बढे दुर्लभ एकसिँगे गैँडा

काठमाडौं । विश्वमै दुर्लभ मानिएको एकसिँगे गैँडाको संख्या नेपालमा बढेको छ । पछिल्लो छ वर्षमा गैंडाको संख्या बढेर ७५२ वटा पुगेको छ । यो पछिल्लो गणनाभन्दा १०७ वटा गैंडा बढेका हुन् । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५ संख्या रहेको थियो । शनिवार चितवनमा सार्वजनिक गरिएको संख्या अनुसार गैंडा पाइने चार वटा निकुञ्जमध्ये तीन वटामा बढेको छ भने एउटामा उत्तिकै संख्यामा भेटिएको छ । चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढि ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडाको संख्या रेकर्ड गरिएको छ । पछिल्लो पाँच वर्षमा पर्सा बाहेक अरु राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या निकै सन्तोषजनक रुपमा वृद्धि भएको छ । पर्सामा भने सन् २०१५ को संख्या जस्तै तीन वटा मात्र गैँडा भेटिएका छन् । सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका थिए ।

निक्कै नै दुर्लभ मानिएको एकसिंगै गैंडा बढ्नु नेपालका लागि निक्कै नै खुशीको क्षण भएको संरक्षणविद्हरुले बताएका छन् । गत वर्ष चैत ११ गतेबाट गैँडा गणनाको सम्पूर्ण तयारी भएपनि चैत १० गतेबाट कोरोनाका कारण लकडाउन भएकाले गैँडा गणना हुन सकेन । कोरोनाका कारण लकडाउन भइरहेका बेला यो वर्ष चितवनमा मात्र चार वटा गैँडा चोरी शिकारीबाट मारिएका छन् । यो वर्ष प्राकृतिक रुपमा २६ वटा गैँडाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा चितवनमा मात्र चोरी शिकार र प्राकृतिक कारणले ३० वटा गैँडा नासिएका छन् ।

२०६७ साल पुसबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडाको शून्य चोरी शिकार वर्ष मनाउने घोषणा गरेको थियो । निकुञ्ज प्रशासन, स्थानीय बासिन्दा तथा नेपाली सेना सक्रिय सहभागिताले २०६८ साल पुस २३ गते पहिलो शुन्य चोरी शिकार वर्ष मनाउन विभाग सफल भयो । यो क्रम करिब एक हजार दिन पार गर्दा आर्थिक वर्ष २०७१÷२०७२ मा एउटा गैँडा चोरी शिकारीका कारणले चितवन राष्ट्रिय निकुञ्जमा मारियो । त्यसको पछिल्लो वर्ष फेरी एउटा गैँडा चितवनमै शिकारीले निसाना बनायो र खास काटेर लियो ।

यी दुई घटना पछि निकै सावधानीपूर्वक काम गरेको विभागले बीचका केही वर्ष गैँडालाई चोरी शिकारीबाट बचाएपनि प्राकृतिक कारणले गैँडाको मृत्युदर नियन्त्रण गर्न भने सकेन । चालु आर्थिक वर्षमा २६ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् भने यही वर्षमै चार वटा गैँडा चोरी शिकारीले मारेर खाग लगेका छन् । विगत २२ वर्षको तथ्यांक हेर्ने हो भने चोरी शिकारीबाट भन्दा प्राकृतिक मृत्युले नेपालका गैँडाको संख्यामा निकै क्षति पुगिरहेको छ ।

२२ वर्षको अवधिमा कुल ४९८ वटा गैँडाको मृत्यु भएको छ । ती मध्य ३३३ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चोरी शिकारीबाट १६५ वटा गैँडाको मृत्यु भएको छ । सरकारले एकसिँगे गैँडाको शुन्य चोरी शिकार वर्ष मनाउन थालेपछि चोरी शिकारको दर भने निकै कम भएको छ । सन् २०११ मा पहिलो पटक सुरु गरिएको शुन्य चोरी शिकार वर्षदेखि हालसम्म आउँदा जम्मा ६ वटा गैँडा मात्र चोरी शिकारीका कारणले मरेका छन् भने बाँकी सबैको प्राकृतिक कारणले मृत्यु भएको हो ।

एकसिँगे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज सबैभन्दा ठूलो उर्वरभूमि हो । कुल गैँडाको झण्डै ९० प्रतिशत गैँडा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा मात्र पाइने गरेका छन् । यद्धपी पछिल्ला वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मिचाहा प्रजातिका कारण घाँसे मैदान बिस्तारै नासिँदै गएका छन् भने नारायणी नदीमा आउने बाढी पनि गैँडालाई थप चुनौती बन्न थालेको छ ।

गैँडामा विद्यावारिधि गरेका डा. नरेश सुवेदीका अनुसार चिवतनका घाँसे मैदानहरुमा हरियो घाँस देखिएपनि मिचाहा प्रजातिको जालोले ढाक्दा गैँडालाई बिचरण गर्न निकै कठिनाई हुने गरेको छ भने गैँडाको लागि चाहिने पोसिलो आहार बिस्तारै नासिँदै गएको छ । अर्काेतिर वर्षेनी नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारत लैजाने गरेको छ । बयस्क गैँडा बाढीले बगाएपनि छेउछाउ लाग्न सक्ने हुँदा भारतमा फेला पार्न सकिन्छ तर बच्चालाई भने बगाएर लैजाने हुँदा नेपालमा गैँडाको संख्या घट्ने गरेको विभागको अनुमान छ ।

यस वर्ष यही चैत ९ गतेबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई मिलाएर एउटै कलष्टर बनाई गैँडा गणनाको शुभारम्भ गरिएको थियो । यी दुई निकुञ्जलाई नौ वटा ब्लकमा विभाजन गरेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो ।

गैँडा गणना गर्दा गैँडाको आहारको अवस्था, पानीको स्रोत तथा घाँसे मैदानको अवस्था, गैँडा बासस्थानको चुनौती, गैँडाको प्रजननको अवस्था लगायतका कुराहरुको पनि अध्ययन गरिएको इकोलोजिष्ट आचार्यले बताए । गैँडा गणनामा चितवनमा ३० वटा हात्ती, बर्दियामा १० वटा हात्ती र शुक्लाफाँटामा ६ वटा हात्तीको प्रयोग गरी २०० भन्दा बढी दक्ष जनशक्तिको प्रयोग गरिएको थियो ।

गैँडा गणना गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा बाघको आक्रमणमा परी गैँडा गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीको मृत्यु भएको थियो । आक्रमण गर्ने समस्याग्रस्त बाघलाई तत्काल डार्ट गरी ललितपुरको सदरचिडियाखानमा राखिएको छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा ध्रुबे हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति कोषका संरक्षण अधिकृत बिनोद श्रेष्ठ लगायतका चार जना घाइते भएका थिए ।

प्रतिक्रिया