खोजखबर

प्युठान जीप दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो

वासुदेव गिरी २०७८ वैशाख १ गते १६:११ मा प्रकाशित

प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरु सवार जीप प्यूठानको स्वर्गद्वारी नजिकै आज बिहान भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ । स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको हो ।

उक्त घटनामा स्याङजा स्थायी घर भइ जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी रहेका छन् ।

गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक (सई) बुद्धिप्रसाद रानाले जानकारी दिए । गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु १ च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रूमालेमा दुर्घटना भएको थियो ।

जीपले बसलाई ओभरटेक गर्न खोज्दा सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भइ जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् ।

त्यस्तै, अन्य घाइते हुनेमा २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, उनकी ४ वर्षीया छोरी निकिता पौडेल, ३० वर्षीया गीता मुखिया र उनका १२ वर्षीय छोरा अनिस मुखिया, २४ वर्षीयातारा भण्डारी बोहरा, उनका ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली र २५ वर्षीया मुना पाण्डे रहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय