ओलीको विकल्प ठाकुर हुन सक्दैनन् ?

ललितकुमार यादव

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते बिघटन गरेको प्रतिनिधिसभा सम्मानित सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाद्वारा पुनःस्थापना भयो । प्रतिनिधिसभा पुनःस्थापना भएको पनि डेढ–दुई महिना पुग्न लागेको छ । तर, मुलुकको राजनीतिले लिनुपर्ने रप्mतार लिन सकेको छैन । अहिले पनि अन्योल कायमै छ । मुख्यतया अहिले मुलुकको राजनीति वर्तमान ओली सरकारको निरन्तरता कि ओलीइतरको नयाँ सत्तासमीकरण ? भन्ने मुद्दामा अल्झेको छ । आमनिर्वाचन ओली सरकारले गराउने कि, अर्को सरकारले गराउने ? भन्ने मुद्दामा मुलुकको राजनीति अड्केको छ ।

पछिल्लो समय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ भन्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्ति आएको छ । देउवाको यो अभिव्यक्ति मुलुक अर्ली इलेक्सनमा जान लागेको संभावना बढेको संकेत हो । यस अघिदेख नै प्रधानमन्त्री ओली अर्ली इलेक्सनमा जानुपर्ने पक्षमै रहेका छन् ।

हुन त कांग्रेस वैकल्पिक सरकारको नेतृत्व गर्न तयार रहेको निर्णय पनि देउवाको रुचि विपरीत भएको निर्णय हो । अहिले निर्वाचन भएमा कांग्रेसलाई लाभ हुने, सभापति देउवाको बुझाइ रहेको छ । कांग्रेस सभापति देउवा आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर भएको देखिए पनि उनले ओली इतरको गठबन्धन बनाउन सकिरहेका छैनन् ।

प्रतिनिधिसभा बिघटनलाई प्रतिगमन भन्दै तत्कालीन नेकपाका दहाल–नेपाल पक्ष, र जसपाले पुनर्वहालीको माग गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भने पनि पुनवर्हालीको माग भने गरेको थिएन । प्रतिनिधिसभा पुनःस्थापना पनि भयो । तर, पुनःस्थापना भएको प्रतिनिधिसभाले मुलुकलाई निकास दिन सकेको छैन । यसको नैतिक जिम्मेवारी पुनवर्हालीका लागि आन्दोलन गर्ने र मुद्दा दायर गर्ने दलहरूले लिनुपर्छ ।

ओलीलाई प्रतिगामी भनेकाहरूले तुरुन्तै ओलीको विकल्प दिन सक्नुपर्छ । ओलीको बिरोध पनि गर्ने तर पुनःस्थापित प्रतिनिधिसभाबाट निकास पनि दिन नसक्ने, यसलाई पनि अग्रगमन भन्न मिल्दैन । मुलुकलाई निकास दिन नसक्नु ओलीको बिरोध गरेका दलहरूको राजनीतिक हार हो । यसलाइ अरू केही नाम दिन सकिँदैन ।

ओलीइतरका दलहरूबीच बिश्वासको वातावरण बन्न सकेको छैन । सबै दलमा गुट र समूहपिच्छै फरकफरक मत छ । कुनै पनि दलमा एकमत छैन । वैकल्पिक सरकारको लागि नयाँ सत्तासमीकरण तयार हुन नसक्नुमा दलहरूको आन्तरिक विवाद नै मुख्य कारक हो । ओलीलाई प्रतिगामी भनेकाहरूले तुरुन्तै ओलीको विकल्प दिन सक्नुपर्छ । ओलीको विरोध पनि गर्ने तर पुनःस्थापित प्रतिनिधिसभाबाट निकास पनि दिन नसक्ने, यसलाई पनि अग्रगमन भन्न मिल्दैन । मुलुकलाई निकास दिन नसक्नु ओलीको बिरोध गरेका दलहरूको राजनीतिक हार हो । यसलाई अरू केही नाम दिन सकिँदैन ।

वर्तमान ओली नेतृत्वको सरकारको विकल्पमा सरकार गठन हुन कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्नै पर्छ । वैकल्पिक सरकारको लागि यी तीन दलको गठबन्धनको विकल्प छैन । यी दलहरूबीच वैकल्पिक सरकार गठन गर्ने विषयमा छलफल नै नभएको अवस्था होइन । तर, मुलुकले निकास पाउने गरी निष्कर्षमा पुगेको अवस्था पनि पक्कै होइन ।

