नेयमारको बार्सिलोना फर्कने इच्छा

पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारले क्लबसँगको सम्झौता नविकरणको विषय तत्कालका लागि थाती राखेका छन् । पूर्व सहकर्मी लिओनल मेस्सी बार्सिलोनामै रहने सम्भावना रहेपछि नेयमारले पनि आफ्नो सम्झौताको विषयलाई तत्काल अघि बढाउन चाहेका छैनन् । २९ वर्षे ब्राजिलियन फरवार्डले फेरि पनि अर्जेन्टिनी सुपर स्टार मेस्सीसँग खेल्ने इच्छा रहेको बताउँदै आएका छन् । मेस्सी बार्सिलोना छाडेर पिएसजी जाने चर्चा केहि अघि चलेको थियो । यसैबीच, काटलान सञ्चारमाध्यमले मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्नेमा नेयमार विश्वस्त रहेको बताइएको छ ।

त्यति मात्र होइन नेयमारले आफू बार्सिलोना फर्कन चाहेको पनि समाचारमा उल्लेख गरिएको छ । समाचारमा बार्सिलोनाका पूर्व स्काउट एन्ड्री क्रुलाई उद्धत गरिएको छ । ‘नेयमार र मेस्सी फेरि सँगै खेल्नेछन्, पिएसजीका लागि होइन बार्सिलोनाका लागि,’ क्रुले भनेका छन् । यद्दपी नेयमार बार्सिलोना फर्कन त्यति सहज भने छैन । कोभिडका कारण टोलीको आर्थिक अवस्था कमजोर रहेको बताइएछ । तर, त्यसका लागि नेयमार पनि कम रकममा मान्न तयार हुन सक्ने बताएको छ । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । पिएसजी पुगेको केहि समयमै उनी बार्सिलोना फर्कन चाहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । बार्सिलोनाका निर्देशकहरुले पनि नेयमार फर्कने विषयलाई अस्वीकार गरेका छैनन् । त्योसँगै उनीहरुले बारुसिया डर्टमन्डका इर्लिङ हालान्ड र इन्टरका फरवार्ड लाउटारो मार्टिनेजमा पनि चासो राखेका छन् ।

प्रतिक्रिया