रक्तचाप नाप्दा अपनाउनु पर्ने सावधानी

                                डा.ओममूर्ति अनिल

स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले समेत आफ्नो रक्तचापबारे नियमित जानकारी लिनुपर्छ । रक्तचाप नाप्न हरेकपटक स्वास्थ्य निकाय वा प्रशिक्षित स्वास्थ्यकर्मी नजिक जानु समय बर्बादीका साथै आर्थिक बोझसमेत बढ्छ । यसैले परिवारका केही सदस्यले रक्तचाप नाप्ने प्रक्रियाबारे वैज्ञानिक रूपले सिके परिवार मात्र नभई छरछिमेकका लागि समेत सहयोगी हुन्छ । बिरामीले स्वयं आफ्नो रक्तचापसमेत नाप्न सक्छन् भने मामुलीजस्तै देखिने प्रक्रियाले कसैको ज्यानसमेत जोगाउन सक्छन् ।

आजकल हरेक परिवारका कुनै न कुनै सदस्यलाई रक्तचापको समस्या देखिनु सामान्य नै बनेको छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप नाप्नु अत्यावश्यक हुन्छ । उच्च र सामान्य रक्तचाप कसलाई भन्ने त ? यस मामिलामा प्रष्ट हुन जरुरी छ । बढीमा १ सय २० र कममा ८० रक्तचाप हुनु राम्रो मानिन्छ । यस्तै प्रि–हाइपरटेन्सन भने १२०–१३९ एमएम मर्करी सिस्टोलिक र ८०–८९ एमएम मर्करी डायस्टोलिक भन्दा कमलाई मानिन्छ । उच्च रक्तचाप अर्थात् हाइपरटेन्सनको पहिलो चरण १४०–१५९ एमएम मर्करी सिस्टोलिक र ९०–९९ एमएम मर्करी डायस्टोलिकलाई मानिन्छ ।

हाइपरटेन्सनको दोस्रो चरण १६० एमएम मर्करी सिस्टोलिक र १०० एमएम मर्करी डायस्टोलिकभन्दा बढीलाई भनिन्छ । यी त भए रक्तचापको सामान्य वर्गीकरण । तर, रक्तचाप घरमै आफैँले नाप्ने कसरी भन्ने पनि अब समस्या रहेन । रक्तचाप नाप्न आजकल बजारमा गुणस्तरीय स्वचालित मेसिनसमेत पाइन्छन् । तर तपाईंले चिकित्सकसँग परामर्श गरेर मात्र यस्तो मेसिन किन्नुपर्छ ।

अझ तपाईंको रक्तचाप नाप्ने मेसिनलाई चिकित्सकको रक्तचाप नाप्ने मेसिनसँग तुलनासमेत गरेको हुनुपर्छ । घरमा नापेको रक्तचापको पहिलो नाप प्रायः बढी देखाउने भएकोले ५–५ मिनेटको फरकमा तीन पटक रक्तचाप नापेर औसत निकाल्नुपर्छ । रक्तचापका बिरामीहरूले हरेकपटक मुटु रोग विशेषज्ञसँग भेट्न जाँदा आफूले नियमित रूपमा नाप्दै गरेको रक्तचापको रेकर्डसमेत देखाउनुपर्छ । नियमित रूपमा रक्तचाप नाप्दा बिहान वा साँझ रक्तचापको औषधि खानुभन्दा अगाडि नाप्नुपर्छ ।

रक्तचाप नाप्दा ठीक तरिका अपनाउनुपर्छ । रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ । रक्तचाप नाप्दा मेचमा करिब पाँच मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन ।

रक्तचाप कति–कति दिनको फरकमा नाप्ने आदिबारे चिकित्सकसँग परामर्श गर्नुपर्छ । उसो त रक्तचाप नियन्त्रणमा आएपछि दुई–तीन सातामा एकपटक नाप्नु उपयुक्त हुन्छ । तर अझैसम्म कुन बिरामीले कति दिनको फरकमा रक्तचाप नाप्नेबारे कुनै पनि अनुसन्धानले स्पष्ट गरेको छैन । अध्ययन अनुभवका आधारमा म के भन्न चाहन्छु भने, रक्तचाप धेरै चाँडो–चाँडो नाप्दा अनावश्यक पीर पर्न सक्छ भने धेरै दिनको फरकमा नाप्दा रक्तचाप नियन्त्रणमा रहेको वा नरहेको थाहा नहुन सक्छ ।

चाँडै आत्तिने व्यक्तिलाई छिटो–छिटो रक्तचाप नाप्दा अनावश्यक चिन्ताका साथै झन् आत्तिनेसमेत हुन सक्छ । यही कारणले गर्दा एउटा निश्चित समयमा रक्तचाप नाप्नु आवश्यक हुन्छ । मेरो अनुभवअनुसार जुनसुकै स्वस्थ व्यक्तिले आफ्नै घरमा वर्षमा दुई पटक अर्थात् हरेक ६ महिनामा रक्तचाप नापेर आफ्नो स्थिति थाहा पाउनुपर्छ । तर प्रिहाइपरटेनसन अर्थात् उच्च रक्तचाप हुनुभन्दा पूर्व अवस्था भएकाहरूले हरेक तीन महिनामा आफ्नो रक्तचाप परीक्षण गर्नुपर्छ ।

बोर्डरलाई हाइपरटेन्सन हुनेले हरेक महिना र रक्तचाप नियन्त्रणमा भएकोले हरेक १५ दिनमा एकपटक रक्तचाप जाँच्नुपर्छ । तर यदि तपाईंको रक्तचाप नियन्त्रणमा छैन भने हरेक सात दिनमा एकपटक रक्तचाप नाप्नुपर्छ । तपाईंले यदि उच्च रक्तचाप पहिलो पटक थाहा पाएर चिकित्सकीय सल्लाहअनुसार औषधि खान सुरु गर्नुभएको छ भने हरेक दुईदेखि तीन दिनमा एकपटक रक्तचाप जाँच्न नबिर्सनु । जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रक्तचाप नाप्दा यसको परिणाम सही नहुन पनि सक्छ ।

यसैले रक्तचाप नाप्दा ठिक तरिका अपनाउनुपर्छ । रक्तचाप नाप्नुभन्दा करिब आधा घण्टा पहिलेदेखि सुर्ती, चिया, खाना आदि खाएको हुनु हुँदैन । रक्तचाप नाप्दा एक खुट्टा अर्को माथि (उपरखुट्टी) राख्नु हुँदैन । लुगा माथिबाट रक्तचाप नाप्नु हुँदैन भने हिँडडुल र व्यायाम गरेलगत्तै रक्तचाप नाप्नु हुँदैन । यस्तै रक्तचाप नाप्ने कोठाको वातावरण शान्त हुनुको साथै तापक्रम आरामदायी हुनुपर्छ ।

रक्तचाप नाप्दा मेचमा करिब ५ मिनेट विश्राम गरेपछि नाप्नुपर्छ भने, नाप्ने बेलामा बिरामीसँगै नाप्ने व्यक्तिसमेत बोल्नु हुँदैन । रक्तचाप नाप्ने यन्त्रको फिता मुटुको उचाइमा राख्नुपर्छ । रक्तचाप नाप्ने हातलाई टेबलमा राख्नुपर्छ । यस्ते रक्तचाप नाप्दा हल्लिनु हुँदैन श्वाससमेत स्वाभाविक रूपमा विस्तारैलिनुपर्छ । पहिलो पटक दुवै हातमा र त्यसपछि रक्तचाप बढी भएकोहातमा नाप्नुपर्छ ।

प्रतिक्रिया