माओवादी केन्द्र सुरुदेखि नै वैकल्पिक सरकार गठन गर्ने प्रयासमा रहेको छ । यसका लागि माओवादी केन्द्रले सबै विकल्पमा छलफल गर्न र एउटा निष्कर्षमा पुग्न तयार रहेको छ । ढिलै भए पनि कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने केन्द्रीय समितिबाट निर्णय गरेको एक साताभन्दा बढी भइसक्यो । कांग्रेसले औपचारिक रूपमै माओवादी केन्द्र र जसपासँग छलफल अगाडि बढाएको छ । वर्तमान अवस्थामा जसपा निर्णायक शक्तिको रूपमा रहेको छ । तर, निर्णायक जसपा कुनै एउटा निर्णयमा पुग्न सकेको छैन । अहिले जसपाकै निर्णयको पर्खाइले मुलुकको राजनीतिको रफ्तारमा ब्रेक लागेको छ ।

पछिल्लो समयमा जसपाभित्र पनि मुख्यतया फरकफरक दुई धार देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतोको एउटा धार रहेको छ भने उपेन्द्र यादव र बाबुराम भट्टराईको अर्को धार रहेको छ । ठाकुर र महतो ओलीकै नेतृत्वलाई निरन्तरता दिन खोजेको देखिन्छ भने यादव र भट्टराई जुनसुकै हालतमा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा रहेको छ ।

जसपाभित्र पनि सके आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, नसके आफ्ना माग पूरा गर्न तयार हुने दलसँग सहकार्य गर्ने मत बढ्दै गएको छ । प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधन गर्ने प्रक्रिया पनि अगाडि बढाइसकेका छन् । तर, जसपा आफ्नै आन्तरिक बिवादका कारण अलमलमा रहेको छ । जसपाकै अलमलले मुलुकले निकास पाउन सकेको छैन ।

राज्यले मधेसलाई सधैँ उपेक्षामा पारेको निष्कर्षसहित मन्त्री पद तथा नेपाली कांग्रेसको कोषाध्यक्ष पद त्यागेर मधेस केन्द्रित राजनीतिमा सक्रिय भएका नेता हुन् महन्थ ठाकुर । तुलनात्मक रूपमा अरू नेताभन्दा बढी मधेसलाई उपेक्षा गर्ने गरेकाको आरोप ओलीमाथि लाग्ने गरेको छ । ओलीले विभिन्न समयमा मधेस र मधेस आन्दोलनप्रति दिएको अभिब्यक्ति र गरेका टीकाटिप्पणी पनि आरोपकै नजिक छन् । अहिले उनै ठाकुरले सबैभन्दा बढी ओलीलाई नै विश्वास गरेको देखिन्छ ।

आफ्नै पार्टीको एक पक्षले प्रतिगामी देखेका ओलीप्रति ठाकुरको विश्वास बढ्नुको कारण प्रष्ट हुन भने बाँकी नै छ । तर, महतोले ओलीलाई साथ दिनुको कारण त प्रष्ट छ । ओलीले साथ नदिएको भए सर्लाहीका महतो धुनुषामा पुगेर बिमलेन्द्र निधिजस्ता मूर्धन्य नेतालाई पराजित गरी चुनाव जित्न किमार्थ सक्दैनथे । यो गुण तिर्न महतो वाध्य हुनु अन्यथा होइन ।

मधेसका लागि तीनटै दल उस्तै हुन् । ०६४ को संविधानसभामा निर्णय गर्ने शक्तिका रूपमा रहेको कारण सत्तासमीकरणमा मधेस केन्द्रित दलहरूले राम्रै स्थान पाउने गरेका थिए । तर, दोस्रो संविधानसभा निर्वाचन परिणामले मधेसीदललाई निर्णायक हुन दिएन । संबिधान जारि हुने बेलामा मधेस केन्द्रित दलहरू शक्तिमा नभएकै कारण तीनटै दलले उपेक्षा गरे । तीन दलबीच १६ बुँदे सहमति भयो । सोही सहमतिको आधारमा संविधान जारि भयो । संविधानमा मधेसको असन्तुष्टी रहेका कारण मधेसमा ६ महिना लामो अवधिसम्म आन्दोलन भयो ।

जसपा अहिले मधेस आन्दोलनकै मुद्दा सम्बोधन हुनुपर्ने माग अगाडि सार्दै राजनीतिक सौदाबाजी गरिरहेको छ । जसपाले उठाएका मुख्य मागहरू जेलमा रहेका आफ्ना कार्यकर्ताहरूको रिहाइ, राजनीतिक मुद्दाहरूको खारेजी, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन कार्यान्वयन र जसपाको सहमतिमा नागरिकता विधेयक पारित हुनुपर्ने रहेका छन् । जसपा आफ्ना यिनै मागहरू पूरा हुने सुनिश्चितता खोज्दैछ । झट्ट हेर्दा सत्तासमीकरणलाई जसपाले गौण मानेको पनि देखिन्छ ।

०७४ फागुन ३ गते वर्तमान ओली नेतृत्वको सरकार गठन भएको हो । सरकारलाई महन्थ ठाकुरले नेतृत्व गरेको राजपाले पनि समर्थन गरेको थियो । तर, आफ्ना माग सम्बोधन नहुने देखेपछि छोटो समयमै समर्थन फिर्ता लियो । उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी भने सहमतिको कार्यान्वयनको आशमा सरकारमा सहभागी नै भएको थियो । पछि प्रधानमन्त्रीले मतलब गर्न छोडेका कारण ०७६ साल मंसिरमा यादव पनि सरकारबाट बाहरिए । । ०७७ साल वैशाख १० गते राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा संस्थापित भएको हो ।

महन्थ ठाकुर नेपाली राजनीतिका चिरपरिचित व्यक्ति हुन् । अहिलेसम्म उनले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएका छैनन् । लगभग चारदशक नेपाली कांग्रेसमा आबद्ध रहेका ठाकुर ०६४ सालमा कांग्रेस त्याग गरेर मधेस केन्द्रित राजनीतिमा सक्रिय भएका थिए । कांग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुरले मधेस केन्द्रित दलमा रहँदा पनि आफ्नो छविमा दाग लाग्न दिएका छैनन् । मधेस केन्द्रित दलमा सक्रिय भएदेखि नै सधैँनेतृत्वमै रहेका ठाकुर संविधानसभाका दुवै निर्वाचनमा पराजित भएका कारण सत्ताको खेलमा लाग्नै पाएनन् ।

यदि कांग्रेसले साँचिकै नयाँ सत्तासमीकरण बनाउन खोजेको हो भने आफ्नै नेतृत्वको दावीमा अडिग रहनु हँुदैन । जसपाले पनि नेतृत्व लिन खोजेको हो भने नेतृत्वको नामसहित एकजुट भएर दलहरूसँग छलफलमा जुटनुपर्छ । जसपाले औपचारिक निर्णय गरेर नेतृत्वको नाम टुंगो लगाएर नेतृत्वको दावी गर्नु उचित होला । नेतृत्व गर्नेले प्रष्ट निर्णयका साथ अग्रसरता लिन पनि जरुरी छ । जसपाले नेतृत्व लिन खोजेको हल्ला सुनिए पनि नेतृत्व लिन तयार रहेको देखिँदैन । तसर्थ सर्वप्रथम जसपाले आफ्नो लाइन क्लियर गरेर नेतृत्वको लागि तयार भएको निर्णय गर्न जरुरी छ ।

ओलीको विकल्पको खोजीमा रहेका कांग्रेस र माओवादी कसैले नयाँ अनुहारलाई अगाडि सारेको छैन । ओलीको विकल्पमा जो आए पनि पहिले परीक्षण भइसकेकै अनुहार आउने हो । परीक्षण भइसकेका अनुहार ल्याउनुभन्दा जसपाले महन्थ ठाकुरलाई अघि सारेमा समीकरण बनाउन कांग्रेस र माओवादी केन्द्र तयार हुनुपर्छ । सकेसम्म एमाले पनि महन्थको नेतृत्व स्वीकार गर्न तयार हुनुपर्छ ।

ठाकुरलाई किन प्रधानमन्त्री नबनाउने ? के ठाकुर ओलीको विकल्प हुन सक्दैनन् ? हुन सक्छन् भने सबै दल ठाकुरको नेतृत्व स्वीकार गर्न तयार हुनुपर्छ । सधैँ जसपालाई आफ्नो सत्ता टिकाइदिने सहयात्री मात्रै बनाउनु हुँदैन । नेतृत्व दिन पनि तयार हुनुपर्छ नेपाली राजनीतिकर्मीहरू । जसपा र महन्थ ठाकुरहरू किन र कहिलेसम्म अरूको सत्ता मात्रै टिकाइरहने ? ०६९ सालमा मुलुकलाई निकास दिन प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गरिसकेका यिनै दलहरूले मुलुकलाई निकास दिन अहिले ओलीको विकल्पमा ठाकुरलाई रोज्नु पनि उचित निर्णय नै हुन्छ ।

प्रतिक्रिया