लगाएर पनि संक्रमित भएका छन् । त्यसैले खोप मात्र त्यस्तो कुनै रामवाण होइन । कोरोना नियन्त्रणको सबैभन्दा मुख्य पाटो खोपभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरियो कि गरिएन भन्ने हो ।कोरोना संक्रमण शून्यमा झारेपछि मात्रै क्रमशः संक्रमण हटेर जान्छ ।

उदाहरणका लागि कोरोना भाइरस जतिवेला वुहानमा देखियो, नितान्त नयाँ किसिमको भाइरस थियो । सन् २०१९ मा सुरु हुँदा विभिन्न किसिमका अड्कल गरिएको थियो । त्यस वेला अनुमान गर्दा श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको सूक्ष्म जीवाणु भएका कारणले गर्दा यसले जाडोमा मात्रै असर गर्छ कि भन्ने अध्ययन भएका थिए । तर, अहिले बुझ्दा यसले जाडो र गर्मी दुवै ठाउँमा उत्तिकै प्रभाव पारिरहेको छ । युरोपमा चिसो हुँदा पनि र साउथ एसियामा गर्मी हुँदा पनि यसले आफूलाई सक्रिय बनाएकै छ । यसबाट के बुझिन्छ भने यसले आफ्नो रूप परिवर्तन गरिरहेको छ ।

प्रतिक्रिया