नयाँ वर्षमा प्रविधिमैत्री ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । पश्चिमाञ्चल होटल संघ पोखराले नयाँ वर्षको अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्ने भएको छ ।

कोभिड– १९ को संक्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

संघले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्षमा ‘जाउँ है पोखरा’ भन्ने दुई दिवसीय डजिटलमैत्री अभियान सञ्चालन गरेको उनले जानकारी दिए । यो अभियान ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध एक करोड ६० लाख ग्राहकसम्म पुग्ने विश्वास लिइएको छ ।

नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न संघले नयाँ वर्षको अवसरमा २०७७ चैत ३१ गते र नयाँ वर्ष वैशाख १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा ४० प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने उनले बताए ।

नयाँ वर्षको अवसरमा पोखरास्थित होटल प्रतिष्ठानले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेज सार्वजनिक गरेको र ती बाटसमेत लाभ लिन पश्चिमाञ्चल होटेल संघले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया