नेपालको खेल क्षेत्रलाई व्यवस्थित गरियोस्

आज देशको राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण छ । फाल्गुन २३ गतेको सम्मानित सर्वोच्च अदालतको फैसलावाट वहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटित भएको छ । आपसमा एकिकृत भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विउँतिएका छन् । सर्वोच्च अदालतकै निर्णयबाट विउँतिएको हाम्रो पार्टी नेकपा एमाले भित्रको अन्तरसंघर्ष पार्टीको स्थापित विधिबाट समाधान गर्न पार्टी अध्यक्ष असफल हुनु भएको छ । पार्टी नेतृत्वको पूर्ण असफलता अहिले सतहमा देखिन थालेको छ । त्यसैको परिणाम स्वरूप अहिले नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

आफ्नो पार्टी भित्रको चरम विवादलाई नजिकवाट हेरी रहेको नेपाल खेलकुद महासंघ अहिले पनि विवादको सहज समाधान भएको हेर्न उत्सुक छ । पार्टी भित्रको अन्तरसंंघर्षलाई विधि सम्मत ढंगले वहस, खेलको निर्धारित नियम र परम्परा अनुसार, विमर्श र आपसी सहमतीको आधारमा समाधान भएको देख्न लालायित छ । नेपाल खेलकुद महासंघ कसैलाई पनि कार्यवाही किनारा लगाउने र कसैलाई देवत्वकरण गर्ने उद्देश्यबाट होइन, आपसी सम्मान र सहमतीवाट समस्याको समाधान गर्दै एकता वद्ध पार्टी चलेको हेर्न चहान्छ । देशको खेल क्षेत्रमा कृयाशिल हामी खेलकर्मीहरूको संगठन कसैको जय पराजय होइन, । सवैको उन्नती र प्रगति भएको हेर्न चहान्छ । नेकपा एमाले एकता वद्ध भएको देख्न चहान्छन ।

अहिले नेकपा एमालेमा विधान मिच्ने र फल्स खेल्ने कामको सुरूवात स्वयम अध्यक्ष कमरेडवाट भएको छ । फल्स खेले पनि आफुलाई सच्याउने तिर होइन, रेफ्रीको भूमिका खेल्नु पर्ने अध्यक्ष ज्यू जथाभावी रेडकार्ड देखाउन तल्लिन भएको देखिदैछ । यस्तो तरिकाले खेल सुव्यवस्थित हुन सक्दैन । विशेष गरी आलोचना र आत्म–आलोचनाको माध्यमबाट समस्या समाधान गर्ने पार्टीको स्थापित परम्परा र नीति विपरीत आलोचना गर्नेहरू सवैलाई तह लगाउन रातो कार्ड देखाई दिने प्रवृित सुरू भएको छ । आफुसँग असहमत सवैलाई कार्वाहीको डण्डा चलाएर तर्साउने विग्रहकारी प्रवृित सतहमा आएको छ । यो निश्चय पनि देशको लागि राम्रो लक्षण होइन । यसले पार्टीलाई एक रत्ती पनि फाइदा गर्ने वाला छैन । तसर्थ नेपाल खेलकुद महासंघ यस्ता खालका विनाशकारी र पूर्वाग्रह प्रेरित कार्यवाहीहरू फिर्ता गरी वहस, विमर्श छलफल र सहकार्यको आधारमा पार्टी भित्रको समस्या समाधान गर्न जोडदार माग गर्दछ ।

