प्रविधिमैत्री र सफा बन्दै नयाँ बसपार्क

देशैभरका भाडाका बस आउने र जाने गर्ने मुलुकको एकमात्र राष्ट्रियस्तरको बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय प्रविधिमैत्री र सफा बनेको छ । यसकारण पछिल्लो समय यो बसपार्क व्यवस्थित बन्दै गएको देखिन्छ । केही वर्ष पहिले ‘नयाँ बसपार्क’ भन्ने वित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषितस्थल भन्ने ठानिन्थ्यो । तर, अहिले यसको स्वरुप फेरिएर प्रविधिमैत्री र व्यवस्थित बन्दै गएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत् आवतजावत गर्दछन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याइएको हो ।

शुरुका दिनमा जथाभावी रुपमा टहरा निर्माण गरेर नयाँ बसपार्क क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन हुँदै आएकोमा हाल सबै टहरा हटाएर व्यावसायिक मल निर्माण हुन थालेपछि नयाँ बसपार्कको मुहार फेरिएको हो । ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिरहेका छौँ, उनले भने । ल्होत्सेले पछिल्लो समय नयाँ बसपार्कमा बस पार्किङ साँघुरो बन्दै गएको भन्दै नयाँ बसपार्कको खोजी समेत गर्न थालेको छ । इञ्जिनीयर कुँवरले नयाँ बसपार्कमा सवारी साधनलाई ‘पिक एण्ड ड्रप’को थलो बनाएर अन्य ठाउँमा बसपार्क बनाउने आफ्नो योजना रहेको बताए ।

ल्होत्सेले नयाँ बसपार्कलाई सरसफाइको काममा प्राथमिकता दिएको छ । यसको जिम्मा नेपालमा सरसफाइका क्षेत्रमा दक्षता हासिल गरेको कम्पनी खेम्स क्लिनिङले लिएको छ । उक्त कम्पनीका करीब ९० जना कर्मचारी यो बसपार्क सफाइका लागि खेम्स क्लिनिङले सम्झौता गरेको छ र नियमित दैनिक २५ भन्दा बढी सरसफाईकर्मीले सरसफाइ गर्दै आएका छन् ।

खेम्स क्लिनिङका संयोजक दिनेश थापाले बसपार्कमा वर्षदिन भन्दा लामो समयदेखि सफाइको काम गर्दै आइएको बताए । उनले भने, ‘हामीले कोभिड १९– संक्रमणकोे समयमा पनि नेपाल सरकारले तोकेका मापदण्डपालना गरेर, हाम्रा श्रमिकलाई पनि सुरक्षित मापदण्डका साथ काम लगाएका छौँ ।’

उक्त सफाइ कम्पनीले बसपार्कभित्र आएका हरेक बसलाई ‘स्यानिटाइजर’ पनि गर्ने गरेको छ । कोभिडको समस्या फेरि पनि नेपालमा बल्झिने आशंका भइरहेका बेला देशका प्रायः सबै जिल्लाबाट यो बसपार्कमा आइने बस तथा अन्य सवारी साधनलाई ‘स्यानिटाइजर’ को कार्यलाई अझ चुस्त रुपमा गर्नुपर्ने देखिएको छ । विभिन्न गन्तव्यस्थलबाट आएका सवारी साधनलाई पार्किङस्थल भन्दा बाहिर नै सरसफाइ गरेर भित्र लैजाने व्यवस्था भएपछि पार्किङ क्षेत्र पनि सफा बनेको हो । बसपार्कमा हाल यस्तै, बसपार्कलाई थप सुन्दर बनाउनका लागि बसपार्कभित्रका खाली जग्गामा वृक्षरोपणसमेत गरिएको छ । यसले हरियाली बनाएको छ ।

ल्होत्से बहुउदेश्यीय प्रालिले यात्रुको सहजताका लागि कम्युटर प्रणालीको माध्यामबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ संक्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको छ । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न बसपार्कलाई अतिक्रमण गरेर बनाइएका ६०० टहरा हटाएको छ । काठमाडौँ महानगरापलिकाको स्वामित्वमा रहेको उक्त जग्गालाई महानगरपालिकाले तोकेको मापदण्डअनुसार व्यवस्थित गर्दै लगिएको अध्यक्ष कुँवर बताए । सोहीअनुसार नयाँ बसपार्कभित्र अत्याधुनिक सुविधा सम्पन्न ‘ल्होत्से मल’ समेत निर्माण गरिएको छ । ठूलो लागतमा निर्माण गरिएको उक्त मल सात तले रहेको छ । भूकम्पप्रतिरोधी उक्त मलभित्र पार्किङस्थल, सपिङ सेन्टर, रेष्टुरेन्ट, कफी शप, बैँक, सहकारी, पार्टी प्यालेस, हेल्थ क्लब र फिल्महल रहेको छ । उक्त मल २०७८ वैशाखबाट सञ्चालन गरिने ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।

नयाँ बसपार्कभित्र स्वास्थ्य उपचार तथा परामर्श केन्द्रसमेत निर्माण भएको छ । ल्होत्से बहुउदेश्यीय प्रालिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको सहकार्यमा उक्त केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रले चालक, सहचालक र यात्रुको निःशुल्क परामर्श तथा उपचार गर्नेछ ।
यस्तै ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लज सञ्चालन गर्न लागेको छ । ल्होत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालन गर्न लागेको हो । उक्त होटल तथा लजमा सहुलियत दरमा स्वस्थ्य खाना खुवाउने लक्ष्य ल्होत्सेले लिएको छ ।
नयाँ बसपार्कलाई रातको समयमा उज्यालो बनाउनका लागि सोलार बत्ती जडान गरिएको छ । बसपार्कमा हाल ५० बत्ती जडान गरिए पनि आवश्यकताअनुसार सोलार बत्ती थप गर्दै लैजाने अध्यक्ष कुँवरले बताए । यस्तै, ल्होत्सेले शारीरिक रुपमा अशक्त व्यक्तिलाई ध्यानमा राखेर अपांगमैत्री शौचालय निर्माण समेत गरेको छ ।
२०६१ देखि पायोनियर फ्युल एण्ड लुब्रिकेन्ट कम्पनीमार्फत् डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले यही फागुनदेखि ‘पेट्रोल पम्प’ निर्माण गरेको ल्होत्सेका मानव संशाधन प्रमुख पंकज मल्लले बताए । ‘चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएका थियौँ, हाल एक पेट्रोल मेसिन जडान गरी पेट्रोल पनि वितरण गर्दै आएका छौँ,’ उनले भने, ‘कूल १६ हजार लिटर क्षमताको पेट्रोल पम्प स्थापना गरेसँगै साना सवारी साधनलाई पेट्रोल भर्नका लागि सहज भएको छ ।’
यस्तै नयाँ बसपार्कको सुरक्षाका लागि सिसी क्यामरा समेत जडान गरिएको छ । हाल नयाँ बसपार्क क्षेत्रमा २८ क्यामेरा जडान गरिएको मानव संशाधन प्रमुख मल्लले बताए ।
विभिन्न ठाउँ हुँदै काठमाडौँ आएका सवारी साधनलाई सफा राख्नका लागि नयाँ बसपार्कभित्रै वासिङ सेन्टर स्थापना गरिएको छ । वासिङ सेन्टर स्थापनासँगै गाडीलाई सफा बनाउनका लागि सहयोग पुग्नेछ । यस्तै, ल्होत्सेले सिप्रदी कम्पनीको सहकार्यमा सवारीसाधन सर्भिसिङ सेन्टरसमेत स्थापना गरेको छ ।
विसं २१०२ सम्म ल्होत्से बहुउदेश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ । २०५६ सालमा काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर बसपार्क सञ्चालनको जिम्मा लिँदा प्रतिवर्ष ५२ लाख राजश्व तिरेको ल्होत्सेले २१०२ सम्म पुग्दा वार्षिक रुपमा झण्डै चार करोड ६४ लाख राजश्व तिर्नेछ ।
नयाँ बसपार्कबाहेक हाल राजधानीको गोँगबु, पुरानो बसपार्क, गौशाला, कलंकी, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा छुट्ने गरेका छन् । पुरानो बसपार्क तथा कोटेश्वरबाट सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायतका जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ ।
नयाँ बसपार्कबाट पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन् । हुम्लामा राम्रो सडक नहुँदा सवारीसाधन जान सकेका छ्रैनन् । पछिल्लो समय आर्थिक गतिविधिको एक मुख्य थलोको रुपमा समेत नयाँ बसपार्क विकसित हुँदै गएको छ । नयाँ बसपार्कको निर्माणसँगै हाल गोँगबु क्षेत्रमा झण्डै एक हजारको हाराहारीमा होटल तथा १०० को हाराहारीमा डान्सबार तथा दोहोरी रेष्टुराँ सञ्चालनमा रहेका छन् ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क र यस क्षेत्रबाट काठमाडौँ महानगरपालिकालाई धेरै राजश्व संकलन हुने गरेको बताए । नयाँ बसपार्क र ठमेलको केही भाग पर्ने काठमाडौँ महानगरपालिका–२६ बाट आर्थिक वर्ष २०७५÷७६ मा १६ करोड राजश्व संकलन भएको थियो । आव २०७६÷७७ भने कोरोनाका कारण राजश्व संकलनमा कमी आएको वडाध्यक्ष तिवारीले बताए ।
यस्तै, टोखा नगरपालिकाले समेत नयाँ बसपार्क क्षेत्रबाट वर्षेनी करोडौँ राजश्व उठाउँदै आएको छ । नयाँ बसपार्क क्षेत्र टोखा नगरपालिकाको ९ नं वडामा पर्दछ । नयाँ बसपार्कमा हाल दुई हजारको हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारेखि एक हजार ५०० सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

प्रतिक्रिया