नेपालमा युरेनियम उत्खनन कति सम्भव !

गत महिना नेपालमा युरेनियमयुक्त खनिजको ओसारपसार र कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उक्त रेडिओधर्मी धातुबारे धेरैमा जिज्ञासा उत्पन्न भएको छ । युरेनियम नेपालमा पनि पाइने तथ्य, उत्खननको सम्भावना, अहिले बरामद भएको पदार्थ तथा अनुसन्धानबारे जारी विभिन्न अडकलबाचीका बीचमा प्रहरीको अनुसन्धानका केही कुरा बाहिर ल्याएको छ ।

गत फागुन २८ गते काठमाडौंको बौद्धबाट प्रहरीले झन्डै तीन किलोग्राम शंकास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ । यसै वर्ष लागू भएको रेडिओधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी ऐनअन्तर्गत उनीहरूलाई मुद्दा चलाइने काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताए ।

सिंहका अनुसार बरामद भएको सामग्री रेडिओधर्मी पदार्थ भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट प्रमाणित भएकाले त्यसैअनुसार प्रहरीले अनुसन्धान अघि बढाइएको थियो । उक्त कानुनअन्तर्गत पहिलोपटक मुद्दा अभियोग लगाउन लागिएको हो । ‘ऐनको दफा ४८ अन्तर्गतको कसुरमा सरकारी वकिलको कार्यालयबाट मुद्दा चलाउने तयारी अघि बढेको छ,’ उनले भने ।

संसद्ले गत जेठमा पारित गरेको रेडिओधर्मी पदार्थको नियमन गर्ने कानुनमा बिनाअनुमति विकिरणयुक्त पदार्थको भण्डारण र ढुवानी गर्ने कसुरमा संलग्न व्यक्तिलाई पाँचदेखि १० वर्षसम्म कैद र सात देखि १२ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा भएका उनीहरूविरुद्ध अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुनेछ ।

उक्त पदार्थ नेपाल ल्याउन संलग्न भएको भनिएका प्रमुख व्यक्तिसँग बयानको प्रयास गरिएको तर उनी विदेशमा अस्वस्थ अवस्थामा रहेको बुझिएको प्रहरीले बताएको छ । ‘ल्याउने भनिएका मान्छेसँग पनि कुरा गर्ने प्रयास गरिरहेका छौँ, तर ती व्यक्ति अमेरिकामा रहेको र स्वास्थ्य अवस्थाका कारण बयान दिन सक्ने अवस्थामा नरहेको भनिएको छ,’ सिंहले भने ।

पक्राउ परेकी महिलाले उक्त खनिज भारतको एउटा कोइलाखानीमा काम गर्ने आफ्ना ससुराले उतैबाट ल्याएको प्रहरीलाई बताएको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार उनले झन्डै २० वर्षअघि उक्त सामान ल्याइएको र घरको एउटा कुनामा राखिएको तर अहिले बेच्ने उद्देश्यले आफूले ग्राहक खोजेको बयान दिएकी छन् । त्यसका लागि उनले अन्य तीन व्यक्तिको सहयोग लिएको बताएकी छन् ।

प्रहरीले बरामद गरेको अप्रशोधित युरेनियम भारतबाट ल्याइएको बताइएको छ । तर नेपालका केही स्थानमा पनि युरेनियम खनिज पाइने तथ्य वैज्ञानिक अध्ययनहरूमा देखिएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनियम पाइने संकतहरू देखा परेका छन् ।

उनका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ । नेपालले युरेनियमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको उनको भनाइ छ । महानिर्देशक घिमिरेका अनुसार नेपाल संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को पनि सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसंघले तोकेका मापदण्डहरू पूरा गर्नुपर्छ ।

‘यसमा सुरक्षाबारे एकदमै ठूलो प्रश्न छ । खानी र प्रशोधन केन्द्रहरूबाट आउने विकीरणका कारण स्वास्थ्य र सुरक्षाको ठूलो जोखिमसमेत हुन सक्छ । त्यसका लागि छुट्टै कानुनसमेत बन्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण छैनन् । त्यसका लागि आइएइएसँग सहकार्य गरिरहेका छौँ ।’

विभागले युरेनियम खानीबारे विस्तृत अध्ययनका लागि खानी तथा खनिज ऐन संशोधन मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ । ‘त्यो कानुन बनेर आएपछि मात्रै हामी यसमा अघि बढ्न सक्छौँ । हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण पनि छैनन् । त्यसका लागि पनि आइएइएसँग सहकार्य गरिरहेका छौँ’, घिमिरेले भने ।

नेपालका विभिन्न क्षेत्रमा पाइने युरेनियम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने धेरैको जिज्ञासा छ । आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनियमलाई रणनीतिक खनिज मानिन्छ । त्यसैले सरकारको नीति पनि त्यसैअनुरूप आउन आवश्यक भएको घिमिरे ठान्छन् । तर युरेनियम बेचेर नेपाल धनी बन्न सम्भावना चर्चा गरिए जस्तो सहज नभएको विज्ञहरू बताउँछन् ।

