संक्रमित र मृतक बढे, जनचेतना बढेन

भारतबाट फर्किएका नेपालीः भारतमा मजदूरी गरी फर्केका नेपाली नागरिक बैतडीको गोठलापानी बजारमा जीपबाट ओर्लिंदैं । भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपाली नागरिक स्वदेश फर्कन थालेका छन् । तर, सीमामा उचित स्वास्थ्य सुरक्षा प्रणाली नहुँदा उनिहरु सोझै गाँउ पुग्ने गरेका छन् । तस्विरः रासस

काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार विहान तीन घण्टाको अन्तरमा तीन जना कोरोना संक्रमितको मृत्यु भयो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले दिएको जानकारी अनुसार मृतकहरु रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका दुुई महिला र एक पुरुष थिए ।

उनका अनुसार रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु भएको हो । ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर उनिहरु अस्पतालमा भर्ना भएका थिए । उनिहरुजस्तै सोमबार दिउँसोसम्म ज्यान गुमाउनेको संख्या ८ पुग्यो । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या विगत केही महिना यता कै उच्च विन्दुमा पुगेको हो । सोमबार मात्रै विगतमा पनि छुटेका गरी १३ जना संक्रमितको मृत्यु भएको थियो ।

मृतकको संख्या मात्रै होइन्, दैनिक भेटिने कुल संक्रमितको संख्या पनि सोमबार ह्वात्तै बढेको छ । एकैदिन पाँच सय बढि संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५९ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा दैनिक डेढ लाख भन्दा बढि संक्रमित भेटिरहेका बेला खुल्ला सीमाना रहेको नेपालमा पनि बढ्न सक्ने देखिएको छ । तर, सबैभन्दा चिन्ताको विषय विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु बढि प्रभावित हुन थालेका छन् ।

संक्रमितमध्ये धेरैमा युके भेरियन्ट पुष्टि भएको छ । पछिल्लो दुई साता १ देखि १० वर्षसम्मका ४ जना बालबालिकामा युके भेरियन्ट पुष्टि भएको छ । त्यस्तै ११ देखि २० वर्षसम्मका २२ जना किशोर–किशोरी र २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा सबैभन्दा धेरै ३८ जनामा युके भेरियन्ट पुष्टि भएको छ । ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा पनि युके भेरियन्टको संक्रमण उच्च छ । यो समूहका संक्रमितमध्ये ३६ जनामा युके भेरियन्ट पुष्टि भएको छ ।

४१ देखि ५० वर्षसम्मका २६ जना, ५१ देखि ६० वर्ष उमेर समूहका २० जना ६१ देखि ७० वर्ष उमेर भएका ११ जना र ७१ देखि ८० जना उमेरसमूह भएका व्यक्तिहरु २ जनामा युके भेरियन्ट पुष्टि भएको छ । युके भेरियन्टको यो तथ्यांक कोभिड–१९ को सामान्य संक्रमणभन्दा ठीक विपरित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ ।

‘विगतको तथ्यांक हेर्दा कोभिड–१९ को संक्रमणको जोखिम ज्येष्ठ नागरिकमा बढी देखिएको थियो । तर, युके भेरियन्टको संक्रमण भने २० वर्षमुनिका व्यक्तिहरुमा धेरै देखियो । यो नेपालको लागि चुनौतिको विषय हो’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।

विश्वमा अहिले कोभिड–१९ का तीनवटा भेरियन्ट पुष्टि भएका छन्, युके, ब्राजिलियन र साउथ अफ्रिकन भेरियन्ट । विश्व स्वास्थ्य संगठनले यी भेरियन्ट कोभिड–१९ का नयाँ प्रजातीको रुपमा परिभाषित गरेको छ । युके भेरियन्ट (बी १.१.७) अहिलेसम्म ४३ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अुनसार कोभिड–१९ को सामान्य भाइरसभन्दा युके भेरियन्ट ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ ।

जनस्वास्थ्यविद्हरूले कोरोनाभाइरसको नयाँ भेरिअन्टबाट नेपालमा बालबालिका पनि प्रभावित हुन थालेकाले विद्यालयबाट संक्रमण समुदायसम्म पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । तर शिक्षा मन्त्रालयले सरोकारवालासँग सोमवार गरेको बैठकमा शिक्षक, अभिभावक र निजी विद्यालयकका संगठनहरूले विद्यालय पूर्ण रूपमा बन्द गर्न नहुने धारणा राखेका छन् ।

स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेपछि कोभिड नियन्त्रणसम्बन्धी उच्च निकाय सीसीएमसीले पनि ७७ वटै जिल्लामा विद्यालय बन्द गर्न सुझाव दिएको छ । तर, सरोकारवालाले विद्यालय बन्द गर्ने निर्णय स्थानीय तहलाई दिन सुझाव दिएका छन् । गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि नेपालमा शैक्षिक संस्थाहहरू बन्द गरिएको थियो ।

तर, अहिले संक्रमित बढ्दै जान थालेपनि नेपालमा सभा, समारोह, सयौं उपस्थित हुने खेल समारोह, जात्राहरु निर्वाध रुपमा भईरहेका छन् । त्यसमा पनि सुरक्षाका मापदण्डहरु निक्कै कम मात्रामा प्रयोग भएको देखिएको छ ।

प्रतिक्रिया