किसानमारा कृषि नीति

                                   भरत पुन मगर

नेपाल कृषिप्रधान मुलुक हो जहाँ लगभग ६७ प्रतिशत जनसंख्या खेतीपाती तथा पुशपालनमा आश्रित छन् । नेपालको कृषिमा आधुनिक तथा व्यावसायिक तवरले विकास हुँदा झन्डै दुईतिहाई जनसंख्याको जीवनस्तर राम्रो हुन सक्छ । विगतका केही वर्ष यता कृषिमा आत्मनिर्भर जनसंख्या घटेको, खेतीयोग्य जमिनको प्लटिङमा रूपान्तरण बढेको, बाझो जग्गाहरू बढेको तथा युवाहरू विदेश, सरकारी जागिर, व्यवसाय, मजदुरीजस्ता पेसातिर बढी आकर्षित भएको देख्न सकिन्छ ।

जसका कारण कृषि उपज वर्षको तीन अर्ब रुपैयाँ बराबरको निर्यात र पौने एक खर्ब रुपैयाँ बराबरको आयात हुने गरेको छ । विगत ६ वर्ष यता भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता विपद्हरूले परनिर्भरतालाई न्यूनीकरण गर्दै आत्मनिर्भरतर्फ बढ्नुपर्ने पाठ सिकाएको छ । विदेशबाट पठाएको रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न सक्दैन र स्वदेशको माटोलाई माया गरेर सुन फलाउन सके मात्र अर्थतन्त्र बलियो बन्नेछ ।

कृषिलाई आधुनीकरण, व्यावसायीकरणतर्फ बढाउन स्थानीय र राष्ट्रिय तहले कृषिमा लगानी बढाउनुपर्ने हुन्छ र त्यसका लागि आवश्यक नीतिसँगै दक्ष जनशक्ति हुनै पर्छ । सेवा र सुविधाका लागि युवाहरू ग्रामीण क्षेत्रबाट सहरतर्फ जाने क्रम रोक्न गाउँमा शिक्षा, स्वास्थ्य र उनीहरूलाई लाभदायक कृषि नीति विकास गर्न आवश्यक छ ।

जनसंख्या दिनानुदिन बढ्दो क्रममा छ तर खेतीयोग्य जमिन भने स्थिर रहन्छ, झन् घटिरहेको अवस्था छ । यसरी हेर्दा कृषिमा उत्पादकत्व बढाउनुपर्ने देखिन्छ । कृषिमा उत्पादन बढाउन, मनग्य आम्दानी लिन अत्यन्त आवश्यक एउटा तत्व गुणस्तरीय बिउ पनि हो । जग बलियो बनाउन सके घर पनि बलियो भएजस्तै गुणस्तरीय, स्वस्थ तथा उत्पादनशील बिउ रोप्दा गुणस्तरीय र स्वस्थ बालीनालीको उच्च उत्पादन लिन सकिन्छ ।

किसानहरूको मिहिनेत र पसिनाले उब्जिएको कृषि उपजको नाफा किसानलाई नभई बिचौलियाहरूलाई हुने खालको कमजोर कृषि नीति हुनु पनि प्रमुख समस्या रहेको छ । खाद्य बाली तथा बिउवीजन उत्पादक किसानहरू न्यून बजार मूल्य तथा कमजोर बजारीकरणजस्ता समस्याको चपेटामा पर्ने गरेका छन् । कतिपय रैथाने जातका बालीहरू अनुकूल वातावरणमा निकै राम्रो उत्पादन दिने र रोगप्रतिरोधि हुने गर्छन् । तर, रैथाने जातका बिउहरू बिस्तारै लोप हुँदै गइरहेको देखिन्छ ।

नेपालको लागि चाहिने बिउ नेपालमै उत्पादन हुन नसक्दा बर्सेनि ठूलो मात्रामा बिउ नेपाल भित्रिने र नेपालको अर्थ बाहिरिने गरेको छ । गत वर्ष मात्रै २ हजार ७ सय ८० मेट्रिक टन धानको बिउ नेपाल आयात गरिएको थियो जुन रकमान्तर गर्दा ९० करोड १९ लाख ७२ हजार ७ सय १८ हुन्छ । त्यसैगरी गत आर्थिक वर्षमा १३ सय ८५ मेट्रिक टन मकैको बिउ नेपाल भित्रिएको थियो भने आव ०७२-७३ मा नौ सय मेट्रिक टन मकैको बिउ नेपाल भित्रिएको थियो ।

यसरी हेर्दा नेपालमा बिउमा परनिर्भरता अझ बढ्दो क्रममा रहेको देखिन्छ । स्वदेशको उत्पादन र बाहिरबाट बिउ आयात गर्दा पनि किसानहरूले बिउ पाउन सकेका छैनन्, पाए पनि प्रयाप्त मात्रामा पाएका छैनन् र बिउ रोप्ने समयमा पाएका छैनन् । किसानहरू परम्परागत जातका बालीहरूबाट कम उत्पादन हुने र रोगप्रतिरोधक क्षमता कम हुने कारण चाहे जति फाइदा लिन सकिरहेका छैनन् ।

