खोजखबर

‘कोरोनाको समयमा प्रहरी अस्पतालले गरेको काम सराहनीय’

सौर्य अनलाइन २०७७ चैत २६ गते १७:३४ मा प्रकाशित

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोनाको समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताएका छन् ।

नेपाल प्रहरी अस्पतालको ३७औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीलाई सामान्य जीवनमा फर्काउनका निम्ति अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताएका हुन् ।

महानिरीक्षक थापाले प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्वयन निरन्तर र दीर्घकालीन हुनुपर्ने उल्लेख गर्दै अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत बताए । कार्यक्रममा महानिरीक्षक थापाले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाइन सेवा शुभारम्भ गर्नुका साथै अस्पताल दर्पण–२०७७ र नेपाल मेडिकल जर्नल विमोचन गरेका थिए ।

उनले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको रु दुई करोड अस्पतालका मेडिकल निर्देशक प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे ।

अस्पतालकी मेडिकल निर्देशक डा. सिंहले प्रहरी अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नवीनतम प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताइन् ।

सो अवसरमा पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, रमेशचन्द ठकुरी, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय