पूर्णिमालाई म्युजिक अवार्ड

काठमाडौं । ११औँ ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७७’ बाट पूर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्वोत्कृष्ट अवार्ड चुम्न सफल भएकी छन् । दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न भएको अवार्ड समारोहमा गायिका पूर्णिमाले ‘मुटु जलि खरानी भो’ बोलको गीतबाट उक्त अवार्ड हात पारेकी हुन् ।

गीतको शब्द तथा संगीत बलराम साउदको रहेको थियो । गायिका पूर्णिमासँगै अन्य गायिका निशा देशार, मेलिना राई, सुमिना लो र बानिका प्रधान प्रतिस्पर्धामा रहेका थिए । विन्ध्यवासिनी म्युजिक प्रालिले विभिन्न २५ विधामा अवार्ड वितरण गरेको थियो ।

सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका पूर्णिमाले हालसम्म झण्डै चार सयभन्दा बढी गीत गाइसकेको जनाइन् । उनले आफूलाई योग्य ठानेर विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट सम्मानित गरेको आयोजकप्रति आभार प्रकट गरिन् । विन्ध्यवासिनी अवार्ड लिन पाउँदा आफूमाथि थप सांगीतिक अभिभारा थपिएको बताउँदै गायिका पूर्णिमाले आफू निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील रहने बताइन् ।

प्रतिक्रिया