कृषिमा उत्पादन वृद्धि गर्न उन्नत जातका बाली, विकासे बालीहरू लगाउनु आवश्यक छ तर किसानहरू उन्नत जातका बिउहरूको पहुँचबाट टाढा छन् । कति किसानहरू नया तथा उत्पादन क्षमता धेरै हुने उन्नत जातका बिउहरूबारे अनभिज्ञ रहेको पाइन्छ र रैथाने बिउहरूमै सीमित रहेका हुन्छन् । सरकारद्वारा प्रदान गरिने अनुदान खेतबारीमा पसिना बगाउने वास्तविक किसानले पाउँदैनन तर पावरको आडमा नामका मात्र किसानहरूले पाउने गरेको देखिन्छ ।

किसानहरूको मिहिनेत र पसिनाले उब्जिएको कृषि उपजको नाफा किसानलाई नभै बिचौलियाहरूलाई हुने खालको कमजोर कृषि नीति हुनु पनि प्रमुख समस्या रहेको छ । खाद्य बाली तथा बिउवीजन उत्पादक किसानहरू न्यून बजार मूल्य तथा कमजोर बजारीकरणजस्ता समस्याको चपेटामा पर्ने गरेका छन् । कतिपय रैथाने जातका बालीहरू अनुकूल वातावरणमा निकै राम्रो उत्पादन दिने र रोगप्रतिरोधि हुने गर्छन् ।

तर, रैथाने जातका बिउहरू बिस्तारै लोप हुँदै गइरहेको देखिन्छ । रैथाने जातका बिउहरू समेत विदेशबाट मगाउनुपर्ने अवस्था छ । नेपालको रैथाने बाली फापरको बिउ पनि रसियाबाट मगाउनुपरेको थियो । विभिन्न बालिनाली र बिउहरूमा रोगहरू तथा किराहरू लागेर किसानहरू नोक्सानी बेहोरिरहेका हुन्छन् ।

बिउ क्षेत्रमा रहेका समस्याहरूका समाधानका उपायहरूः

सरकार तथा स्थानीयतहले, सिफारिस गरिएका उन्नत जातका बिउहरू सिफारिस क्षेत्रमा समयमै वितरण गर्ने व्यवस्था मिलाउने । खेतीयोग्य जमिन बाझो नराख्ने खालको, किसानको हित र प्रोत्साहन गर्ने खालको कृषि नीति निर्माण गर्नुपर्छ । बिउ उत्पादक कृषकहरूलाई प्रोत्साहन स्वरूप अनुदान, सहज बजारीकरणको व्यवस्था तथा उचित मूल्य निर्धारण र सो को कार्यान्वयन गर्ने ।

बिउमा आत्मनिर्भर बन्न उन्नत जातका तथा रोगप्रतिरोधात्मक क्षमता भएका जातका बिउहरू विकास गर्न सरकारी तथा गैरसरकारी निकायहरूले समन्वय गरेर अघि बढ्ने । हरेक स्थानीय तहमा बिउ बैंकको स्थापना गरेर परम्परागत रैथाने बालीका बिउहरू संरक्षण गर्ने । यसले गर्दा जैविक विविधताको संरक्षण पनि हुने गर्दछ ।

ती रैथाने बालीहरूको उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि, सीप, बजार तथा अनुसन्धानमा जोड दिनुपर्छ । विभिन्न प्रकारका हानिकारक किरा तथा रोगहरूले क्षति पुर्याउने बाली, खेतबारी तथा रोग किराग्रस्त क्षेत्रमा उपचार गरिएका बिउहरू उपलब्ध गराउने अथवा कृषकहरूलाई प्राविधिकहरूले उपचार विधि सिकाउने । जस्तैः गहुँ, जौ बालिमा लाग्ने डढुवा रोग, धर्से रोग, कालो पोके रोगका लागि भाइटाभेक्स–२०० विषादि दुई ग्राम प्रतिकिलो बिउका दरले उपचार गरेर बिउ छर्ने ।

नेपालमा बिउ क्षेत्रमा थुप्रै समस्याहरू रहेका छन् तैपनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । बर्सेनि बिउको आयातमा करोडौँ अर्थ बिदेसिने गरेको छ तैपनि किसानहरूले समयमै भने जति बिउ पाएका छैनन् । कृषिमा आत्मनिर्भर हुनसके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ र कृषि क्षेत्रमा विकास गर्न बिउको गुणस्तर, उत्पादनशीलता तथा समग्र बिउ क्षेत्रमा विकास गरिनुपर्छ ।

प्रतिक्रिया