मञ्चमै विवाद, विजेता घाइते

कोलम्बो । श्रीलंकामा भएको ‘मिसेज श्रीलंका’ प्रतियोगिताको मञ्चमा विवाद भएपछि विजेता नै घाइते भएकी छन् । विवादपछि प्रतियोगिताको ताज खोसाखोस हुँदा विजेता पुष्पिका डी सिल्भाको टाउकोमा चोट लागेको जनाइएको छ । आयोजकले आइतबार राति आयोजना गरिएको प्रतियोगितामा डी सिल्भालाई विजेता घोषणा गरे ।

सो लगत्तै सन् २०१९ की विजेता क्यारलाइन जुरीले डी सिल्भाको सम्बन्धविच्छेद भइसकेको भन्दै ताज खोसिन् र प्रतियोगिताकी उपविजेतालाई लगाइदिइन् । ताज खोस्ने क्रममा विजेता घोषित डी सिल्भा घाइते हुन पुगिन् । यो उपाधि सम्बन्धविच्छेद नभएकी विवाहित महिलाले मात्र पाउने उनको जिकिर थियो । अहिले उक्त अवार्ड सिल्भालाई नै फिर्ता दिइएको आयोजकले जनाएको छ ।

साथै आयोजकले उनको सम्बन्धविच्छेद नभएको समेत स्पष्ट पार्दै घटनाप्रति दुःख व्यक्त गर्दै सिल्भासँग माफीसमेत मागेको छ । आयोजकले उनी आफ्ना पतिसँग छुट्टिएर बसे पनि सम्बन्धविच्छेद भने नभएको बताएको छ । साथै आयोजकले जुरीले गरेको व्यवहार अपमानजनक भएको भन्दै दुःख व्यक्त गरेको छ ।

सिल्भाले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त घटनामा आफ्नो टाउकोमा चोट लागेको र त्यसको उपचारको लागि अस्पताल गएको जनाएकी छन् । उनले आफूमाथि भएको अनुचित तथा अपमानजनक व्यवहारविरुद्ध कानूनी कदम चाल्नेसमेत बताएकी छन् । प्रहरीले पूर्वविजेता जुरीसँग उक्त घटनाबारे थप सोधपुछ गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया