मेयर वुमन्स च्याम्पियनसिपमा : ललितपुर मेयर्स–११ विजयी

काठमाडौं । अलराउन्डर सुमन खतिवडाको उत्कृष्ट ब्याटिङको सहयोगमा ललितपुर मेयर–११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १७ रन बनायो । लुम्बिनी प्रदेशकी शीर्षक्रमकी सरस्वती घर्तीमगर ५२ बलमा २ चौका सहित सर्वाधिक ४६ रनमा अविजित रहिन् । ओपनर नितु भण्डारीले ३४ बलमा १ चौका सहित २० रनमा आउट भइन् । नेरी थापा २०, सरस्वती पुन ३ र लक्ष्मी चौधरी १ रनमा आउट भए । ललितपुरकी सरस्वती कुमार चौधरी, शीला क्षेत्री र आरति विडारी १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । ललितपुरको लागि तल्लोक्रमकी अलराउन्डर सुमन खतिवडा ५२ बलमा ९ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहिन् । अस्मिना कर्माचार्य २८ बलमा २० रनमा अविजित रहिन् । खराब अवस्थामा पुगेको ललितपुरलाई सुमनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङका साथ बलियो योगफलमा पुर्याएकी थिइन् । एक समय ३६–५ को खराब अवस्थामा रहेको ललितपुरलाई छैटौं विकेटका लागि अस्मिना र सुमनले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याए ।

तेस्रो ओभरको पाँचौ बलमा सुस्मिता भुषालले ओपनर विन्दा कटुवाललाई ५ रनमा सरस्वती पुनबाट क्याच गराउँदै पहिलो सफता दिलाएकी थिइन् । चौथो ओभरको पहिलो बलमा स्वस्तिका बजगाईंले अनुराधा चौधरीलाई १० रनमा एलबिडब्लू आउट गरिन् । सोभा आले र सरस्वती कुमारी चौधरीलाई १–१ रनमा आउट भएपछि खराब सुरुवात गरेको थियो । सुस्मिता भुषाल, स्वस्तिका बजागाईं, कृतिका मरासिनी र सरस्वती पुनले १–१ विकेट लिए । पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा ललितपुरले मंगलबार एपिएफसँग खेल्ने छ । लुम्बिनीले दोस्रो खेलमा सोमबार प्रदेश १ सँग खेल्ने छ ।

प्रतिक्रिया