नेपाल खेलकुद महासंघ नेकपा एमालेको आधिकारिक जन संगठन हो । यो देशमा खेलकुदको विकास र खेलकुद नीति निर्माणमा योगदान गर्ने उदेश्यले कृयाशिल संगठन हो । पार्टी एकता भई नेकपा गठन, एकता प्रकृयामा आएको समस्या र अन्योलका कारण केही समय यसका गतिविधिहरू पुरै अलमलिन पुगे । हामीले एउटा नयाँ परास्थितीमा महासंघको राष्ट्रिय भेला सम्पन्न गरेका छौं । राष्ट्रिय भेला पछि महासंघले देश व्यापीरूपमा आफुलाई पुनर्गठन गरेर नेकपा एमालेको पुनर्गठनमा समेत सघाउन लागि परेको छ । यसका लागि २०७८ को वैशाख भित्रमा नेपाल खेलकुद महासंघका सवै प्रदेश, राष्ट्रिय संघहरू र जिल्ला कमिटीको वैठक तथा भेलाहरू सम्पन्न गरी संगठनको दरो संरचना निर्माण गर्ने कार्याको थालनी गर्दै छ । दह्रोे तथा व्यवस्थित संगठनको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई नयाँ गति दिने काममा लाग्नु पर्दछ । खेलकुद संगठन र खेलकुद क्षेत्रको विकासमा पूर्ण शक्तिका साथ कृयाशिल हुनु पर्दछ ।

नेपाल खेलकुद महासंघ नेपाल सरकारको खेलकुद क्षेत्रमा देखिएको उदासिनता र लापरबाही प्रति असन्तुष्टि प्रकट गर्दछ । विशेष गरी खेलकुद क्षेत्रको दुखद अवस्था प्रति चिन्ता जाहेर गर्दछ । प्रत्येक वर्ष बढाउदै लैजानीु पर्ने खेलकुद मन्त्रालयको बजेटलाई वर्षेनि घटाउदै लगेकोमा महासंघको गम्भिर ध्यानआकर्षण भएको छ । सामान्यतः प्रत्येक मन्त्रालय, विभाग र विकास क्षेत्रको वजेट हरेक वर्ष कम्तीमा १० प्रतिशत बढाउने गरिन्छ । तर दुर्भाग्य नेपाल सरकार खेलकुद मन्त्रालयको वजेट २०७२÷०७३ सालको बजेटको तुलनामा प्रत्येक वर्ष करिव १० प्रतिशत भन्दा वढिले घटिरहेको अवस्था छ । नेपाल खेलकुद महासंघ खेलकुद क्षेत्रमा कमसेकम १ प्रतिशत वजेट छुट्याउन पर्ने अडान राख्दै आएको संगठन हो । महासंघ खेलकुदको बजेट वढाएर कम्तिमा १ प्रतिशत बजेट पु¥याउनु पर्ने मागलाई कार्यान्वयन गर्न जोडदार माग गर्दै आएको छ ।

देशमा अहिले पनि आवश्यक मात्रामा खेलकुद पूर्वाधारको विकास हुन सकिरहेको छैन । नेपाल सरकारले खेल–पूर्वाधारको विकासमा खासै ध्यान दिएको अनुभूति भएको छैन । राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगीता आयोजना गर्नका लागि वाध्यात्मक रूपले अत्यावश्यक पूर्वाधार निर्माण गर्ने वाहेक सरकारले कुनै नयाँ कार्यक्रम अघि वढाएको छैन । २०७१ सालमा सुरू गरिएको मूलपानी स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन । २०७२ सालमा त्रिभुवन विश्व विद्यालयसाग सहमती गरी डिपीआर तयार गरिएको त्रिभुवन विश्वविद्यालय परिसर भित्र बनाइने पाचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल अहिलेसम्म सुरू हुन समेत सकिरहेको छैन । यस्तै विरगंज रंगशाला र राजविराज रंगशाला सहित थुप्रै रंगशालाको मर्मत कार्य समेत हुन सकेको छैन । धनगढी रंगशाला, विराटनगरको वैजनाथ क्रिकेट मैदान र कोहलपुर क्रिकेट मैदान सहित आठवटा क्रिकेट मैदान अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकिरहेको छैन । यतातिर सरकारको गम्भीर ध्यानाकर्षण गर्न चहान्छौ र खेलकुदको विकासका लागि स्तरीय पूर्वाधार आवश्यक हुने कुरा महशुस गर्न आग्रह गर्दछौ ।

खेलकुदको विकासमा सव भन्दा महत्वपूर्ण कुरा स्वस्थ्य तथा तालिम प्राप्त खेलाडी हुन् । आधुनिक कला, कौशल र योग्यताले भरिपूर्ण प्रशिक्षकहरूको व्यवस्थापन हो । नेपाल सरकारसँग अहिलेसम्म पनि खेलाडीहरूलाई व्यवस्थित तालिम र प्रशिक्षण दिने र अन्तर्राष्ट्रिय स्तरको कला, कौशल र क्षमता भएका प्रशिक्षक तयार गर्ने वारे व्यवस्थित सोच र योजना देखिदँैन । खुल्ला प्रतिस्पर्धा द्वारा खेलाडी छनौट गर्ने, छनौट गररिएका खेलाडीहरूलाई प्रशिक्षण दिने र योग्य एवम सक्षम प्रशिक्षक उत्पादनका लागि हामीले देशमा तत्काल एउटा खेलकुद एकेडमी स्थापना गर्न माग गरेका हौ । देशका खेलाडी तथा प्रशिक्षकहरूलाई तालिम तथा प्रशिक्षण सहित कमसेकम खेलकुद विषयमा स्नातक तहसम्म अध्ययन तथा अध्यापन गराउने काम गर्न खेलकुद एकेडेमीको माग गरी आएका छौ । एक दशक भन्दा वढिसमय विति सक्दा पनि सरकार एक कदम पनि अघि वढ्न सकेको छैन । खेलकुद क्षेत्रको निम्ती यो ज्यादै दुखद पक्ष हो । महासंघ सरकारसाग तत्काल देशमा खेलकुद एकेडेमी स्थापना गर्न र खेलकुदका वारेमा पठन पाठन सुरू गर्न जोडदार माग गर्दछ ।

यस्तै खेलकुदको विकासलाई गती दिन र खेलाडीहरूको स्तर वृद्धि गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनु पर्दछ । यसको निम्ति सरकारको यथेष्ठ सहयोगी भूमिका र प्रोत्साहन आवस्यक पर्दछ । स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले आपसी सहकार्यका आधारमा आ–आफ्ना तहका खेलकुद प्रतियोगिताहरू आयोजना गर्नुपर्दछ । विशेष गरी संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्थित क्यालेन्डर वनाई नियमित खेलकुद प्रतियोगिता आयोजना गर्न प्रेरित गर्नुपर्दछ । तर, वृहत्तर खेलको हितमा यसो हुन सकिरहेको छैन । केन्द्र सरकारले प्रत्येक दुई वर्षमा आयोजना गर्ने गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना नहुदा नेपाली खेलाडीहरूलाई निराश वनाउनु स्वभाविक हो । नेपाल सरकारले नेपाली खेलाडीहरूलाई उत्साही बनाउन तत्काल प्रदेश र राष्ट्रिय स्तरका वृहद खेलकुद प्रतियोगितालाई सुचारू गर्न महासघ जोडदार माग गर्दछ । यसमा हामी निकै चिन्तीत र चासोका साथ सरकारका आगामी भूमिकाको प्रतिक्षामा छौं ।

२०७७ चैत्र २० गते काठमाडौंमा सम्पन्न नेपाल खेलकुद महासंघको विशेष राष्ट्रिय भेला र २१ गते सम्पन्न केन्द्रीय कमिटी वैठकबाट पारित राजनीतिक तथा खेलकुद सम्वन्धि शान्दर्भिक प्रस्तावहरू हामीले आम नागरिक र खेलप्रेमी माहानुभावका लागि जानकारी होस भनेर बाहिर ल्याएका छौं । यसले यो क्षेत्रमा लागेकाहरुलाई अध्ययन गर्न सहज होस भन्ने हामीले ठानेका छौं ।
लेखक पौडेल खेलकुद महासंघका अध्यक्ष हुन्

प्रतिक्रिया