‘युरेनियम प्रशोधन गरेर बेच्ने हो भने त्यसका लागि धेरै ठूला पूर्वाधार लगानी र प्रविधिको आवश्यकता पर्छ । त्यसमै केन्द्रित भएर लाग्यौँ भने त्यो सम्भव होला पनि । तर, त्यसअघि हामीसँग भएको युरेनियम कति मात्रामा छ र कस्तो गुणस्तरको भन्ने कुराको विवरण यकिन हुनुपर्छ,’ खानी विभागका प्रमुख घिमिरेले भने । युरेनियम उत्खनन् गरेर मात्र नहुने तथा गुणस्तर र प्रशोधन चुनौतीपूर्ण हुने बताउछन्, भौतिकशास्त्री प्राध्यापक देवीदत्त पौडेल ।

प्रशोधित युरेनियम धेरै मूल्यमा विक्री हुने तर नेपालले तत्कालै युरेनियम खानीबाट आम्दानी गर्न नसक्ने प्राध्यापक पौडेलको भनाइ छ । ‘यसलाई प्रशोधन गर्न सहज छैन । हामीलाई उत्खनन् तथा प्रशोधनका लागि लगानी, सुरक्षा, प्रविधि र जनशक्ति जुटाउनै निकै मुस्किल छ,’ उनले भने । ‘प्रशोधन गरेर पनि कुन गुणस्तरको बनाउने भन्ने हुन्छ । ऊर्जाका लागि मात्रै प्रयोग गर्ने भन्दा आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियम थप संवर्धित (इन्रिच्ड) हुन्छ,’ उनले भने, ‘त्यसका लागि खनिज पनि गुणस्तरीय युरेनियमयुक्त हुनप¥यो,’ प्रा. पौडेलले भने ।

अहिलेसम्म प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरीले बरामद गरेको खनिजमा पनि औसतभन्दा बढी रेडिओधर्मी विकिरण देखिएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक बुद्धराम शाहले बताए । उनका अनुसार युरेनियमको मात्रा औसतभन्दा धेरै भएको ठाउँबाट संकलित माटो वा चट्टानको नमुनामा रेडिओेधर्मी विकिरणको संकेत देखिन्छ । तर प्रहरीसँग भएको सामग्री प्रशोधन गर्दा अत्यन्त न्यून मात्रामा मात्रै युरेनियम निकाल्न सकिने उनको आकलन छ ।

‘बरामद भएको करिब तीन केजीबाट प्रशोधन गर्यो भने माइक्रोग्राममा युरेनियम निस्किन सक्छ । यो एकदमै कच्चा रूपमा भएकाले यकिन नै गरेर भन्न अझै कठिन छ,’ उनले भने । शाहका अनुसार त्यो निक्र्योल गर्न थप रासायनिक विश्लेषण गर्ने उपकरण नेपालमा छैन । एक माइक्रोग्राम भनेको एक ग्रामको १० लाखौँ भाग हो । काठमाडौंमा बरामद गरिएको पदार्थ अहिले टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । विज्ञहरूका अनुसार रेडिओविकिरण उत्सर्जन गर्ने पदार्थलाई विशेष सुरक्षाबिना मानिसहरूको नजिकै राख्नु हुँदैन ।

‘अहिलेकै अवस्थामा भएको कच्चा पदार्थबाट धेरै जोखिम नभए पनि त्यसबाट अल्फा कण र गामा रश्मि निस्किरहेका हुन्छन्,’ वैज्ञानिक शाहले भने, ‘त्यसको नजिकै धेरै बेरसम्म बसिरह्यो भने असर गर्न सक्छ, नत्र अहिलेकै स्वरूपमा खासै जोखिम छैन । तर पनि यसलाई सुरक्षित रूपमा राख्न जरुरी छ ।’ रेडिओधर्मी पदार्थको प्रत्यक्ष सम्पर्कमा काम गर्नेहरूलाई विशेष सुरक्षासहितका उपकरणहरू आवश्यक हुने विज्ञहरू बताउँछन् । भौतिकशास्त्री प्राध्यापक देवीदत्त पौडेल सुरक्षा उपकरणबिनै काम गर्दा स्वास्थ्य जोखिममा हुन सक्नेतर्फ सचेत गराउँछन् ।

‘हामीले त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा संकलन भएका नमुनाहरूलाई पनि लीड (सिसा) भन्ने धातुका भाँडाभित्र सिलबन्दी गरेर राखेका थियौँ । सुरक्षित रूपमा राख्न नसके यसबाट पैदा हुने विकिरणले सम्पर्कमा आउने मानिसलाई असर गर्न सक्छ,’ उनले भने, ‘हाम्रो अध्ययनको क्रममा मेरा विद्यार्थीले खनेर नमुना ल्याउँदा उनीहरूको हात नै सामान्य डढेको पाइएको थियो ।’

यो एउटा धातु हो । यो धातु भूगर्भ तथा समुद्रमा पनि पाइन्छ । रसायनशास्त्रीहरूले यसलाई ‘हेभी मेटल’को वर्गमा राखेका छन् । यो १ हजार १ सय ३२ सेल्सियस तापक्रम पुगेपछि मात्र पग्लिन्छ । यो धातुबाट विकिरण उत्पन्न हुने भएकाले ऊर्जा उत्पादन गर्न तथा आणविक अस्त्र बनाउन प्रयोग हुने गरेको छ । चिकित्साक्षेत्रमा पनि यो प्रयोग हुन्छ । यो धातु पहिलोपटक अठारौँ शताब्दीमा पत्ता लागेको थियो । – बिबिसी

प्रतिक्रिया