इन्द्र र हिसिलाले मही पार्ने

काठमाडौं । लेखक इन्द्रप्रसाद अधिकारीको लेखन र हिसिला महर्जनको चित्र रहेको ‘मही पार्ने रहर’ चित्रकथा बजारमा आएको छ । यो श्यामुको कथा हो । कथामा श्यामुलाई घरका ठूला सदस्यले मही पारेको देख्दा निकै रमाइलो लागेको विषयलाई कलात्मक रुपमा उतारिएको छ । साथै उनलाई पनि बाबा र दाइले जस्तो गरी ठेकीमा मदानी हालेर घार्रघुर्र पारेर मही पार्ने इच्छा जागेको विषयलाई उतारिएको छ ।

श्यामुले कथामा मही पार्न अनेक प्रयास गर्छन् । कहिले नेथी चुँडिएर त कहिले हात ठोक्किएर उनी आत्तिए पनि हार भने मान्दैनन् । मही पार्न उनलाई आमाले सिकाएको र त्यसलाई श्यामुले ध्यान दिएर हेरेका छन् । २४ पृष्ठको कथालयले प्रकाशनमा ल्याएको ‘मही पार्ने रहर’ चित्रकथाको मूल्य दुई सय रुपैयाँ राखिएको छ ।

चित्रकथामा श्यामुले कोशिस गरेपछि एक दिन आफैं राम्रोसँग मही पार्न सिकेको कुरालाई प्रस्तुत गरिएको छ । मही पार्न सिकेपछि उनी निकै उत्साहित हुँदै दंग परेका छन् । कुनै खेलाडीले खेल जितेजस्तै दंग पर्दै कुनै पनि काम कोशिस गर्यो भने गर्न सकिन्छ भन्ने सन्देश पुस्तकमार्फत लेखकले दिन खोजेका छन् । यो चित्रकथाले बालबालिकाको नयाँ कुरा सिक्ने रहरलाई कलात्मक ढंगले देखाएको छ ।

प्रतिक्रिया