बस्नेतको निर्देशनमा ‘लाल मोहन जि’ बन्ने

काठमाडौं । सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाल मोहन जि’ निर्माण हुने भएको छ । दुई वर्षअघिको चलचित्र ‘पासवर्ड’ निर्देशन गरेका बस्नेतले यसलाई निर्देशन गर्न लागेका हुन् । द्वन्द्व निर्देशक बस्नेतको ‘पासवर्ड’ निर्देशनमा डेब्यु फिल्म थियो । आररोसफि फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

चलचित्रमा अभिनेता विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचेको प्रमुख भूमिका रहने जनाइएको छ । चलचित्रमा एक जना नायिकाको छनोट हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । प्रवेश पौडेलको कथामा आकाश बरालको पटकथा तथा संवाद रहेको छ ।

चलचित्रमा सन्तोष राजको संगीत, निरज कंडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । पूर्वी नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अस्ट्रेलियामा छायांकन हुने बताइएको यो चलचित्र जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा रहेको जनाइएको छ ।

सस्पेन्स कमेडी कथामा बन्न लागेको चलचित्रको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । उनले भने, ‘फिल्मको कथाका लागि दुई वर्ष होमर्वक गरेका छौं । यसको कथा अहिलेसम्मकै उत्कृष्ट हो भन्ने मलाई लाग्छ । कथा राम्रो भएकाले पनि बिपिन लगायतका कलाकारले मनपराएका छन् ।’ उनले आफ्नो टिमका सबै कलाकारलाई समेत चलचित्रको कथा राम्रो लागेको जिकिर गरे । आगामी तिहारको छेको पारेर चलचित्र रिलिज गर्ने लक्ष्य लिइएको निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रोडक्सन म्यानेजर दीपिल पन्त रहेका छन् ।

प्रतिक्रिया