पुस्तकमा गणेशमानको संघर्ष

काठमाडौं । नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षबारे लेखिएको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ बजारमा आउने भएको छ । गणेशमानका बारेमा नयाँ पुस्तालाई विस्तृत जानकारी दिने उद्देश्य राखेर उनीकी छोरी डा. मीता सिंहले उक्त पुस्तक लेखेकी हुन् । डा.मीताले लेखेको संस्मरणात्मक पुस्तकको २०४६ चैत २६ गते जनआन्दोलन सफल भएको दिनको सन्दर्भ पारेर पुस्तकको कभर सार्वाजनिक गरिएको छ ।

नेपालमा हरण गरिएको प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलन ०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहकै नेतृत्वमा भएको थियो । जनतालाई स्वतन्त्रता दिलाउने आन्दोलनको नेतृत्व गरेका गणेशमानको योगदान, नेपाली राजनीति र समाज रुपान्तरणको विषयलाई पुस्तकमा उधिनिएको छ ।

डा. मीताले पुस्तकमा प्रतिकूल अवस्थामा आन्दोलनको नेतृत्व गरेका गणेशमानका बारेमा मात्र नभएर पिता गणेशमानको पाटोलाई समेत चित्रण गरेकी छन् । नेपाली समाज, राजनीति र परिवर्तनको विषयलाई समेट्दै गणेशमानको संघर्षको पाटोलाई पुस्तकमा केलाइएको छ । गणेशमानले प्रजातान्त्रिक समाजवादका लागि सन् १९३६ देखि १९९७ सम्म गरेको संघर्षको वर्णनसँगै विभिन्न दुःखका जंघारलाई चित्रण गरिएको छ । नेपाली र अंग्रेजी भाषामा प्रकाशित हुने उक्त पुस्तक छिट्टै बजारमा आउने जनाइएको छ ।

डा.मीताले भनिन्, ‘मैले यो पुस्तक विशेष गरेर युवापुस्तालाई नेपालमा प्रजातन्त्र रातारात आएको होइन भनेर बुझाउन लेखेकी हुँ ।’ उनले लामो संघर्ष र धेरैको बलिदानीले आएको प्रजातन्त्रको कदर गर्दै यसका लागि लड्नेप्रति सम्मान देखाउनुपर्छ भनेर पुस्तक लेखेको जिकिर गरिन् । ३१ वर्षअघि २६ चैतमा जनआन्दोलन सफल भएको थियो । सो जनआन्दोलनको सर्वोच्च कमाण्डर सर्वमान्य नेता गणेशमान थिए । यो पुस्तकलाई सांग्रिला बुकले बजारमा ल्याउन लागेको हो ।

प्रतिक्रिया