सरकारको चरम लापरबाही

यतिबेला छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको वृद्धि दैनिक पौने दुई लाख जनाको हाराहारीमा छ । सत्तारूढ पार्टी भाजपासँग आवद्ध संस्थाहरूले हालै हरिद्वारमा करोडौं मान्छे उतारेर कुम्भ मेला आयोजना गरेका कारण भारतमा एक्कासी यतिविधि संक्रमण फैलिएको अनुमान विज्ञहरूले गरेका छन् । हरिद्वारामा आयोजित कुम्भ मेलामा भारतका मात्रै नभएर नेपालबाट ठूलो संख्यामा सहभागिता थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाइएको उक्त मेलामा नेपालका कुनाकाप्चाबाट राजावादीहरूको ठूलै जत्था पुगेको थियो । उक्त मेलाका कारण भारतमा त कोरोनाको ड“डेलो सल्किसकेको छ, नेपालमा पनि प्रत्यक्ष असर देखिन थालेको छ । कुम्भ मेलामा सहभागीमध्ये पूर्व राजा शाह त आफ्नै निवासमा आइसोलेसनमा बस्लान् तर सर्वसाधारण भने आफ्नै गाउँघर फर्केर समुदायमा घुलमिल हुने खतरा बढेको छ । यो खतरालाई रोक्न सरकारले के कस्तो कदम चाल्दैछ ? भन्ने कुरा बाहिर आउन सकेको छैन ।

यस सन्दर्भमा स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले मन्त्रिपरिषद्मा कुरा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यादै हल्का रूपमा लिएको समाचार आएको छ । यसैगरी भारतमा मजदुरी गर्न गएका लाखौँ नेपालीहरू ताँती लागेर स्वदेश फर्किरहेका छन् । उनीहरूलाई विगत जत्तिको पनि क्वारेन्टाइन, चेक जाँच तथा अनुगमनको व्यवस्था गरिएको छैन ।

ह्वारह्वार्ती गाउँघरतिर प्रवेश गरिरहेका छन् । ज्यादै द्रुतगतिमा कोरोना फैलिएको भारतसँग विश्वका सबै मुलुकहरूले हवाई सम्पर्क विच्छिेद गरिसकेका छन्, तर नेपाल र भारतबीच हवाई तथा स्थलगत यातायात सुचारु छ । विदेश जाने भारतीयहरू पनि नेपालमा आएर केही दिन काठमाडौं बस्ने र नेपालको हवाइरुट प्रयोग गरी तेस्रो मुलुकमा जाने लहर नै चलेको छ ।

नेपाल र भारतबीच खुला सिमाना छ । भारतले नचाहँदासम्म खुला सिमाना तत्काल बन्द गर्न सकिने अवस्था छैन । तर, तत्काल सीमा नियन्त्रण गर्न भारतले चाहेको छैन कि ? भन्ने सन्देह पछिल्ला घटनाले गराएको छ । तेस्रो मुलुक जान चाहने भारतीयहरूलाई काठमाडौंको हवाई रुट प्रयोग गर्न भारतले प्रोत्साहन गरिरहेको अनुमान लैनचौरमा यतिबेला देखिने भिडले प्रभाणित गरेको छ । तेस्रो मुलुक जान नेपाल छिरेका भारतीयहरू यतिबेला नेपालस्थित आफ्नो दूतावास लैनचौरमा खचाखच छन् ।

भारतीय दूतावास अगाडिको सडक कुम्भ मेलाजस्तो बनेको छ । त्यहाँ रिर्पोटिङ गर्न गएका पत्रकारलाई समेत नेपाल प्रहरीले लाठी प्रहार गरेर लखेटिरहेको समाचारसमेत आएको छ । आफ्नो मुलुकमा त भारतले कोरोना नियन्त्रण गर्न सकेन सकेन, नेपालले गर्दै आएको प्रयासलाई पनि भारतले तुहाउन खोजेको देखिन्छ । यस्तो अवस्थामा कम्तिमा पनि मिडियाले समाचार संकलन तथा संप्रेषण गर्न पाए भने भारतको हर्कत विश्वसामु उजागर हुने थियो, तर नेपाल सरकारले किन प्रहरी लगाएर लैनचौरबाट पत्रकार खेदिरहेको छ ? यो प्रश्न कम गम्भीर छैन ।

परीक्षण गरिएका मध्ये १० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण भेटियो भने खतराको सूची पार गरेको मानिन्छ । पछिल्ला केही दिनमा नेपालमा पनि संक्रमणले खतराको सूची पार गरिसकेको छ । अस्पताल भरिएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले सार्वजनिक रूपमै भनेका छन्, ‘यही अवस्था जारी रह्यो भने ०७७ सालको एक वर्षमा नेपालमा जति जना संक्रमित भएका थिए, त्यति जना ०७८ सालको वैशाख महिनामा मात्रै संक्रमित हुनेछन् ।

तर, प्रधानमन्त्री ओली अहिले पनि अम्बा (बेलौती) को पात चपाएर कोरोना भगाउने कुरा गर्दैछन् । प्रधानमन्त्री ओली स्वयं माक्स नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । प्रधानमन्त्री ओलीकै पार्टीले सबैभन्दा धेरै भिडभाड गरिरहेको छ । भौतिक दुरी कायम राख्ने मामिलामा सरकार चुकेको छ । विद्यालयका बालबालिका सबैभन्दा बढी जोखिममा छन् । सहरी क्षेत्रका विद्यालयलाई पुनः अनलाइनमार्फत पढाउनुपर्ने विज्ञहरूको सुझावलाई सरकारले वास्ता गरेको छैन । सरकारको यो गैरजिम्मेवारी रबैया भत्र्सनायोग्य छ ।

प्रतिक्रिया