सौन्दर्य क्षेत्रमा जम्दै अमृता

काठमाडौं । सौन्दर्य क्षेत्रमा अमृता कँडेल मेकअप आर्टिस्ट एवं प्रशिक्षकका रुपमा परिचित छन् । सामाजिक कार्यमा समेत त्यत्तिकै सक्रिय उनी सौन्दर्य क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिन्छिन् । मानिसका जीवन जिउने फरक फरक सीप, कला हुन्छन् । तिनै कला र सीपलाई सदुपयोग गर्दै मानिसअघि बढ्छ । मानिसलाई सुन्दर, चिटिक्क बनाउने पनि सीप र कला हुन्छ । प्रायः मानिसलाई सुन्दर र चिटिक्क देखिने रहर हुन्छ । मानिसलाई आफूमा भएको सुन्दरतालाई अझ निखार ल्याउने काम सौन्दर्य क्षेत्रमा काम गर्ने व्यक्तिले गर्छन् ।

सौन्दर्य क्षेत्रमा रहेर डेढ दशकभन्दा लामो समयदेखि सक्रिय अमृता भन्छिन्, ‘हरेक मानिसमा आफ्नो रुचिको कार्य ग¥यो भने त्यसमा सफलता प्राप्त गर्न सक्छ ।’ उनले आफूमा रहेको सीपलाई व्यवसायिककरण गरेर आत्मनिर्भर बन्न सक्नुपर्ने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘आफू केमा खुसी हुन्छ, त्यो अन्तर्मनमा थाहा हुँदोरहेछ । खुसी लाग्ने चीज चाहिँ गर्नुपर्छ, मैले यही क्षेत्रमा खुसी पाएँ । साथै आफूमा रहेको सीपलाई सदुपयोग गर्दै खुसी पाउन सकेको छु ।’

उनले आत्मनिर्भर भइ बाँच्न सक्नु र आफ्नो सीपलाई व्यावसायमा लगाउँदा मिल्ने खुसी नै सफलता भएको सुनाइन् । उनले भनिन्, ‘आफूले काम गर्दा खुसी मिल्छ भने त्यही नै सपना हो । हरेक मानिससँग आफ्नै किसिमको क्षमता हुन्छ । त्यो क्षमतालाई चिन्न सक्नुपर्छ ।’ २०६३ सालदेखि यस क्षेत्रमा लागेकी अमृताले काठमाडौं कालोपुलमा रहेको जुगल इङ्लिस बोर्डिङ स्कुलबाट एसएलसी सकेपछि सौन्दर्यसम्बन्धी प्रशिक्षण लिएको जनाइन् । त्यसपछि उनले उच्चशिक्षा अध्ययन गर्दै पूर्णरुपमा समर्पित भएर यस क्षेत्रमा लागेको बताइन् ।

सुरुमा आइटिसी ट्रेनिङ इन्स्टिच्युटबाट आधारभूत, डिप्लोमा/एड्भान्स र स्पेशल गरी एकवर्षे ब्युटिसियन तथा मेकअप आर्टसम्बन्धी प्रशिक्षण लिइन् । त्यसपश्चात् कालोपुलमा ‘अमृता ब्युटी पार्लर’ खोलिन् । कामको अनुभव र विस्तारका कारण उनले २०६८ सालबाट सेवा विस्तार गरेको सुनाइन् । ‘अमृता ब्युटी पार्लर’ बाट ‘अमृता ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’ बनाउँदै उनले आफूले सिकेको सीप हस्तान्तरण गर्दै अघि बढेको जनाइन् ।

केही समयअघिसम्म नेपालमा सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले नेहेरिएको सुनाउँदै उनले पछिल्लो समय परिस्थितिसँगै व्यक्ति र समाजको सोचमा पनि आमूल परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘पहिले यसक्षेत्रप्रति मानिसको हेर्ने नजर अल्लि फरक भए पनि अझ पछिल्ला दिनमा त मानव जीवनको लागि सौन्दर्य सिँगार अपरिहार्यजस्तै बनेको छ । र त यो पेशा व्यावसायिक रूपमा नै दु्रत गतिमा फस्टाउन थालेको छ ।’

आफनै ट्रेनिङ सेन्टरमार्फत धेरैलाइ यससम्बन्धी प्रशिक्षण दिएकी अमृता सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरकफरक रूपले अर्थाइने जिकिर गरिन् । उनी भन्छिन्, ‘कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन् । कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ ।’ यसका विविध आयाम र यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्नु उनी बताउँछिन् । फेरि पनि सबैको मनोविज्ञान सुन्दर देखिने नै हुन्छ । पेसा, व्यवसाय तथा व्यक्तिगत सोचका आधारमा सुन्दरताका कारण फरकफरक हुनसक्ने उनी जिकिर गर्छिन् ।

सामाजिक कार्यमा समेत सक्रिय अमृत भन्छिन्, ‘एकपटक सबैले सामाजिक उत्तरदायित्व मनन् गरेर सहयोगको हात फैलाउन चाहने हो भने असम्भव केही पनि छैन । थोपाथोपाबाट समुद्र बनेजस्तै हरेकले गर्ने यथाशक्य सहयोगबाट गरिब तथा विपन्नलाई ठूलो राहत पुग्दछ ।’ उनले हरेक व्यक्तिमा मानवीय संवेदना र सामाजिक भावना हुने हो भने अवश्य असल समाज निर्माण गर्न सहयोग पुग्ने बताइन् । उनी भन्छिन्, सामाजिक विकास र समृद्धिका लागि पनि हरेकले यस्ता महान् कार्यमा आफूलाई अग्रसर बनाउन जरूरी छ ।’ उनले सौन्दर्य क्षेत्रमा आउन चाहनेलाई प्रतिज्ञा र प्रतिवद्धतासहित आउन आग्रह गर्छिन् । उनले भनिन्, ‘राम्रो काम गर्नसक्ने व्यक्तिले अवसर पाउँछ नै । तर, काममा फरकपन ल्याउन सक्ने खुवीको विकास गर्नु सक्नुपर्दछ ।’

प्रतिक्रिया