वेदना बिर्साउने चौतारी बन्दै समूह

मानवअधिकारका लागि महिला, एकल महिला समूहमा करिब डेढ लाख एकल महिला आवद्ध छन् । उनीहरूका हकहित, अधिकारका पक्षमा क्रियाशील हुने उद्देश्यले ०५२ सालमा स्थापना गरिएको संस्थाले देशभर सञ्जाल विस्तार गरी महिलालाई संगठित गर्नुका साथै अहिले १७ जिल्लामा आफ्नै भवन स्थापना गरेको छ । विपत्मा परेका एकल महिलाका दुःख, वेदना बिर्साउने चौतारीका रूपमा ती भवन विकास गरिएको छ । देशभर करिब सात लाख एकल महिला रहेको उक्त संस्थाले जनाएको छ ।

संस्थामा आवद्ध महिलाको सामाजिक रूपान्तरणका लागि विभिन्न सीपमूलक कार्य सञ्चालन गर्दै आएको छ र कुनै बेला भने उक्त संस्था समयमा दर्ता गर्न चुनौती थियो । ती महिला खुलेर संगठनमा आउन डराउँथे । समयक्रमसँगै भइरहेको क्रमिक परिवर्तनले अहिले एकल महिलाका पक्षमा तथा सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम हुन थालेका छन् ।

स्थानीय तहदेखि, प्रादेशिक हुँदै केन्द्रीय तहसम्म उनीहरूलाई रोजगारमूलक बनाउन व्यावसायिक कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यसका लागि आवश्यक रकम बजेट निर्माणमा व्यवस्थापन हुन थालेको छ । समूहका निर्देशक राजीन रायमाझीले विकास तथा नीति निर्माण तहमा पनि एकल महिलाको उल्लेख्य सहभागिता बढेको बताए ।

समूहको निरन्तर प्रयासका कारण एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुँदै गएकोमा उनी भने अहिले निकै खुशी छन् । एकल महिलामाथि विभिन्न वाहनमा हुने हिंसा तथा दुव्र्यवहारमा कमी आएको छ । धर्म तथा संस्कृतिको आडमा हुने अवहेलना समेत घटेका छन् । समूहले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एकल महिलाको सामाजिक रूपान्तरणमा आधारित अभियानको अभिलेखीकरण कक्ष सञ्चालनमा ल्याएको छ ।

समूहले विगतमा देशका विभिन्न स्थानमा गरेका कार्यक्रम तथा विभिन्न समयमा एकल महिलाको अधिकार, सामाजिक सुरक्षाका विषयमा गरेका प्रयासलाई व्यवस्थित तरिकाले अभिलेख गरेको छ । बुढानीलकण्ठस्थित कार्यालय परिसरमा स्थापना गरिएको उक्त कक्षमा एकल महिलाको सवलीकरण तथा सशक्तीकरणसँग जोडिएका सबै पक्षलाई समेटेर फोटो, सन्देशमूलक सामग्री राखिएको छ । त्यसैगरी संस्थाले गरेका उपलब्धिलाई संस्थागत विश्लेषण, देशका सबै जिल्लामा विस्तार गरिएको सञ्जालका साथै प्रादेशिक संरचनामा समूह संख्या लगायत राखिएका छन् ।

अधिकारकर्मी एवं पत्रकार नेहा शर्माले विधवाको उमपा भिरेर सेतो कपडा पहिरिएर बस्नुपर्ने अवस्था बदलिँदै गएको बताइन् । उनीहरूलाई समाजमा पुनःस्थापित गर्न आवश्यक भएका नीतिगत सुधारका कार्यक्रम आवश्यक रहेको उनको धारणा छ । उनको अनुसार उनीहरूलाई विभेद होइन माया र स्नेहको खाँचो छ ।

सामाजिक सांस्कृतिक तथा सशक्तीकरण र अभियान, दिगो जीविकोपार्जनमार्फत आर्थिकस्तरमा सुधार, मानवअधिकारका लागि शान्ति र न्याय, स्थानीय सुशासनमा एकल महिलाको सहभागिता र क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा एकल महिलाको सवालमा मूल प्रवाहीकरणमा संस्था हाल सक्रिय छ । समूहले टोखामा करिब ३५ रोपनी जग्गामा विशेष प्रकारको उद्यान निर्माण गर्न विस्तृत प्रतिवेदन परियोजना निर्माण गर्न लागेको छ ।

उक्त संस्थाले शुरुमा गरेको दुःख, संघर्षका कारण अहिले एकल महिला सामाजिक सुरक्षा कोष सरकारले स्थापना गरेको विचार व्यक्त गर्दै समूूहका संस्थापक लीली थापाले कोषबाट सम्बन्धविच्छेद गरेका, विधवा, ३५ वर्षसम्म अविवाहित, अंशवण्डा गरी पतिसँग अलग भएका महिला, पति बेपत्ता भएका महिलाले सुविधा पाउने बताइन् । एकल महिलाले ६० वर्षपछि मात्रै भत्ता पाउने व्यवस्था भएकामा हाल सबै उमेरका एकल महिलाले भत्ता पाउने व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया