आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं । तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल लिगको एक खेल अगावै फाइनल पुगेको हो । यसअघिका सबै पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ । हेल्प नेपालले बुधबार अर्को विभागीय टोली एपीएफसंग लिगको अन्तिम खेल खेल्नेछ । एकपक्षीय जस्तै बनेको मंगलबारको खेलमा हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१९, २५–१६ ले सहजै पराजित गरेको हो ।

हेल्प नेपालका लागि भारतीय भलिबल टिमका कप्तान विनित कुमारले तीन सेटमा गरेर कूल २२ अंक जोडे । यस्तै अर्का भारतीय खेलाडी रोहित कमारले १६ अंक जोडे । आर्मीका मानबहादुर श्रेष्ठले कूल १० अंक जोडे । विनितले नेपाली दर्शकको अगाडि खेल्न रमाइलो लागेको बताए । ‘नेपाली दर्शकको समर्थन राम्रो छ । त्यसले हाम्रो आत्मविश्वास बढेको छ’ विनितले भने ।

तेस्रो पटक नेपालमा खेल्न आएका विनितले नेपाली खेलाडीहरुको भलिबलको आधार नै कमजोर रहेको बताए । उनले नेपाली खेलाडीको फिटनेस भने राम्रो रहेको र आफ्नो टिममेट अमृत केसीको खेल पनि राम्रो रहेको बताए । उनी यसअघि २०१५ को क्लब लिग र २०१९ को १३औं साग खेल्न नेपाल आएका थिए । विनितले नेपालमा पछिल्लो चार वर्षदेखि उही खेलाडी रहेकाले खेल राम्रो हुन नसकेको बताए ।

‘भारतमा धेरै खेलाडी छन् नेपालमा कम छन्’ उनले भने, ‘चार वर्षदेखि यहाँ उही खेलाडी छन् ।’ लगातार पाँच खेल जित्दै फाइनल पुगेपछि हेल्प नेपालका प्रशिक्षक रमेश केसीले आफ्नो टिमको स्पाइक राम्रो भएको बताए । ‘हाम्रो स्पाइक राम्रो छ । रिसिभ पनि राम्रो भयो भने झन् राम्रो हुन्छ’ केसीले खेलपछि भने, ‘ब्लकमा पनि हामीलाई फाइदा छ । अनुभवी खेलाडीहरु भएकाले सहज भयो ।’

उनले लिगको अन्तिम खेल पनि जित्ने लक्ष्य रहेको बताए । ‘अब एपीएफसंगको खेल पनि जित्ने लक्ष्य छ । गेम हो हार जित त हुन्छ त्यो आफ्नो ठाउँमा छ । तर हामी जितेरै फाइनल पुग्न चाहन्छौं’ उनले भने । उनले टिममा भारतीय खेलाडी बाहेक नेपाली खेलाडीले पनि राम्रो खेलिरहेको बताए । ‘हाम्रो नेपाली खेलाडी पनि भारतीय सेनामै कार्यरत छन् । उता र यता खेल्दा केही फरक भएकाले हातमा अलि बल लागेको छैन । विस्तारै सुधार हुँदैछ’ उनले भने ।
प्रशिक्षक केसीले फाइनलमा जुन टिम आएपनि फरक नपर्ने बताए । ‘अरु टिम उस्तै छन् । जुन टिम आएपनि ठीक छ ।’

उता दोस्रो हार बेहोरेपछि आर्मीका प्रशिक्षक जगतबहादुर सिंहले हेल्प नेपाल विरुद्ध रणनीतिमा असफल भएको बताए । ‘खेल कहाँ बिग्रियो भन्दा पनि एकलौटी नै भयो’ सिंह भने । ‘हाम्रो रणनीति थियो उनीहरुलाई रोक्ने तर त्यसले काम गरेन । हाम्रो ब्लक र रिसिभ नै कमजोर भयो ।’ अब आर्मीले बुधबार नेपाल पुलिससंग आफ्नो अन्तिम लिग खेल खेल्नेछ । यदि हेल्प नेपालले एपीएफलाई पराजित गरेमा र आर्मीले पुलिसलाई सोझो सेटमा हराएमा मात्र आर्मीको फाइनल पुग्ने सम्भावना छ । आर्मी पराजित भएमा भने फाइनल पुग्ने छैन । आर्मीको ५ खेलबाट ९ अंक छ र तेस्रो स्थानमा छ ।

मंगलबारै भएको अर्को खेलमा नेपाल पुलिसले एपीएफलाई ३–२ को सेटमा हरायो । पुलिसले सुरुवाती दुई सेट २५–२१ र २५–२३ ले जित्दै खेलमा पकड बनाएपनि एपीएफले पुनरागमन गर्दै लगातार दुई सेट २५–२० र २५–१७ जितेपछि खेल निर्णायक सेटमा पुगेको थियो । अन्तिम सेट पुलिसले १५–१३ ले जित्दै खेल जितेको हो ।
दोस्रो हारपछि एपीएफ पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यस्तै पुलिसले तेस्रो जितपछि ८ अंक जोडेको छ । अब बुधबार पुलिसले आर्मीसंग खेल्नेछ ।

प्रतिक्रिया