रमाएर बाँच्ने वैज्ञानिक सूत्रहरू

                 मिलन आफन्त

वर्तमान संसारमा मानिसहरू तनाव र व्यस्त जीवन बिताइरहेका छन् । नाम र दाम कमाउने होडमा मानिस तल्लीन छन् । त्यसैले मानिसलाई रमाएर बाँच्न कठिन भइरहेको छ । यस्तो परिस्थितिमा मानिसहरू रमाउन सकून्, खुसी रहन सकून भन्ने उद्देश्यले विभिन्न सूत्रहरू प्रस्तुत छन् ।
मनोरञ्जनः मनोरञ्जनले मानिसको आन्तरिक योग्यता तथा शक्ति व्यक्त हुने अवसर प्राप्त हुन्छ । मानिसलाई कहिल्यै पनि उसको अवगुण हेरेर दुःख दिनु हुँदैन । जसले गर्दा उसको मन प्रसन्न हुन सक्दैन । बरु मानिसलाई उसको गुणको चर्चा गरेर प्रसन्न पार्नु पर्दछ । यस्तै मनोरञ्जनले पनि मानिसमा आनन्द आउने गर्दछ र ऊ रमाएर बाँच्न सक्दछ ।

नम्र व्यवहार : मानिसहरूले एकआपसमा मधुर एवं प्रेमपूर्ण व्यवहार गर्नुपर्दछ, यसैलाई नम्र व्यवहार भनिन्छ । नम्र व्यवहारले मानिसहरूबीच सामिप्यता बढाउँछ र रमाएर बाँच्न सिकाउँछ । हामीले मानिसहरूलाई होच्याएर बोल्नु हुँदैन । हामीले आफ्नो नम्र व्यवहारले मानिसमा निराश र थकानको सट्टा आशा तथा उत्साह, शंकाको स्थानमा आत्मविश्वास र भयको बदलामा साहस तथा स्वतन्त्रताको वीजारोपण गर्नुपर्दछ तब मात्र मानिसले सोचेको प्रगति गर्न सक्दछ र सभ्य एवं भव्य समाजको निर्माण हुन्छ ।

प्रोत्साहन : जब मानिसले कुनै राम्रो तथा प्रशंसनीय काम गर्दछ, तब त्यस्ता व्यक्तिको खुलेर सराहना हुन्छ । निरुत्साहित गर्ने बानीले मानिसलाई साहासहीन र डरपोक बनाउँछ । प्रोत्साहनले मानिसमा नयाँ ऊर्जा प्रदान गर्दछ र मानिस रमाएर बाँच्न सक्दछ । क्रोध, आलोचना र चित्कारले मानिसको हृदयमा कहिल्यै पनि असल र सद्विचार उत्पन्न गर्न सक्दैन ।

आदर्शजीवन : हामी त्यही बन्दछौँ, जे बन्ने हाम्रो हृदयमा इच्छा लुकेको हुन्छ । यदि हामी उच्च, महान तथा सुयोग्य बन्ने इच्छा गर्दछौँ र यथाशक्ति त्यसका लागि सचेत रहन्छौँ भने हाम्रो स्थितिमा उन्नति असम्भव छैन । एकपटकको जीवन हामीले आदर्श व्यक्ति बनेर जीउनु पर्दछ । समाजमा राम्रो काम गरेर सबैको उदाहरण बन्नु पर्दछ । यस विश्वमा कोही राजनीतिज्ञ, कोही कलाकार, कोही लेखक, कोही वैज्ञानिक बनेर आफ्नो आदर्श जीवन विताइरहेका छन् । उच्च आदर्श जीवनलाई सबैले सम्मान गर्दछन् । सम्मानले जीवनलाई खुसी पार्दछ र रमाएर बाँच्न सिकाउँछ ।

विनम्रता : विनम्र व्यक्तिलाई सबैले मनपराउँछन् । विनम्र व्यक्तिलाई जति दुःख दिऔँ वा जति दोष निकालौँ तर ऊ सदैव प्रसन्न रहन्छ । उसलाई क्रोध उत्पन्न हुँदैन । विनम्रताले भरिपूर्ण व्यक्तिको सबैले संगत गर्न चाहान्छन् । सन्की, निराशावादी मानिसलाई जीवनमा थोरै मात्र सुख प्राप्त हुन्छ । विनम्र मानिस सदैव स्वस्थ्य रहन्छ । यस्ता व्यक्ति अरूको प्रिय पनि बन्दछ । सधैँ विनम्र भावले मुस्कुराइरहने व्यक्तिले अरूको जीवनमा पनि सुःख र शान्ति ल्याउन सक्दछ । विनम्रता मानिसको जीवनको सबैभन्दा ठूलो खुराक हो । विनम्र भावको व्यक्ति मात्रै खुसीका साथ रमाएर बाँच्न सक्दछ ।

सफलताको रहस्य : संसारको दृष्टिमा केही बन्नका लागि दृढ संकल्पका साथ कार्य आरम्भ गर्नुपर्दछ । हामीले यस्तो काम गर्नुपर्दछ, जसलाई गर्नाले हामीलाई आनन्द लाग्दछ, हाम्रो सामथ्र्य एवं योग्यताको प्रगति हुन्छ । यो नै सफलताको रहस्य पनि हो । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैँ आफूले अत्यन्तै सफलताले भरीपूर्ण काम गरेर संसारमा उदाहरणीय बन्नु पर्दछ । तब मात्र हाम्रो जीवन सफल हुन्छ र सबैको उदाहरणको पात्र हुन सक्दछौँ र हाम्रो सफलताको रहस्यलाई सबैले अनुशरण गर्छन् ।

नियमको पालन : विद्यार्थीले यदि गणितको नियमअनुसार प्रश्नको हल गर्दैन भने उसलाई सही उत्तर पाउने आशा हुँदैन । तर, असत्य मानिस यस्ता भेटिन्छन् जसले दिनरात तन्दुरुस्तीको नियमलाई तोड्दछन्, प्राकृतिक नियमको उल्लंघन गर्दछन् र फेरी तन्दुरुस्तीको पनि आशा राख्दछन् । तर, यसो हुन सक्दैन । तसर्थ मानवजीवनको नियम पालनको अत्यन्त आवश्यक छ । मानवको प्रत्येक विचार मस्तिष्कको रेकर्डमा रहन्छ, प्रत्येक इच्छा अंकित हुन जान्छ । हामीले हाम्रो स्वास्थ्यलाई ठीक राख्नु पर्दछ । अध्ययन र प्रेक्षण पश्चात हामीले सर्वश्रेष्ठ व्यवहार गर्नु पर्दछ र निर्भीक भएर स्वास्थ्यको बारेमा कुरा गरौँ तन्दुरुस्तीको आदर्शलाई सर्वथा आफ्नो सामुन्ने राखौँ । ठीक त्यसै प्रकार, जस्तो कानुनको विद्यार्थीलाई प्रत्येक समयमा कानुनको चिन्ता रहन्छ । नियम पालनले नै तपाईं सफल तथा विजयी हुनुहुनेछ र तपाईंको वरिपरि खुसीको फूल फुल्नेछ ।

सादाजीवन : मानव जीवनमा सादा जीवनले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जुन मानिसले शरीरलाई बैभवशाली बनाउँछ, त्यसलाई कहिल्यै विश्राम गर्न दिँदैन उसको जीवन कठिन हुन्छ । सरल जीवन अब मिल्नै मुस्किल छ । जबकी हामीले साधारण जीवन व्यतित गर्नुपर्दछ । आफ्नो रहनसहनलाई बदल्नु पर्दछ, आफ्नो जीवनस्तरमा परिवर्तन गर्नुपर्दछ । ‘सादा जीवन उच्च विचार’को मूलमन्त्रलाई मानिसले अपनाउनु पर्दछ ।

लोकप्रिय बन्ने कला : हामी सबैको प्यारो हुन सक्नुपर्दछ । लोकप्रिय बन्न आफ्ना राम्रा गुणले अन्य मानिसको ध्यान आकृष्ट गर्नुपर्दछ । राम्रो गुण र प्रतिभाको प्रफुस्टन गर्न सकेमा मानिस लोकप्रिय बन्दै जान्छ । हामीले आफ्नो अवगुणलाई बिस्तारै हटाउँदै जानुपर्दछ । मिठो बोली, सकारात्मक सोचले मानिस लोकप्रिय बन्ने कुरामा कुनै शंका छैन । मानिस लोकप्रिय भए मात्र जीवनमा खुसीको क्षण भित्रिन सक्दछ र रमाएर बाँच्न सकिन्छ । लोकप्रिय बन्नको लागि तपाईंले दोस्रोको नाम याद राख्ने आदत बसाल्नुहोस् ।

यदि तपाइँले नाम ख्याल राख्नु हुन्न भने उनले सोच्नेछन् कि तपाइँले उनीप्रति रुचि लिनुभएको छैन । कुनै पनि व्यक्तिको नाम उनको लागि ज्यादै महत्वपूर्ण हुन्छ । अहंकारी नबन्नुहोस् । यस्तो संकेत नदिनुहोस तपाईंले सबै कुरा जान्नुहुन्छ । स्वभाविक बन्नुहोस र विनम्र रहनुहोस् । रोचक बन्ने गुण विकसित गर्नुहोस् । घृणा र सिकायतलाई आफ्नो मनबाट निकालिदिनुहोस । मानिसप्रति रुचि राख्ने कोशिस गर्नुहोस ।

प्रतिक्रिया