एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं । नेपाल एपिएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता लिग चरणमा अपराजितका साथ शीर्ष स्थानका साथ फाइनलमा पुगेको छ । एक खेल अगावै फाइनलमा पुगेको एपिएफले लिग चरणको अन्तिम खेलमा बिहिबार लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै अपराजित रहेको हो ।

जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २ रन बनायो । लुम्बिनीकी ओपनर तथा विकेटकिपर लक्ष्मी चौधरीले ३७ बलमा ५ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिइन् । नितु भण्डारी २७ बलमा १ चौका सहित १७ रनमा आउट भइन् । कप्तान नेरी थापा १९ बलमा ४ चौका सहित २७ रनमा अविजित रहिन् ।

सरस्वती घर्तीमगर २१ रनमा आउट भइन् । एपिएफकी बिनु बुढा मगर र रेखा रावलले १–१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिइन् ।

कप्तान सीता रानामगरले १८ बलमा ५ चौका सहित २८ रन जोडिन् । ओपनर राजमति ऐरी २३, इन्दु बर्मा ३, ज्योति पाण्डे ५ र सरिता मगर ७ रनमा आउट भइन् । रेखा रावल ३ र विन्दु बुढा ५ रनमा अविजित रहे । लुम्बिनी प्रदेशकी स्वस्तिका बजागाई र कृतिका मरासिनीले २–२ विकेट लिए । नेरी थापा मगर र सरस्वती पुनले १–१ विकेट लिए ।

अंक तालिका एपिएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम प्रदेश ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । उपाधिको लागि एपिएफ र सुदूरपश्चिमबीच शनिवार प्रतिस्पर्धा हुने छ । प्रदेश–१ ४ खेलमा २ मा हार र २ मा जित सहित तेस्रो स्थानमा रह्यो । ललितपुर मेयर–११ ४ खेलमा ३ मा हार र १ मा जित सहित २ अंकका साथ चौथो स्थानमा रह्यो । लुम्बिनी प्रदेश ४ खेलमानै हारका साथ पुछारमा रहँदै बाहिरियो ।

प्रतिक्रिया