लकडाउन नगर्न व्यवसायीको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले लकडाउन नगर्न सरकारसंग माग गरेको छ । नेपाल चेम्बर अफ कमर्शको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यवसायीले त्यस्तो माग गरेका हुन । छलफलमा उनीहरुले कोभिड नियन्त्रणका लागि लकडाउनको विकल्प नखोज्न भनेको हुन ।

छलफलमा संघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताए ।

अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको निजी क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझाव दिएको बताउँदै पहिलेको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर संचालनमा ल्याउनुपर्ने बताए ।

मोरले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिनुपर्ने बताउँदै उद्योगका कामदारलाई आवश्यक खोप खरीदको व्यवस्था गर्न माग गरे । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले परिसंघसँगको सहकार्यलाई निरन्तरता दिने बताउँदै आगामी दिनमा समेत संयुक्त एजेण्डा बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

उनले थाहै नभइ मूल्यवृद्धि हुने गरेको बताउँदै सेयर ब्रोकरको जस्तै जग्गा कारोबारमा लाइसेन्स दिनुपर्नेमा जोड दिए । छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएको बताए । चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आमनागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउनुपर्ने बताए ।

प्रतिक्रिया