करसम्बन्धी सडकनाटक

काठमाडौं । करसम्बन्धी जनचेतना जगाउने लक्ष्य राखेर काठमाडौं महानगरपालिकाले ‘आनासुकी घरबेटी बा’ शीर्षकमा सडकनाटक गर्ने भएको छ । करदाता शिक्षा बढाउनले उद्देश्य राखेर कामपा राजश्व विभागले सुर्पेटो मिडियासँगको सहकार्यमा नाटक प्रदर्शन गर्न लागेको हो । विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार कर तिर्नु नागरिक दायित्व हो भनेर करदातालाई सचेत गराउन पहिलो चरणमा महानगरका १० स्थान सडकनाटक प्रदर्शन गर्न लागिएको हो ।

सुमा हनुमानढोका, कालभैरव पछाडिको डबली, कालीमाटी, कलंकी, चावहिल, गौशाला, नयाँ बानेश्वर लगायतका विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ । विभागले कोरोना महामारीको समयमा दबाब दिएरभन्दा दायित्वबोध गराएर राजश्व असुली गर्नका लागि यस किसिमको अभियान सुरु गरिएको जनाएको छ । नाटक करिब २० मिनेटको हुनेछ ।

घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले कामपालाई कर नतिरेका कारण आफैँ कानूनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । कर केही समय छल्न सकिन्छ तर कुनै न कुनै दिन कानूनको फन्दामा परिन्छ । कानूनी कारवाहीमा पर्ने त्यो समय आउनुअघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो । कृष्णजीत राईले लेखेको नाटक रीता थापाले निर्देशन गरेकी हुन् ।

नाटकमा सुरज विष्ट लोभी घरबेटी बा, जीवन थापा असल छिमेकी, मञ्जु गिरी वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिकामा अभिनय गरेका छन् । कामपाले चालु आर्थिक वर्षमा व्यवसाय करमा २० र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको छ । भाडावाललाई कोभिडका समयमा एक महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा पनि छुट दिएको छ ।

कामपाले गत असोज १ देखि १० वटा वडाबाट राजश्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमा समेत लगेको छ । आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयवासीले महानगरको सुशासनमा विश्वास बढ्ने भन्दै अहिले कामपाले ३२ वटै वडामा अनलाइनको माध्यमबाट कर असुली गरिरहेको छ । यस प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने विश्वास कामपाको रहेको छ ।

प्रतिक्रिया