जनताको पसिनामा पालिएकाहरू

                             डा. डिआर उपाध्याय

अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौँ । यो व्यवस्था ल्याउन धेरैले ठूलो त्याग, तपस्या र बलिदानी दिनुपरेको थियो । यो व्यवस्था आइसकेपछि देशमा विकास र समृद्धि हुन्छ भन्ने आमजनतामा अपेक्षा थियो । तैपनि अहिलेसम्म जनताको अपेक्षा पूरा हुन सकेको छैन । आज कम्युनिस्टहरू जसरी साम्यवादीका कुरा गर्छन्, ती सबै झुटका कुरा मात्र हुन् । देश, काल, परिस्थिति अझै त्यस्तो बनिसकेको छैन । कम्युनिस्टहरूले चर्को कुरा गरेर मात्र देशमा साम्यवाद आउन सक्दैन । साम्यवाद ल्याउन सबैभन्दा पहिला कम्युनिस्टका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ ।

नेताहरूले व्यक्तिगत स्वार्थ नत्यागेसम्म कसरी देशमा समाजवाद हुँदै साम्यवाद आउँछ ? झुटको राजनीतिले मुलुकलाई अघि बढाउन सकिँदैन । जनताको पसिनामा पालिएकाहरूले नै जनताको कुनै वास्ता गर्दैनन् । यो नै जनताको असन्तुष्टि हो । हामीले पनि विश्वको इतिहास हेरेका छौँ र पढेका पनि छौँ । पहिला समाजवाद आउनुपर्छ त्यसपछि मात्र साम्यवादको कुरा आउँछ । कुरो गरेर मात्र साम्यवाद आउन सक्दैन । समाजवाद ल्याउनका लागि सबैभन्दा पहिला देशमा भइरहेको शोषणको अन्त्य हुनु जरुरी छ ।

सबैलाई सहरमा बस्ने रहर छ । आज धेरैजसो ग्रामीण भेगतिरको कुरा गर्ने हो भने छोरो खाडी मुलुकतिर बुहारी नातीनातीना बोकेर उनीहरूलाई पढाउने निहुँमा सहर पसेका छन् । बाँकी वृद्ध बुबाआमा मात्रै गाउँमै, यो छ देशको अवस्था । धेरैका खेतवारी बाँझा छन् । सबैलाई सुखसयल चाहिएको छ । आफनो देशमा उत्पादन कम भएकोले नै महँगी बढेको हो ।

गरिब र धनी बीचको खाडल पुरिन जरुरी छ । यहाँ त धनी झन् पछि झन् धनी बन्दै जाने गरिब जहाँको त्यही रहने अवस्थाले संकट निम्त्याएको छ । गरिब र धनी बराबर हुने बातावरण मिलाउनुपरेको छ । त्यसपछि मात्र समाजवादीका कुरा गर्ने हो । शोषित पीडित जनता अझै पनि मर्कामा छन् । उत्पादनमा वृद्धि गरेर न्यायोचित वितरणमा जोड दिने कार्य समाजवादमा गरिन्छ । देश समृद्धिको दिशामा अभिमुख हुँदा मात्र समाजवादलाई सुदृढ गर्न सकिन्छ र यो आफैँमा समृद्धिको दिशातर्फ उन्मुख हुन्छ ।

पूर्ण पुँजीवादी, क्षेत्रीय पुँजीवादी र समाजवादी गरी तीन प्रकारका अर्थ व्यवस्था आधुनिक विश्वले अवलम्बन गर्दै आएका छन् । समाजवादमा उत्पादनका साधनमा सामूहिक स्वामित्व र नियन्त्रण कायम हुन्छ । सर्वसत्तावादलाई समूल समाप्त गर्दै उदार समाजवादका आदर्शलाई ग्रहण गरिन्छ । मजदुरलाई पूर्ण स्वतन्त्रता प्रदान गरी उनीहरूको अधिकारको प्रत्याभूत गरिन्छ ।

साम्यवादमा स्वतन्त्रता र नागरिक अधिकारको कल्पना गरिँदैन । पुँजीवादलाई निरपेक्ष रूपमा अस्वीकार गर्छ । बुर्जुवाका हातबाट आर्थिक उत्पादनका साधन खोसी पूर्णरूपमा राज्यबाटै नियन्त्रण गरिन्छ । फ्रान्सेली क्रान्ति र कार्लमाक्र्सको साम्यवादी घोषणापत्र नै यसको आधार हो । समृद्ध नेपाल निर्माणका लागि समाजवादको इमानदारीका साथ कार्यान्वयन हुनु जरुरी छ ।

तर, समाजवादको यात्रा नेपालका लागि त्यति सहज छैन । नेपालमा समाजवादको यात्रा कठिन बन्दै गएको छ । समाजलाई गन्तव्यमा पुर्याउन समाजले आफ्नो सामाजिक व्यवहार र शैलीमा परिवर्तन गर्नु अत्यावश्यक छ । संसद्को करिव दुईतिहाइ समर्थन प्राप्त गरेको सरकार दलभित्रको आन्तरिक विवाद मिलाउन नसकेर संकटमा फस्दै गएको छ । नेपाललाई विश्वभर कृषिप्रधान देश भनेर चिनाइएको छ तर नेपालमा उर्वरभूमि अझै पनि बाँझै रहने प्रवृत्ति बढ्दै छ । कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अब सरकारले विदेश पलायन भइरहेका युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउन जरुरी छ । कृषि उत्पादन गर्ने किसानले भन्दा बिचौलियाले फाइदा लिएका छन् । वास्तविक किसानलाई सरकारले हेर्नुपर्छ । किसानहरूको मिहिनेत खेर जान दिनु हुँदैन । प्राकृतिक स्रोत–साधनमाथिको अधिकारका सम्बन्धमा संघीय र अन्य सरकारबीचको विवाद चर्कंदो छ । बजार मूल्य र मजदुरले प्राप्त गर्ने पारिश्रमिकको समायोजन उपयुक्त प्रकारले गर्न नसक्दा बजार अर्थतन्त्र हाबी भएको छ, जुन समाजवादका लागि अनुकूल होइन ।

देशमा भ्रष्टाचार संस्थागत भइरहेको छ । नीतिगत भ्रष्टाचारबाट देश आक्रान्त छ । मुख्य समस्या भनेकै शासकको मानसिकता समाजवादी छैन । समाजवादका सम्बन्धमा दुवै ठूला राजनीतिक शक्तिहरू प्रतिबद्ध देखिएका छैनन् । शासन र सत्ताको चरित्रमै गम्भीर प्रश्न उठेको छ । समाजवादका लागि आवश्यक आधारशिला तयार हुनुपर्छ । यसतर्फ राज्यको ध्यान जान सकेको छैन ।

कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठ्न सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागिर गुमाए । निजी कम्पनीमा काम गर्ने कामदारहरूको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरू मर्कामा परेका छन् । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरूलाई बाँच्न धौ धौ छ । महँगीले धेरै मान्छेलाई तनाव बनाएको छ ।

महंगीले श्रमजीवी वर्ग सहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौँतारिरहेका छन् । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान के खाने भन्ने समस्यामा श्रमजीवी वर्ग छन् । आज देशमा बजारभाउ छोइ सक्नु छैन । सबैजसो चिजले आकास छोएको छ । तरकारीको मूल्य अकासिएको छ । भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु लगायतको मूल्य निकै बढेको छ । खाना पकाउने ग्यासको पनि मूल्य उच्च परिमाणमा बढेको छ ।

समग्रमा भन्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको नै हो । पेट्रोल र डिजेलको मूल्य पटकपटक बढाइएको छ । अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ताको ढाँड सेकिएको अवस्था छ । धेरैले आफनो खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । मूल्यवृद्धिले धेरैलाई उठिवास लगाएको छ । यसै पनि अधिकांश मान्छेहरूको कोरोनाका कारण आयस्रोत कम हुँदै गएको छ । कतिपय कार्यालयले आफना कामदाहरूलाई अझै पनि आधा तलबमा काम गराइरहेका छन् ।

कतिपय कार्यालयले काममा बोलाउन सकेका छैनन् । उपभोक्ताको दैनिकीसँग जोडिएका वस्तुमा यसरी मनपरी मूल्य बढनु राम्रो मानिँदैन । अकासिँदो मूल्यवृद्धि हुँदा पनि सरोकारवाला निकाय किन मौन छ ? मूल्यवृद्धि जनताको समस्या बनेर खडा भएको छ । सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायले यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ । खासमा महँगीले धनीवर्गलाई खासै छोएको छैन । निम्न आय भएका वर्गलाई नै प्रत्यक्ष प्रभाव पारेको छ । सबैभन्दा बढी समस्यामा यो वर्ग परेको छ ।

यस्तै संकटका बेलामा नै हो सरकारले हेर्ने भनेको । अब सरकार उपभोक्ताको भान्सालाई कसरी सहज पार्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनुपर्छ । बजारमा बिक्री हुने हरेक सामानको निश्चित भाउ तोक्ने र त्यसको मूल्यसूची सबैले थाहा पाउने गरी टाँस्ने व्यवस्था मिलाउनुपर्छ । आज जुन ढंगले महँगी बढिरहेको छ, त्यसले धेरै मानिसलाई समस्यामा पारेको छ । धेरैजसो मानिसको अहिले आयस्रोतभन्दा खर्च बढेको छ । यो समस्या सहरमा बढी छ । घरको कोठा भाडाले नै धेरैको ढाड सेकाएको छ ।

कमाएको पैसा जति घर भाडामा जान्छ । थोरै आम्दानी हुनेको यो पीडा छ । सानोतिनो कमाइले सहरमा टिक्न नसक्ने अवस्था छ । सबैलाई सहरमा बस्ने रहर छ । आज धेरैजसो ग्रामीण भेगतिरको कुरा गर्ने हो भने छोरो खाडी मुलुकतिर बुहारी नातीनातीना बोकेर उनीहरूलाई पढाउने निहुँमा सहर पसेका छन् । बाँकी बृद्ध बुबाआमा मात्रै गाउँमै, यो छ देशको अवस्था ।

धेरैका खेतवारी बाँझा छन् । सबैलाई सुखसयल चाहिएको छ । आफनो देशमा उत्पादन कम भएकोले नै महँगी बढेको हो । त्यसैले अब हामी सबै उत्पादनमा लागौँ । अबको आर्थिक क्रान्ति भनेको जतिसक्यो उत्पादन बढाउने हो । खेतबारी अब कसैका पनि बाँझा रहन दिनु हुँदैन । सरकारले पनि यो नीति अघि सारेको छ । तर, कार्यान्वयनमा भने अझै आएको छैन । देश बनाउने भन्ने तर कामै नगर्ने हो भने कसरी बन्छ देश ? अब सबैले सोचौँ । ढिला नगरी सबै आआप्mनो ठाउँबाट उत्पादन बढाउने बारेमा चिन्तन, मनन गरौँ ।

प्रतिक्रिया