पत्रकारमाथि भएका कुटपिट र दुर्वयवहारप्रति युनियनको निन्दा

काठमाडौं । काठमाडौं र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुर्वयवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको सुरुवातकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका क्रममा सडकमा दौडिरहेका सेनाका जवानको दृश्य खिचेका नाममा पत्रकार पवन पौडेलको क्यामेरा खोसेर दृश्य हटाउनाका साथै दुर्वयवहार गरेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।

युनियनले आज विज्ञप्ति जारी गरी भारतीय दूतावास परिसरमा समाचार संकलनका क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुर्वयवहार गरेको प्रति पनि आपत्ति जनाएको छ ।

‘नो अब्जेक्सन लेटर’ लिन भारतीय दूतावास अगाडि जम्मा भएकामाथि प्रहरीले गरेको हस्तक्षेपको घटनाको समाचार संकलन गर्ने क्रममा पत्रकार दाहाललाई प्रहरी नायब उपरीक्षक दीपक खड्काको नेतृत्वमा रहेका प्रहरी जवानले भिडियो र फोटो खिचेको भन्दै लछारपछार पारेको घटनाप्रति युनियनले निन्दा गरेको हो ।

‘राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको संवेदनशीलता नेपाली प्रेसले राम्रोसँग बुझेको छ, तर पटकपटक सुरक्षा निकायका तर्फबाट रिपोर्टिङका क्रममा खटिएका सञ्चारकर्मीमाथि दुव्यवहार तथा हातपात हुनु अशोभनीय मात्र हैन निन्दनीय विषय हो’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया