६१ घरधुरी सिंचाई कुलोबाट लाभान्वित

कालिकोट । भौगोलिक विकटता र न्यून वन जंगलका कारण कालिकोट जिल्लाका अधिकांश बस्तीहरुमा पानीको अभाव छ । पानी खोलामा बगिरहेको हेर्न पाँउछन्, तर खेतबारीसम्म पुर्याएर सिंचाई गर्न भने यहाँका नागरिकहरुलाई ‘आकासको फल आँखा तरि मर’ भने जस्तै भएको छ । जिल्लाको पचालझरना गाउँपालिका– ८ को जुम्लीवाडा बस्तीका ६१ घरधुरीका ३ सय ५ जना सिंचाइको अभावमा भौतारिरहेका थिए ।

१२ वर्ष अघिदेखि अव्यवस्थित कुलोबाट खेतसम्म पानी ल्याउने जुम्लीवाडाका किसानहरुले पानीको अभाव हुँदा सोचे जस्तो खेती गर्न सकिरहेका थिएनन् । स्थानीय स्तरबाट योजना छनौट भई जुम्लीवाडा सिंचाई कुलो निर्माण आयोजनालाई ‘नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन (क्याफ्स्–कर्णाली) परियोजना’ को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भई खेतमै पानी पुगेको छ ।

मानव अधिकार तथा वातावरण विकास (केन्द्र) हुरेन्डेक नेपाल कालिकोटको सहयोग तथा सहजिकरणमा उक्त सिंचाई कुलोको काम सम्पन्न भएको हो । आयोजनाअन्तर्गत परम्परादेखि चलि आएको ४ सय २५ मिटर कच्ची कुलोको स्तरोन्नती गर्नुका साथै थप २ सय ५५ मिटर कुलो निर्माण गरि करिब २० हेक्टर खेती योग्य जमीन सिंचित गर्र्ने लक्ष्य राखीएको क्याफ्स् कर्णाली परियोजनाका संयोजक नरेन्द्र बहादुर शाहीले बताए ।

शाहीका अनुसार कुलो निर्माणका लागि ४१ लाख ४७ हजार ६ सय ११ रुपैयाँ ७७ पैसामा कुलो निर्माण कार्य सम्पन्न भएको बताएका हुन् । यस आयोजनामा जम्मा ६८० मिटर कुलो, ३० घनमिटर क्षमताको एउटा पोखरी र अस्थायी शौचालय निर्माण गरिएको छ । साथै, आयोजना निर्माण गर्दा कामदारको सुरक्षाका लागि कामदार वीमा, सुरक्षाका सामाग्रीहरु र प्राथमिक उपचारको व्यवस्था निर्माण स्थलमा गरिएको थियो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल, कालिकोटका कोषाध्यक्ष दिलिप कुमार शाहीसहित वन तथा वातावरण मन्त्रालयकी सहसचिव डाक्टर राधा ज्ञवालीको टोलीले आयोजनाको अनुगमन गरेको छ । उक्त टोलीले पचालझरना गाउँपालिकाको केन्द्र पणेक्षामा निर्माण भएको हाई–टेक नर्सरी, निर्माणाधिन सामुदायिक सेवा केन्द्रको अनुगमन गरेको थियो । साथै, गाउँपालिकामा क्याफ्स् कर्णाली परियोजनाले सञ्चालन गरेका क्रियाकलापहरुको अनुगमन गरी गरेको छ ।

पानीको व्यवस्थापन गर्नका लागि मुहान नजिक ३० घनमिटर क्षमताको १ (एक) वटा पोखरी निर्माण गरि पानी चुहावटको समस्यालाई रोकथाम गर्न र आवश्यक परे पानी खोल्न मिल्ने र बन्द गर्न मिल्ने आधुनिक पोखरी निर्माण गरिएको क्याप्स् कर्णाली परियोजनाका इन्जिनियर आकाश परियारले बताए । विगतमा सञ्चालन हुँदै आएको कुलोको अधिकांश भाग कच्ची हुँदा पानीको चुहावट धेरै भई सिंचाई सुविधा प्रभावकारी हुन सकेको थिएन ।

पचालझरना गाउँपालिका– ८ जुम्लीवाडाकी आशा टमटाले आफ्नो खुशी व्यक्त गर्दै विगतका दुख विर्सेर अव नयाँ तरिकाबाट कृषि खेती गरी आफ्नो जिविकोपार्जन गर्ने बताईन् । उनले भनिन्, ‘आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था थियो, हिउँदको खडेरीमा बाली सुकेर जान्थ्यो ।’ आशा टमटा मात्रै हैनन् सोही गाउँकी रञ्जना टमटाले पनि स्थानीय सरकार आएपछि नागरिकहरुमा आशा पलाए पनि आफ्नो गाउँमा सिंचाईको अभाव भएको महशुस गरेको थिए ।

क्याफ्स् कर्णाली परियोजनाले गरेको यो गौरवपूर्ण कार्यका लागि समुदायका सबै नागरिकहरु हर्षित भएका छन् । कुलो निर्माण पश्चात स्थानीय समुदायद्वारा कुलोको अन्तिम भागतिर सुधारिएको पानीघट्ट निर्माण गरि व्यवसायिक रुपमा घट्ट सञ्चालनको काम भईरहेको छ । जस कारण महिलाको दैनिक कार्यबोझ कम भएको स्थानीय विर टमटाले बताए ।

यस आयोजनाबाट गाउँमा धान, गहुँ, मकै, जौ, चिनो, कागुनो जस्ता अन्न बालीको अतिरिक्त विभिन्न तरकारी तथा फलफूलको उत्पादनमा वृद्धि हुुनुका साथै व्यावसायिक तरकारी खेति तथा पशुपंछीजन्य व्यवसायलाई टेवा पुग्ने जुम्लीवाडाका नागरिकहरुले बताएका छन् । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले यस वडाका अन्य बस्तीहरुमा समेत आगामी दिनमा सिंचाईको प्रवन्ध गरि बाँझो भू–भागमा सिंचाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । साथै क्याफ्स् कर्णाली परियोजनाले गरेको कार्यको उच्च कदरसमेत गरेका छन् ।

प्रतिक्रिया